आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन र मोतीजयन्ती

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौ । आज पितृसम्मान दिवस अर्थात् बुबाको मुख हेर्ने दिन । यस पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।

बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यसदिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने धार्मिक मान्यता रही आएको छ ।

यस्तै, आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । राजधानीको पूर्वोत्तर भागमा पर्ने गोकर्णेश्वर मन्दिरमा आज मेला लागेको छ । कुशे औँसीका दिन गोकर्णेश्वरमा हरेक वर्ष ठूलो मेला लाग्छ ।

ADVERTISEMENT

भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भिœयाउने गरिन्छ । पितृ आमावस्या अथवा गोकर्णे औंसीको दिनलाई कुशे औंसी पनि भनिन्छ । यसै दिन ब्राह्मण पुरोहितका हातबाट नयाँ कुश ग्रहण गरी त्यसैले वर्षदिन भरको देव पितृ कार्यहरू सम्पन्न गरिन्छन् । त्यस दिनबाहेक ब्राह्मणहरूले अरू दिन कुश काट्दैनन् । कुश भनेको एक प्रकारको धार्मिक दृष्टिबाट पवित्र घाँस हो । कुश उत्पत्तिबारे विभिन्न धार्मिकशास्त्रमा आ–आफ्नो किसिमको मतभेद पाइन्छ । कुशको महिमालाई श्रीमद्भागवत् गीता, गरुड पुराण, अथर्व वेद र विष्णु पुराणमा समेत वर्णित छ । सनातन धर्मका हरेक पूजाआजा अनि कर्मकाण्डहरूमा यो एउटा अत्यावश्यक वनस्पति हो ।

आजै राष्ट्रिय विभूति, नेपाली साहित्यको माध्यमिक कालमा शृंगारिक धाराका प्रवर्तक मोतीराम भट्टको जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदै छ । विसं १९२३ साल भाद्र कृष्ण कुशे औंसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औंसीकै दिन ३० वर्षको अल्पायुमै परलोक हुनुभएका भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्‍याउनुभएको थियो ।

युवाकवि भट्टले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याउनुभएको थियो । नेपाली भाषाको पहिलो मासिक पत्रिका गोरखा भारत जीवनलाई बनारसमै रहेर व्यवस्थापन तथा प्रकाशनको श्रेय पनि मोतीराम भट्टलाई जान्छ । मोतीरामका कृतिहरू मनोवेग प्रवाह, गजेन्द्रमोक्ष, प्रल्हाद भक्तिकथा लगायतका आज पनि उपयोगी र महत्वपूर्ण छन् । उहाँका नाटकहरू शकुन्तला, प्रियःदर्शिका र पद्मावतीको चर्चा हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *