त्यसै जन्मेका होइनन् बालेन र हर्क साङ्पाङहरू

Read Time = 16 mins

✍️ इन्द्रबहादुर बराल

विद्यमान राजनीतिको सन्दर्भमा समाजका प्रबुद्ध वर्ग र सचेत अनि जागरुक नेपाली युवाहरूले सूक्ष्म अध्ययन विश्लेषण गर्न थालेको पाइएको छ । यो गएको स्थानीय निर्वाचनपूर्व देशका प्रबुद्ध वर्ग र युवाहरू निरपेक्ष बस्दा दलहरू छाडा बन्दैगएको प्रष्ट संकेत नपाइएको होइन । कथित ठूलाहरूको आपसी मिलोमतोमा देश विकास गर्नुको सट्टा अपारदर्शी र आर्थिक अनुशासनहीनताको पराकाष्ठा नै भएको सर्वत्र यही निष्कर्ष छ । यद्यपि पहिलो जनआन्दोलनपछि देश विकासका काम केही पनि भएनन् भन्नु न्यायसंगत नहोला ।

त्यसका बाबजुद पनि पार्टीहरू विशेष गरेर सत्तासीन भएका कांग्र्रेस, एमाले र माओवादी आदि नेतृत्वका सरकारको शासनकाल अत्यन्तै विवादित र असंसदीय व्यवहार र आचरणले सकारात्मक उपलब्धिहरू ओझेलमा परेका छन् । आमनागरिकको ध्यान सयमा एकमात्र गलत काम भयो भने बाँकी उनान्सय राम्रा काम बिर्सेका हुन्छन् । सम्भवतः ठूला भनाउँदा दलहरूको अहंकार र दम्भले आक्रान्त भएका सर्बसाधारणदेखि विभिन्न तह र तप्काका नेपालीहरू आजित भएको अवस्थाले यी दलहरूको विकल्पको खोजी हुन थालेको महसुस हुँदै छ । सम्भवतः यसैको पूर्वसंकेतको रूपमा बालेन साह र हर्क साङ्पाङको उदय भएको हुनसक्छ यद्यपि उनीहरू प्रतिनिधि पात्रमात्रै हुन् ।

अहिले ६/६ जना पूर्वप्रधानमन्त्रीलाई मंसिर ४ गते हुने संघीय निर्वाचनमा हराउ अभियान नै चलाइएको छ । यो अभियानलाई त्यति हल्का रूपले हेर्न नहुने अवस्था छ । यदि ती पूर्वप्रधानमन्त्रीहरूलाई हराउ अभियान रचनात्मक दिशा र सोचका साथ आएको हो भने निसन्देह सकारात्मक मान्नुपर्छ, होइन प्रतिक्रियावादी अर्थात् पश्चगामी दिशातिर मोड्नका लागि गरिएको भने त्यो देश र जनताका लागि दुर्भाग्यपूर्ण हुनेछ । राजा महेन्द्रले आफू निरंकुश र तानाशाह बन्ने महत्वाकांक्षाले दलीय व्यवस्थाका कमीकमजोरीलाई अतिरञ्जित गर्दै दलबिहीन पञ्चायती व्यवस्था लादे झैँ अहिलेको स्वतन्त्रको लहरले पनि त्यही बाटो समात्न खोजेको हो भने अवश्य होसियार हुनुपर्ने देखिन्छ ।
चाहे २०४६ को पहिलो जनआन्दोलन होस् या २०६२/०६३ को दोस्रो जनआन्दोलनले स्थापित गरेका राजनीतिक प्रणालीहरूलाई जोगाउँदै नेताहरूको विकृतपूर्ण व्यवहार र चरित्रलाई सुधार्न वा सच्चिन खबरदारी गर्नु आजको सही यथार्थता हुनेछ । अहिले जुन प्रकारको लहर आएको छ त्यो लहरलाई प्रतिगामीहरूले आफ्नो अभिष्ट पूरा गर्न नपाउन भन्नेतर्फ अभियानकर्ता सचेत रहनै पर्छ । अन्यथा नेपाल र नेपाली फेरि अर्को प्रकारको निरंकुशताको जाँतोमा पिसिने खतरा त्यत्ति नै छ ।

यसर्थ आसन्न संघीय तथा प्रदेश निर्वाचनमा जुन किसिमले स्वतन्त्रको लहार आइरहेकोे छ त्यसलाई कथित प्रमुख दलहरूले गम्भीरतापूर्वक लिनुपर्छ । आफू र आफ्नो गठबन्धनको एकल निर्णय मात्रै लाड्ने प्रयत्न भयो र परिवर्तनका चाहनालाई कुल्चिने चेष्टा गरियो भने त्यो सबै दुर्भाग्यपूर्ण हुनेछ । फेरि पनि दोहो¥याई तेह¥याई भन्नै पर्छ कि अहिलेको युवा पुस्ताले चाहे भने बालेन साह र हर्क साङ्पाङहरू जस्ता थुप्रै जन्माउन सक्छन् ।

उपरोक्त विश्लेषणको आधारमा बालेन साह र हर्क साङ्पाङ जस्ताको जन्म भएको छ । हालै धरानबाट हर्क साङ्पाङ काठमाडौँ आउँदा मिडियाहरूले उच्च–प्राथमिकताका साथ उनलाई प्रचारबाजी गराए । त्यसबाट पनि के बुझ्नु र मनन् गर्नुपर्छ कि अब सरकार र सरकारमा सहभागी दलहरू र प्रतिपक्ष दलहरूले किन यसो भइरहेको छ ? त्यत्रो महत्व स्वतन्त्र रूपमा चुनाव जित्नेहरूलाई दिइरहेका छन् सञ्चारमाध्याम र युवाहरूले । यहाँ युवाहरूले आँटे भने आकाशका तारा खसाल्न सक्छन् भन्ने आमसर्वसाधारण नेपालीहरूलाई परिसकेको छ ।

यसर्थ झट्ट सम्झना आयो मुनामदनको एउटा छन्द कविताको दुई लाइन (भोटसँगको युद्धको कल्पना गरी रचना गरिएको थियो मुना-मदन) जहाँ मदन मुनालाई भन्छन् ‘अनार दाना दाँतका लहर खोलेर हाँसन, तिमीले हाँसे म हाक्न सक्छु इन्द्रको आसन’ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको उक्त काव्य मुना–मदन स्मरण गर्दै अझै पनि दलहरूको विकल्प दलहरू नै हुन् त्यसका लागि युवाहरू प्रोत्साहित गर्न सक्नुपर्छ ।

आजको लोकतान्त्रिक युगमा कुनै पनि नामको तानाशाह नेपालीले खोजेका छन् जस्तो लाग्दैन । त्यस कुरामा पठित युवाहरू स्वीकार्दैन ।
कहिलेकाहीँ दिक्क भएर जे भने पनि खोजेको निरंकुशतन्त्र होइन भन्ने लाग्छ । प्रजातन्त्र र गणतन्त्रमा केही उल्लेख्य काम भए पनि धेरै महŒवपूर्ण पक्षमा दलहरू र सरकार चुकेको अनुभूति जताततै गरिएको छ । सुशासन, पारदर्शीता र जवाफदेहिता लोकतन्त्रका मुलभूत तत्व हुन् । यी तत्वविनाको लोकतन्त्र प्राण नभएको जीव जस्तै हुन्छ । अहिलेको युुवा पिँढीलाई केही होइनन् भन्नु महामुर्खता हो । विज्ञान र प्रविधिको विकाससँग परिचित युवाहरू आजको दुनियाँलाई राम्रोसँग बुझेका छन्, जानेका छन् । प्रविधिको राम्रो ज्ञान प्राप्त गरेका छन् ।

ADVERTISEMENT

अब उनीहरूले प्राप्त गरेको त्यो ज्ञान र सीप राष्ट्र निर्माणमा सदुपयोग गर्नुपर्ने अवस्थामा उल्टै उनीहरूकै इच्छाविपरीत सरकार र दलहरू हिँड्ने कोसिस गरे अर्को विडम्बना व्यहोर्नुपर्ने बाध्यता हुन सक्छ । यसर्थ युवाहरू अर्को शब्दमा आगो हुन्, आगोसँग खेलबाड गरे के हुन्छ त्यो सबैलाई अवगत भएकै कुरा हो । त्यसैले युवाहरू सत्य हुन्, त्यस सत्यलाई उपेक्षा गर्दा परिणाम के हुन्छ भनिरहनु पर्दैन । यसबाट के बुझ्न सक्नुपर्छ भने युवाहरूले चाहे पनि बालेन साह र हर्क साङपाङ जस्ता धेरैको जन्म दिन सक्छन् । अहिलेको समय विज्ञान र प्रविधिको समय हो । राजनीति पनि विज्ञानसम्मत ढंगले चल्नुपर्छ ।

हल्लामा सुने जस्तै राजनीतिमा दुई दुना तीन वा पाँच हुन्छ भन्ने कुरा अबका शिक्षित युवा मान्न तयार छैनन् । अब सधैँ जनतालाई भेडो बनाइराख्न सकिन्छ भन्ने भ्रमबाट मुक्त भई युवाहरूको आवाजलाई सम्बोधनतर्फ लाग्नु दलहरूका लागि श्रेयस्कर हुन्छ । नत्र स्वतन्त्रको भेलले दलहरूले अस्तित्व धान्न धौ/धौ हुने पक्का छ । मूलधारका पार्टीमध्ये माओवादीको हैसियत आज रक्षात्मक अवस्थाबाट गुज्रिराखेको छ भने कांग्रेस एमालेले पनि अब फुर्ति नलाए हुन्छ । त्यस कुरामा विचार नपुर्‍याए के हुन्छ निकट भविष्यले देखाइदिने छ । गठबन्धनको नाम आपसी मिलोमतो नै काफी नसम्झौँ । राजनीतिबाट बिरक्तिएका तमाम नेताहरू छन् जो आज युवाहरूको शरणमा पुगिसकेका छन् । परम्परागत ढंगले अघि बढे त्यसको परिणामले धेरै बालेन/हर्क जन्मने निश्चित छ ।

उक्त पृष्ठभूमिमा पार्टीहरू खास गरेर अग्रगामी राजनीतिका मसिहाहरू (कांग्रेस-कम्युनिष्ट) थप गम्भीर र जिम्मेवार हुनुपर्ने देखिन्छ । लोकतन्त्र र गणतन्त्रविरोधी शक्तिले विस्तारै मुन्टो उठाउँदै गरेको विद्यान अवस्था छ । राजतन्त्रको कुरा जबरजस्त उठिरहेको छ । राजतन्त्र र गणतन्त्र एक अर्काका प्रमुख दुश्मनतन्त्र हुन् । यस्तो स्थितिमा युवाहरूको आवाजलाई सम्बोधन नगरी पेलेरै जाने र पार्टीभित्र पनि पैसा र पाखुराको भरमा उम्मेदवारी छनौट गर्ने हो भने पार्टीभित्रका जेनुइन तप्काहरू युवाहरूकै पछि लाग्ने निश्चित छ । जहाँ विचार, सिद्धान्त, निष्टा र आदर्शको आधारमा पार्टी र सरकार चल्दैन त्यस्तो पार्टीमा जसरी पनि बसिरहनुपर्छ भन्ने हुँदैन ।

मानिसहरू २०१७ साल पुस १ गते अपहरित प्रजातन्त्रको पुनःस्थापनाको आन्दोलनमा निश्चित विचार, सिद्धान्त, निष्टा अनि आदर्शका लागि आफूलाई समर्पित गरेका थिए । त्यस निष्ठा र आदर्शबाट कुनै पनि पार्टी स्खलित हुन्छ भने निःसन्देह त्यहाँ रहनु/ नरहनुको कुनै अर्थ रहँदैन । लोकतान्त्रिक प्रणालीका मुख्य आधार स्वतन्त्रता, समानता, न्याय र भ्रातृत्व हुन् । न अहिले समानता छ न न्याय नै । स्वतन्त्रताको उपभोगमा पार्टी अनुशासनको डण्डाले तर्साउन खोजिन्छ भने उता पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धाले भ्रातृत्व सम्बन्धमा ह्रास आएको छ ।
त्यसैले सबै प्रमुख पार्टीभित्र आन्तरिक सम्बन्ध अत्यन्तै कमजोर हुँदै गएको अवस्था छ । कतिलाई लागेको होला आसन्न चुनावमा टिकट पाउनु नै जित हुनु हो तर त्यस्तो सोचाइ सरासर भुल हो । यस्तो सोचले धेरै बालेन र हर्क जन्माउने काम गर्छ । केही नेताहरू आफ्नो संगठनका साथीहरूको मानमर्दन गरेर भए पनि पार्टीको टिकट पाउनुलाई नै जित सुनिश्चित ठानेका छन्, जुन बुझाइ एकदमै गलत सावित हुने निश्चित छ । स्वतन्त्रको उद्वेगको उत्कर्षले जसरी काठमाडौँमा सिर्जना र केशवलाई पाखा लगाइदियो त्यसरी नै आसन्न संघीय निर्वाचनमा त्यही नियति भोग्न दलहरू तयार हुनुपर्छ ।

अहिले सामान्य अध्ययनले पनि के देखाउँछ भने दल आबद्ध तमाम कार्यकर्ता स्वतन्त्रप्रति आकृष्ट भएको सर्भेक्षेणबाट अनुभूत गरिँदैछ । प्रत्यक व्यक्तिसँगको भेटमा त्यस्तै गुनासो पाइन्छ । यो यथार्थलाई बुझ्ने कोसिस भएन र हिजो जसले जितेको छ आज उसैलाई टिकट दिने परम्परागत विधि र प्रक्रिया अपनाउने हो भने परिवर्तनकामी जनता र कार्यकर्ताको भावनामा चोट पुग्ने पक्का छ । कार्यकर्ता र जनताको परिवर्तनको भावनालाई आत्मसात नगर्दाको परिणाम काठमाडौँ र धरानलगायत अन्य स्थानमा जे भयो त्यही नियति भोग्न तयार हुनुपर्छ । पार्टीहरू अलिकति चुक्ने र कमजोर हुने बित्तिकै नेताहरूलाई ज्यान जोगाउन हम्मेहम्मे पर्ने स्थिति देखिँदै छ ।

अब हिजोको जस्तो अवस्था छैन पार्टीका नेताले जे भन्यो त्यही हुने । कार्यकर्ता जनतासँग घुलमिल हुन छोडिसकेका छन् । एउटा कार्यकर्ताले जनतालाई जता-जता भन्यो उतै उतै भेडा बाख्रा बनाएर डोहोर्‍याउने अवस्था अब देखिँदैन । यसर्थ पनि दलहरूले यदि अरू थप बालेन र हर्क जस्ताको जन्म नहोस् भन्ने या हुन दिनबाट रोक्ने हो भने गम्भीरतासाथ पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई अध्ययन विश्लेषण गरेरमात्र टिकट दिनुपर्छ ।

सामाजिक सञ्जालले पनि नेपालीको मन र मष्तिकमा ठूलो परिवर्तन ल्याइदिएको छ । अब पार्टीको अनुशासनको डण्डाबाट कोही तर्सने अवस्थामा छैन । बरू नेतृत्व तह जो पार्टीको नीति, सिद्धान्त, निष्ठा र आदर्शबाट च्युत भएको छ ऊ पो तर्सने स्थिति देखापर्दै छ । यसर्थ बालेन साह र हर्क साङ्पाङहरू यत्तिकै जन्मेका होइनन् । यसको पछाडिको मूल कारक तत्व राजनीतिक दलहरू नै हुन् चेतना भया ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *