आफ्नै खर्चमा काठमाडौं फर्किए डा. केसी, त्रिवि शिक्षण अस्पतालमा भर्ना

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न सातवटा माग राखेर ११ दिनदेखि सत्याग्रहमा बस्नुभएका डा. गोविन्द केसीको स्वास्थ्य स्थिति जटिल हुँदै गएपछि थप उपचारका लागि काठमाडौं आउनुभएको छ । धनगढीबाट श्री एयरलायन्सको नियमित उडानबाट बुधबार साँझ डा. केसी काठमाडौं आउनुभएको हो । धनगढीमा अनशन बसिरहनु भएका डा. केसी आफ्नै खर्चमा केही स्वास्थ्यकर्मीसहित काठमाडौं आएको उहाँका सहयोगी प्रितम सुवेदीले जानकारी दिनुभयो । केसी अहिले त्रिवि शिक्षण अस्पतालमा थप उपचारका लागि भर्ना हुनुभएको छ ।

अञ्चल अस्पतालबाट एम्बुलेन्समा उहाँलाई धनगढी विमानस्थल लगिएको र त्यहाँबाट श्रीएयरको जहाजबाट काठमाडौं ल्याइएको होे । डाक्टर केसीसँगै सेती प्रादेशिक अस्पतालका डाक्टरद्वय अमृत जैशी र डाक्टर मिथलेस यादव पनि काठमाडौं आउनुभएको छ । दुवैजना डाक्टर केसीको उपचारमा संलग्न हुनुहुन्थ्यो । उहाँहरूसँगै डाक्टर केसीका भाइ केशव केसी पनि काठमाडौं आउनुभएको छ । डाक्टर केसीले धनगढीमा अनशन बसेको थाहा पाएपछि उहाँ ६ दिनअघि मात्रै धनगढी जानुभएको थियो ।

डाक्टर केसीको उपचारमा खटिएका सेती प्रादेशिक अस्पतालका डाक्टर शेरबहादुर कमरले उहाँको शरीरमा पोषण तत्व र पानीको अभाव भएको, पेटमा अल्सर भएर आन्तरिक रक्तश्राव भएको, मुटुको धड्कन कम हुँदै गएको, रगतमा हेमोग्लोबिन कम भएको, पिसाबमा किटेन बढी देखिएको जस्ता समस्या आएकाले काठमाडौं रेफर गरिएको बताउनुभयो ।

राज्यलाई कुनै पनि भार नपार्ने भन्दै यसअघि उहाँलाई लिन गएको नेपाली सेनाको स्काई ट्रकमा उहाँ आउन मान्नुभएको थिएन । मंगलबार दिउँसो गृह मन्त्रालयले सेनाको स्काई ट्रक धनगढी पठाए पनि डा. केसी आउन नमानेपछि रित्तै फर्किएको थियो ।

अनशन बसेको तेस्रो दिनबाट डा. केसीको स्वास्थ्यमा समस्या देखा पर्न थालेको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई सेती प्रादेशिक अस्पतालमा राखिएको थियो ।
भोकै बस्दा स्वास्थ्यमा समस्या आएको र समयमै स्वास्थ्यको ख्याल गर्न उहाँलाई अस्पताल प्रशासनले सुझाव दिएको थियो ।

ADVERTISEMENT

तर, केसीले मुखबाट पानी र नसाबाट रिडगर ल्याक्टेटबाहेक अन्य कुरा नलिने अडान लिएकाले उहाँको स्वास्थ्यमा गम्भीर समस्या देखिएको डाक्टर कमरले बताउनुभयो ।

अनशनरत डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच भएका विभिन्न समयका वार्ता निष्कर्षविहीन भएका छन् । सरकारी वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव रोशन पोखरेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सदस्य रहनुभएको छ ।

डा. केसीको तर्फबाट वार्ता गर्न डा. जीवन क्षेत्रीको संयोजकत्वमा अधिवक्ता ओमप्रकाश अर्याल, डा. लिजन महर्जन र प्रितम सुवेदी सदस्य रहेको टोली छ । डा. केसी र सरकार दुवैको मध्यस्थता गर्ने गरी नेपाल चिकित्सक संघका प्रतिनिधिलाई पनि वार्ता टोलीमा राखिएको छ ।

देशभरका सरकारी अस्पतालमा बेड अनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धिअनुसार अस्पताल÷स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने, सरकारले तोकेको सूचीअनुसार सबै निःशुल्क औषधि उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेको निजी अस्पताल बन्द गराइनुपर्ने उहाँका माग छन् ।

यस्तै, २०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्ने, गेटा मेडिकल कलेज तत्काल सञ्चालन गरिनुपर्ने माग पनि उहाँले अघि सार्नुभएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन, विश्वविद्यालय प्रतिष्ठानमा मापदण्ड विपरीतका नियुक्ति खारेजी, मापदण्डविपरीत नर्सिङ कलेजमा लिन लागिएको भर्ना रोक्नुपर्नेलगायत माग पनि उहाँले सरकारसँग राख्नुभएको छ । डा. केसीले यसअघि १९ पटक संघीय राजधानी काठमाडौं तथा देशका अन्य भागमा पुगी अनशन बसिसक्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *