यसकारणले बढे डेँगुका बिरामी, अस्पताल भरिँदै

Read Time = 12 mins

काठमाडौं । काठमाडौँ उपत्यकामा डेङ्गु ज्वरोका बिरामी दैनिक बढेको पाइएको छ । नेपालमा अहिले मुख्य काठमाडौँ, ललितपुर र रुपन्देही जिल्लामा सबभन्दा बढी डेँगुका बिरामी पाइएको छ । ती जिल्लाका अस्पतालमा डेँगुको उपचारका लागि बिरामीको चाप पनि बढेको छ ।

विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुनेमौसममा सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको रोग लाग्ने गर्दछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सन्जयकुमार ठाकुरले साउनदेखि केही शहरमा डेँगुका बिरामी बढेको बताउनुहुन्छ । उहाँका अनुसार ललितपुर, काठमाडौँ र रुपन्देहीमा डेँगुका बिरामी बढी रहेको छन् । ललितपुरमा एक हजार ५६, रुपन्देहीमा ३७७ र काठमाडौँमा ३३२ जना डेँगुका बिरामी भेटिएका छन् ।

अव्यवस्थित शहरीकरण पनि डेँगुका बिरामी बढेको उहाँ बताउनुहुन्छ । “अव्यवस्थित शहरले गर्दा घरवरपर खाल्डाखुल्डी तथा पानी जम्ने ठाउँ रहेका हुन्छन्” उहाँले भन्नुभयो, “ती ठाउँबाट नै डेँगु रोग सार्ने जातको लामखुट्टेको विकास हुने गर्दछ ।” पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेर डेँगु रोग लाग्दछ ।

उहाँले पानी टङ्की, गाडीको डायर, गमला घर नजिकको खाल्डाखुल्डीमा पानी जम्न दिन नहुने बताउनुभयो । एसिबाट निस्केको पानी जमेपछि त्यही जमेको पानीमा लाखुट्टेले फुल पार्ने गरेको छ । मन्त्रालयका प्रवक्ता डा ठाकुरले डेँगु रोगको रोकथाम तथा नियन्त्रण सरकारले भन्दा पनि व्यक्तिगतरुपमा लाग्नुपर्ने बताउनुहुन्छ ।

व्यक्तिगतरुपमा आ–आफ्नो घरमा सरसफाइ गरेर पानी जम्न नदिने र घर वा बाहिर बस्दा शरिर पूरा ढाकिएको कपडा लगाउनुपर्ने उहाँको भनाइ रहेको छ । उहाँले डेँगु लागेपछि धेरै मानिसलाई लक्षण नदेखेर नै निको हुने बताउनुहुन्छ । “अहिले गम्भीर बिरामीमा भने सेतो रगत कम हुने गर्दछ” उहाँले भन्नुभयो, “धेरैजसोलाई सिटामोल नै खाएर निको पार्न सकिन्छ ।”

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा विमल चालिसेका अनुसार अस्पतालमा बढिरहेका बताउनुभयो । उहाँ अस्पतालमा सामान्य लक्षणदेखि भर्ना गरेर उपचार गर्नेसम्मका बिरामी आउने थालेको बताउनुहुन्छ । डा चालिसेका अनुसार अस्पतालमा दैनिक ३० देखि ३५ जना भर्ना भएर उपचार गर्ने खालका र आकस्मिक सेवामा दैनिक ६० देखि ७० जना बिरामी आइरहेका छन् ।

“धेरैजसो बिरामी धेरै ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, खाना मन नलाग्ने, बान्ता हुने, पखाला लाग्नेजस्ता लक्षण भएका बिरामी आउने गरेका छन्”, उहाँ भन्नुहुन्छ, “उपचार गर्नका लागि अस्पतालमा आएका बिरामीलाई फर्काउने गरेका छैनौँ । अहिलेसम्म शैय्याको व्यवस्था गरेका छौँ । तर अहिलेको भन्दा बढी भएपछि समस्या हुनेछ ।” अस्पतालमा ७० शैय्या र २४ सधन उपचार कक्ष ९आइसियु० रहेको छ । उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडांैलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । डेङ्गु ज्वरो सञ्चो हुने बेलामा शरीरमा राता दाग पनि देखा पर्छन् ।

गम्भीर प्रकृतिको डेङ्गु सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिनेजस्ता लक्षण देखा पर्छन् । यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गराउनुपर्छ । डेङ्गु रोग चार प्रकारका भए पनि अहिले नेपालमा कुन प्रकारको डेङ्गु देखिएको छ भन्नेमा अनुसन्धान भइरहेको छ ।

वीर अस्पतालका उपनिर्देशक डा प्रज्वल श्रेष्ठले अस्पतालमा कोरोना भाइरसका भन्दा डेँगुका बिरामी बढी रहेको बताउनुहुन्छ । उहाँका अनुसार अहिले वीरमा २४ जना डेँगुका बिरामी र २२ जना कोरोना भाइरसका बिरामी रहेका छन् । “वर्षायाम सकिने पछि एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले बढ्ने गर्दछन्”, उहाँले भन्नुभयो, “तीनै प्रजातिका लामखुट्टैको टोकाइले डेँगु रोग लाग्दछ ।” उहाँले अहिले दैनिक चारदेखि पाँच जना आकस्मिक कक्षमा उपचार गर्न आउने गरेको बताउनुहुन्छ ।

ADVERTISEMENT

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले साउन र भदौ महिनामा लामखुट्टेको सङ्ख्या वृद्धि हुने भएकाले काठमाडौँ उपत्यकासहित तराईमा डेँगुका बिरामी बढेको बताउनुभयो । उहाँले डेँगुलाई नियन्त्रण गर्नका लागि लामखुट्टेको लार्भा खोजेर मार्नुपर्ने बताउनुभयो । “अहिलेको मौसममा लामखुट्टैका लार्भा धेरै नै उत्पादन हुने गर्दछ”, उहाँले भन्नुभयो, “पानी जम्न नदिनु, खाल्डाखुल्डी पुर्नु र साना साना पानी जम्ने ठाउँलाई नष्ट गर्नुपर्दछ ।”

उहाँले डेँगु रोकथाम र नियन्त्रणका लागि काठमाडौँ उपत्यका जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहलाई निर्देशन दिइरहेको बताउनुभयो । उहाँका अनुसार देशभरिका १३९ स्थानीय तहमा डेँग रोकथाम र नियन्त्रण गर्न लार्भा नियन्त्रण र जनचेतना जगाउनका लागि बजेट विनियोजन गरिएको बताउनुभयो । उपत्यकामा ललितपुरमा सबभन्दा बढी डेँगुका बिरामी देखिएका छन् । लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । विशेष गरी जनघनत्व बढी भएका काठमाडौँ उपत्यका, पोखराजस्ता शहरमा डेङ्गुज्वरोका बिरामी बढिरहेका छन् ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा अहिले ११ जना डेँगुका बिरामीले उपचार गराइसकेका अस्पतालका सूचना अधिकारी रामबिक्रम अधिकारीले जानकारी दिनुभयो । उहाँले अस्पतालमा कोरोना भाइरसका बिरामी घटेसँग डेँगुका बिरामी बढेको बताउनुभयो ।

नेपालमा सन् २००४ मा पहिलो पटक डेङ्गुको बिरामी फेला परेको थियो । सन् २००४ मा एक जनामा डेँगु देखिएको थियो । त्यसयता डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ । सन् २००६, २०१०, २०१२, २०१३, २०१७ र २०१९ मा डेङ्गु बढेको पाइन्छ । सन् २०१९ मा १७ हजार ९९२ जनामा डेँगुका बिरामी देखिएका थिए । तराई–मधेशमा बढी देखिने डेङ्गु २०१८ पछि भने पोखरा, काठमाडौँजस्ता पहाडी सहरमा पनि देखा प¥यो । उपत्यकामा लामखुट्टे बढेको र डेङ्गुका बिरामी पनि उपत्यका प्रवेश गरेका र ती बिरामीबाट अन्य मानिसलाई लामखुट्टेले रोग सार्ने गरेकाले उपत्यकामा डेङ्गुका बिरामी बढी देखिएका हुन् ।

निजामति कर्मचारी अस्पतालले डेङ्गुबाट बच्नका लागि सबै शय्यामा रहेका बिरामीलाई झुल प्रयोग गर्न निर्देशन दिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार अहिलेसम्म दुई हजार आठ सय २७ जनामा डेँगुका बिरामी फेला परेका छन् । प्रदेश नं १ मा दुई सय एक जना, मधेश प्रदेशमा ५८ जना, बागमती प्रदेशमा एक हजार छ सय ९७ जना, गण्डकी प्रदेशमा ७८ जना, लुम्बिनी प्रदेशमा छ सय ६६ जना, कर्णाली प्रदेशमा ३९ जना र सुदुरपश्चिम प्रदेशमा ८८ जनामा डेँगुका बिरामी रहेका छन् ।

दश जिल्लामा बढी डेँगुका बिरामी

डेँगुका बिरामी सबभन्दा बढी १० जिल्लामा रहेका छन् । ललितपुरमा एक हजार ५६, रुपन्देहीमा तीन सय ७७ जना, काठमाडौँमा तीन सय ३२ जना, तेह्रथुममा ७७ जना, धादिङमा ७६ जना, सिन्धुली ६१ जना, सङखुवासभा र भक्तपुरमा ५७ जना, अर्धाखाचीमा ५१ र गुल्मीमा ४९ जना बिरामी भेटिएका छन् ।

एकैठाउँ जमेर रहेको सङ्लो पानीमा डेङ्गु सार्ने लामखुट्टेले अन्डा पार्ने गर्छ । त्यसैले धेरै समय बाहिर खुलारुपमा पानी राख्न हुँदैन । डेङ्गुको रोकथाम गर्नुभनेको लामखुट्टेको टोकाइबाट बच्नु हो । साँझा–बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनुपर्छ । घरमा जालीढोका लगाउने, झुल टाँगेर सुत्ने, साँझा–बिहान सकेसम्म बाहिर ननिस्कने तर निस्कनै परे लामा बाहुला भएका लुगा लगाउने वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्ने गर्नुपर्दछ ।
-शरद् शर्मा /रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज