एनआरएनएको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन, दोहोरो नागरिकताले नेपालमा लगानी बढ्ने दाबी

Read Time = 7 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्रशान्त क्षेत्रीय सम्मेलन थाइल्याण्डको राजधानी बैंककमा शनिबारदेखि सुरु भएको छ । सम्मेलन उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले संविधानले नै गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक अधिकार प्रदान गरेको र दोहोरो नागरिकताको अधिकार प्रत्याभूत गरेको बताउनुभयो । उहाँले झण्डै ५० लाख नेपाली युवा वैदेशिक रोजगारमा जाँदा ठूलो श्रम र पुँजी विदेश पलायन हुने गरेको उल्लेख गर्दै नेपाललाई नै श्रम बजारका रूपमा विकास गर्ने गरी श्रमलाई मर्यादित र व्यवस्थित गर्नुपर्ने बताउनुभयो । विदेशमा रहेका नेपाली राजदूत र श्रम गन्तव्य रहेका देशका राजदूतसँग श्रम पुँजीलाई अझ प्रभावकारी बनाउन श्रम कूटनीतिमा जोड दिइएको उहाँको भनाइ छ ।

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र कँडेल शर्माले विश्वमा अवैतनिक पर्यटन दूतका रूपमा रहेका एनआरएनएका प्रतिनिधिलाई बढीभन्दा बढी पर्यटक नेपाल पठाउन आग्रह गर्नुभयो । सांसद डा. सूर्य पाठकले एनआरएनएलाई नागरिकता दिनुपर्छ भन्ने विषयमा राजनीतिक दलबीच मतभिन्नता नभएकाले छिट्टै नागरिकता ऐन पारित हुने बताउनुभयो । थाइल्याण्डका लागि नेपाली राजदूत गणेशप्रसाद ढकालले थाइल्याण्डमा एनआरएनएको संख्या न्यून भए पनि एसिया क्षेत्रको सम्मेलन आयोजना हुनु सकारात्मक पक्ष भएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक समृद्धिका लागि एनआरएनएलाई विदेशमा सिकेका सीप, ज्ञान र पुँजीको उपयोग गर्न आग्रह गर्नुभयो । नेपाली नागरिकहरू विदेश जाने विश्वविद्यालयमा अध्ययन गर्न, कुनै विशिष्टिकृत सीप सिक्न र पुँजी आर्जन गर्न नै हो भन्दै विदेशी भूमिमा आफूले गरेको आर्जन स्वदेशको विकासमा लगाउन सके नेपालले विकासमा फड्को मार्ने उहाँले बताउनुभयो । वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, ‘हामी संसारको जुनसुकै कुनामा भए पनि हाम्रो आफ्नो मातृभूमि बिर्सनुहुँदैन । विदेशको कमाइ आफू जन्मेको माटोका लागि खर्चिनुपर्दछ । नेपालमा लगानीको वातावरण छ । हाम्रै देशको माटो मलिलो छ । आफ्नै देशको माटोमा सुन फलाउने अनगिन्ती अवसर हामीसँगै छन् । प्रकृतिले पनि हामीलाई संसारकै धनी बनाइदिएको छ । त्यसैले हाम्रै देशमा लगानी गरौं । अहिले जहाँ जेसुकै काममा रहेको भए पनि भोलिको सन्ततिका लागि हामीले हाम्रै घर बनाउनुपर्छ ।’

ADVERTISEMENT

एनआरएनएका अध्यक्ष कुल आचार्यले संविधानमै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपयोग गर्न पाउने भनेर उल्लेख गरिएको सन्दर्भमा ढिलै भए पनि संसद्ले नागरिकता विधेयक पारित गरेर एनआरएनएलाई राज्यले सम्मान गरेको भन्दै अब एनआरएनएले नेपालमा ढुक्क भएर लगानी गर्ने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो । अर्की अध्यक्ष रविना थापाले एनआरएनएको १० औं महाधिवेशनपछि आयोजना भएको एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रमको नाममै मिलाप राखिएकाले हाल एनआरएनएमा देखिएको विवाद सम्मेलनपछि अन्त्य हुने उहाँको दाबी थियो । अर्का अध्यक्ष डा. बद्री केसीले भाइचारा अभिवृद्धि तथा पारस्परिक सहयोगलाई बढावा दिने सोचका साथ मिलापको अवधारणाअनुरूप सम्मेलन आयोजना गरिएको भन्दै एनआरएनएहरूको महिनाभरको कमाइ विप्रेषणका रूपमा भित्रिएर मुलुकको अर्थतन्त्र धानिएकाले एनआरएनएहरूलाई मताधिकारको अवसरबाट पनि वञ्चित गर्न नहुने बताउनुभयो । एनआरएनएका पूर्वअध्यक्ष भवन भट्टले वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानीलगायतका कुरामा जोड दिनुपर्ने बताउनुभयो ।

सो अवसरमा समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापा, राष्ट्रिय मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेग, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख ओम शर्मा र व्यवसायी राजेन्द्र खेतानले समृद्ध राष्ट्रका लागि नेपाली प्रवासीको भूमिकाबारेमा चर्चा गर्नुभएको थियो ।

सम्मेलनमा महिला, युवालगायत एनआरएनएका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल हुने एसिया क्षेत्रीय संयोजक पारसमणि पोखरेलले जानकारी दिनुभयो । सम्मेलनमा वक्ताहरूले थाइल्याण्ड, म्यानमार र सिंगापुरमा रहेका रैथानेले उठाउँदै आएको पिपल फर नेपाली ओरजिन (पिएनओ) को मान्यता पाउनुपर्ने माग गरेका थिए । सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, युरोप, अमेरिका ओसियाना, अफ्रिका तथा मध्यपूर्वका झण्डै तीन सय प्रतिनिधिको सहभागिता छ । सम्मेलन बैंकक घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज