चाडपर्वका बेला चिनी अभाव

Read Time = 5 mins

सञ्जीवकुमार मिश्रा/हिटा 
बारा । दिनहुँजसो भान्सामा प्रयोग हुने चिनीको मूल्य आकासिएको छ । गुलियो चिनीले सर्वसाधारणलाई नुनिलो आँसु बगाउन बाध्य पारेको छ । बढेको भाउमा समेत उपभोक्ताले चिनी पाउन सकिरहेका छैनन् । हरेक वर्षझैँ यस वर्ष पनि चाडपर्वको समयमा बढी प्रयोग हुने चिनी अभाव र मूल्य एक्कासी बढ्दा उपभोक्ता मारमा परेका छन् । चाडपर्वमात्र नभई दैनिक चिया कफीलगायतकोे पेयपदार्थ, मिठाइ आदिमा प्रयोग हुने चिनीको मूल्य प्रतिकेजी १० देखि १५ रुपैयाँसम्म बढेको छ ।

दुई हप्ताअघिसम्म ८० रुपैयाँमा प्रतिकेजीमा बिक्री हुँदै आएको चिनीको मूल्य अहिले बढेर ९० रुपैयाँ भएको कलैया घण्टाघर नजिकै किराना पसल सञ्चालन गर्दै आउनुभएका किराना व्यवसायी सङ्घका अध्यक्ष विष्णु पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी चिनीको मूल्य बढाएर बेच्न बाध्य भएका छौँ, भारतबाट चिनी पैठारीमा रोक लगाइएको छ । अर्कोतर्फ नेपालमा उत्पादन हुने चिनी खुद्रामा पाउन गाह्रो छ । हामी थोकमा चिनी किनेर बिक्री गर्न सक्दैनौँ  किनभने हामी साना व्यापारी हौँ । हामी एक क्विन्टलदेखि दुई क्विन्टलसम्म चिनी किनेर खुद्रामा बिक्री गर्दै आएका छौँ । तर, अहिले मूल्य वृद्धिसँगै चिनी अभाव छ ।’

अध्यक्ष पौडेलका अनुसार नेपालमा उत्पादित चिनी मिलमै प्रतिकेजी ९२ रुपैयाँ पर्छ तर मिलले खुद्रा व्यापारीलाई चिनी दिँदैनन्, उनीहरू एक क्विन्टल दुई क्विन्टल बिक्री गर्दैनन्, कमसे कम पाँच टन चिनी लेऊ, त्योभन्दा कम हामी दिन सक्दैनौँ भन्छन् । भ्याटमा दर्ता भएकालाई मात्र चिनी बेच्ने त्यो पनि थोकमा बेच्ने गरेकाले साना-साना व्यापारीमा असर परेको उहाँको गुनासो छ । पटक-पटक जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा चिनीको आपूर्तिका लागि माग गर्दै आए पनि बेवास्ता गरिएको उहाँको भनाइ छ ।

ADVERTISEMENT

पौडेलका अनुसार सुरक्षा निकायले सीमामा छुट दिँदा भारतीय चिनीभन्दा स्वदेशी चिनी प्रतिकेजी १० देखि १५ रुपैयाँसम्म महँगो पर्ने गरेको छ । भारतबाट ल्याएर कलैयासम्म चिनी पुर्‍याउँदा ७० देखि ७५ रुपैयाँसम्म पर्छ तर नेपाली चिनी उत्पादन भएको ठाउँमा नै ९२ रुपयाँ प्रतिकेजी पर्छ । उत्पादित ठाउँबाट बजारसम्म चिनी ल्याउँदा ९४ देखि ९५ रुपैयाँसम्म पर्न जान्छ र उपभोक्तासम्म पुग्दा सय रुपैयाँ प्रतिकिलो पर्न जान्छ ।’ चिनीलगायतका वस्तुको भारतबाट हुने अवैध कारोबार रोकिनुपर्ने उहाँको माग छ ।

तर, प्रहरीले भारतबाट सर्वसाधारणले ल्याउने चिनीसमेत खोस्ने गरेको स्थानीयवासीको गुनासो छ । १० देखि १५ केजीसम्म चिनी भारतबाट ल्याउँदा खोस्ने गरेको हो । बजारमा बढेको भाउमा समेत चिनी पाउन नसकेपछि भारतबाट ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ । बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भने बजारमा अभाव भएको कुरा आफूलाई जानकारी नभएको दाबी गर्दै अभाव देखिए सहज बनाउन पहल गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज