-राधिका बुढाथोकी
सिन्धुली । जिल्लामा ७९ वटा वडा छन् । ७९ दिनमात्रै बाँकी छ, प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन आउन । सिन्धुलीका वडा संख्या र निर्वाचन आउन बाँकी संख्या एउटै छ । तर, अहिलेसम्म यहाँका राजनीतिक दलहरु छुट्टाछुट्टै निर्वाचनको तयारीमा होमिएका छन् ।
प्रतिनिधि सभामा दुई र प्रदेश सभामा चार सिट रहेको यस जिल्लामा राजनीतिक दलहरु चुनाव केन्द्रित गतिविधिलाई बढाएर निर्वाचन परिणाम आफ्नो पक्षमा पार्नका लागि कसरत गरिरहेका छन् ।
नेपाली काँग्रेस, सिन्धुलीले आन्तरिक तयारी गरिरहेको जिल्ला सभापति उपेन्द्र पोखरेलले बताउनुभयो । उहाँ भन्नुभयो, ‘अन्य दलसँग गठबन्धन भए पनि नभए पनि काँग्रेसले निर्वाचन केन्द्रित गर्नु पर्ने पूर्व तयारीमा कमी गरेका छैन ।’
जिल्ला भदौ १० गते बाट सुरु भएको ‘जनताको साथमा काँग्रेस’ अभियानलाई निरन्तरता दिइएको उहाँले बताउनु भयो ।
काँग्रेस केन्द्रिय कार्य समितिको निर्णय अनुसार जनताको साथमा काँग्रेस अभियानलाई दु्रतगतिमा अगाडी बढाइएको उपसभापति दीपक कुमार घिमिरे बताउनु हुन्छ । ‘वडा स्तरसम्म अभियानलाई प्रभावकारी बनाउन पार्टी लागेको छ,’ उहाँले भन्नुभयो ।
यतिबेला राजनीतिक दलहरु प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा क–कसलाई उम्मेदवार बनाउने भन्ने छलफलमा जुटेका छन् । आकांक्षी तथा सम्भावित उम्मेदवारहरु १८ गतेभित्र टुङ्गो लगाई बागमती प्रदेश समितिमा नाम सिफारिस गर्ने तयारीमा छन् । शुक्रबारसम्म सम्पूर्ण प्रक्रिया पुर्याएर सम्भावित उम्मेदवारको नाम बागमती प्रदेश समितिमा पठाउने तयारी भइरहेको काँग्रेस उपसभापति घिमिरेले बताउनु भयो ।
नेकपा (एमाले) सिन्धुलीले निर्वाचनलाई लक्षित गरेर एक महिने अभियानअन्तर्गत वडादेखि जिल्लास्तरका भेला तथा प्रशिक्षण कार्यक्रम गरिसकिएको जिल्ला अध्यक्ष राकुमार कार्कीले जानकारी दिनुभयो । ‘पार्टीको केन्द्रिय समितिले निर्णय गरेअनुसार जिल्लामा कार्यक्रमहरु गर्ने, टोल कमिटीकोे बैठक बस्ने, आफ्नो पार्टीभित्र रहेको अन्तरविरोध सुल्झाउने, अन्य दलमा वितृष्णा भएका व्यक्तिहरुलाई एमाले पार्टीमा स्वागत गर्ने जस्ता कार्यक्रम जारी छ,’ उहाँले भन्नुभयो । पार्टीले सर्वसम्मत रुपमा १९ गतेभित्र प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि उम्मेदवारको टुङगो लगाइसक्ने उहाँको भनाई छ ।
नेकपा (माओवादी केन्द्र) सिन्धुलीले भदौ १८–२० गतेभित्र पालिका र जिल्ला समन्वय समितिको बैठक बसी उम्मेदवारको नाम सिफास गर्ने तयारी गरेको जिल्ला प्रमुख पानीराज बम्जनले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन केन्द्रित आन्तरिक तयारीमा कमी नबनाउन सबै तहका नेता र भातृ संगठनहरु सक्रिय बनाइएको छ । पार्टीको जिम्मेवारी अनुसार सबैले आआफ्नो भूमिका इमान्दारीका साथ निभाइरहनु भएको छ ।
नेकपा (एकीकृत समाजवादी) मुख्य राजनीतिक दलहरुसँग गठबन्धन नभएको अवस्थामा एक्लै निर्वाचनमा होमिने तयारीमा छ । प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार समेत टुङगो लगाइसकेको उपाध्यक्ष चित्रबहादुर लुङ्गेलीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधि सभा सदस्यमा निर्वाचन क्षेत्र नम्बर १ बाट इश्वरीलाल श्रेष्ठ र २ बाट गोपाल थापालाई उम्मेदवार बनाउन पार्टीले सिफारिस गरेको छ ।
प्रदेशको निर्वाचन क्षेत्र १ को ‘क’ बाट डेकेन्द्र सुवेदी र ‘ख’ बाट चित्रबहादुर लुङ्गेलीको उम्मेदवारी हुने छ । निर्वाचन क्षेत्र नम्बर २ को ‘क’ बाट पार्टीको अध्यक्ष समेत रहनु भएका सुर्य पाख्रिन र ‘ख’ बाट छत्र लाखेको नाम सिफारीस भएको उहाँले बताउनु भयो ।
यसैगरी, समानुपातिकबाट प्रतिनिधि सभा सदस्यमा जानुका श्रेष्ठ र प्रदेश सभा सदस्यमा शान्ता पाख्रिनको नाम सिफारिस भएको उहाँले जानकारी दिनुभयो । ’यो पार्टीको आधिकारीक निर्णय हो । गठबन्धनमा समावेश नभएको अवस्थामा सर्वसम्मत रुपमा यसरी लड्ने खाँका बनाएका छौँ,’ उहाँले सुनाउनु भयो ।
प्रतिनिधि सभामा एक र प्रदेश सभा तर्फ दुई सिट भएको सोलुखुम्बुमा मुख्य राजनीतिक दलहरुले उम्मेदवारको नाम टुङगाउँदै छन् । २० गतेभित्र टुङगाउने गरि सबै पार्टीले तयारी गरिरहेको सम्बद्ध पार्टीका नेताहरुलाई उदृत गदैँ स्थानीय पत्रकार भानुभक्त निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली काँग्रेसले बुधबारबाट ‘जनताको साथमा काँग्रेस’ अभियान सुरु गरेको छ । विहिबार जिल्लाका ८ ओटै पालिकामा प्रतिनिधिहरु खटाएर निर्वाचनको तयारी मजबुत बनाइको छ । नेकपा (एकिकृत समाजवादी) ले भने उम्मेदवारको नाम टुङगाइसकेको उहाँले सुनाउनुभयो ।
प्रतिनिधि सभामा एक र प्रदेश सभा तर्फ दुई सिट भएको दोलखामा राजनीतिक दलहरु चुनावी एजेण्डा बोकेर गाउँ पस्नेभन्दा पनि टिकट आफ्नो पक्षमा बनाउन सदमुकाम केन्द्रित भएका दोलखाका पत्रकार श्याम खतिवडा बताउनु हुन्छ । आफ्नो गुटको नेतालाई सर्वसम्मत उम्मेदवार बनाउन सबै राजनीतिक दलका सक्रिय कार्यकर्ताहरु गाउँभन्दा सदरमुकाममा भेटिने गरेको उहाँले बताउनु भयो । उम्मेदवारको नाम सिफारिसको लागि सबै राजनीतिक दलहरु छलफलमा रहेको उहाँले जानकारी दिनुभयो ।
रामेछाप र ओखलढुङगामा पनि निर्वाचन केन्द्रित विभिन्न कार्यक्रमहरु भइरहेका छन् । प्रमुख दलका नेताहरु टिकटको लागि दौडधुप गरिरहेका छन् । मुख्य दलका आकांक्षी उम्मेदवार टिकट लिन केन्द्रिय नेताको घरसम्म धाइरहेको चर्चा चलेसँगै सिन्धुली, ओखलढुंगा, रामेछाप, दोलखा र सोलुसम्बुमा कुन दलले कसलाई उम्मेदवार बनाउलान् भन्ने कौतुहलता मतदातामा बढेको छ ।
जिल्लामा निर्वाचन केन्द्रीत चहलपहल उत्तिकै देखिन्छ । चिया पसलदेखि चौतारोसम्म पार्टीका नेता तथा कार्यकर्ताहरु निर्वाचन लक्षित चुनावको चर्चा परिचर्चा गरिरहेका भेटिन्छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच