काठमाडौं । भारतीय सेना प्रमुख मनोज पाण्डे पाँच दिने भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ ।
नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा ग्रहण गर्न प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणमा भारतीय सेना प्रमुख मनोज पाण्डे आज नेपाल आउन लाग्नुभएको हो ।
नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल पाण्डेलाई राष्ट्रपति भण्डारीले सोमबार नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्न लागेको सैनिक जनसम्पर्क निर्देशनालयले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।
नेपाली सेनाको परमाधिपति समेत रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको‘‘मानार्थ महारथी’ पदबाट विभूषित गर्नुहुनेछ ।
भ्रमणका क्रममा भारतीय प्रधानसेनापतिले रक्षामन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने जनाइएको छ । पाँच सदस्यीय भ्रमण टोलीका साथ भारतीय सेनापति नेपाल आउन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ।
भदौ २३ सम्म नेपालमा रहँदा भारतीय सेना प्रमुख पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण, जंगी अड्डामा सम्मान गारत निरीक्षण, प्रधान सेनापति प्रभुराम शर्मासँग भेटघाट एवं छलफल गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी भारतीय सेनाका तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप दिइने विविध सामग्री हस्तान्तरण कार्यक्रम पनि रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
भारतीय प्रधानसेनापति पाण्डे नेपाली सेनाका कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तरक्रिया र मध्य कमान्ड हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।
प्रधान सेनापति शर्मालाई गत वर्ष भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाध्यक्षको दज्र्यानी चिह्नसहित सम्मान गर्नुभएको थियो ।
नयाँ सेनापति नियुक्त भएपछि दुवै मुलुकका राष्ट्रपतिले नवनियुक्त छिमेकी मुलुकका सेनापतिलाई आफ्नै देशको सेना प्रमुखसरहको मानार्थ प्रधानसेनापतिको दज्र्यानी चिह्न प्रदान गर्ने विशेष प्रचलन छ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts