युरिक एसिड र स्वास्थ्य

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 9 mins

✍️ प्रा.डा. अर्जुनदेव भट्ट

विषय प्रवेश
युरिक एसिड रगतमा पाइने एउटा महत्वपूर्ण पदार्थ हो । युरिक एसिडको स्तर सामान्य अवस्थाको भन्दा उच्च भए शरीरमा विभिन्न खालको समस्या उत्पन्न गर्न सक्दछ । युरिक एसिडको स्तर कतिसम्म खतरनाक हुँदैन र कति बढी भएको अवस्थामा नियन्त्रण गर्नु अनिवार्य हुन्छ ? त्यसबारे यहाँ वर्णन हुनेछ । युरिक एसिडको रक्तस्तर बीस प्रतिशत जनसंख्यामा उच्च पाइन्छ । ती सबैको उपचार भने गर्नुपर्दैन । प्रायः जोर्नीमा असर परेका बिरामीको र केही अरू अवस्थामा मात्र उपचार आवश्यक पर्छ ।

युरिक एसिडको कुन स्तरलाई उच्चस्तर भनेर लिनुपर्दछ ?
पुरुषहरूमा र महिलामा युरिक एसिडको सामान्य स्तर भिन्न हुने गर्दछ । ३६० माइक्रोमोल प्रतिलिटर वा ६ मिलिग्राम प्रतिमिलिलिटरसम्मको स्तर युरिक एसिडको भए महिलामा सामान्य मानिन्छ । पुरुषमा यो स्तर ४०० माइक्रोमोल वा ६.८ मिलिग्रामसम्म पनि सामान्य नै मानिन्छ ।

उल्लेखित स्तरभन्दा बढी युरिक एसिड पाइएमा अध्ययन गरेर स्तर सामान्य राख्न के गर्नुपर्ला ? भन्नेबारे चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्दछ । युरिक एसिड घटेको स्तर १२० माइक्रोमोल वा दुई मिलिग्रामभन्दा कम मानिन्छ । यो अवस्थामा खासै उपचार गर्नुपर्ने हुन्न ।

कुन-कुन कारणले रगतमा युरिक एसिडको स्तर बढ्न सक्दछ ?
थुप्रै कारणले शरीरमा युरिक एसिडको स्तर बढ्न सक्छ । ती हुन्-

वंशाणुगत

उच्च रक्तचाप

मोटोपन

अनियन्त्रित खानपान

मादकपदार्थको सेवन

ADVERTISEMENT

पिसाब बढी लगाउने औषधिको प्रयोग

कसरी युरिक एसिडको उच्च स्तर हुन सक्छ भन्ने कुरालाई अध्ययन गर्दा तीन विभिन्न कारणमा भर पर्ने देखिन्छ । ती हुन्-

पहिलो : युरिक एसिड सामान्यभन्दा बढी शरीरमा उत्पादन हुनु ।

दोस्रो : मिर्गाैलाबाट पिसाब भएर शरीरबाट निस्कनुपर्ने मात्रामा कमी हुनु र फलस्वरूप रगतमा युरिक एसिडको स्तर उच्च हुनु र तेस्रो कारण मिश्रित जसमा भोजनमा युरिक एसिड बन्ने कुराको अधिक सेवन गर्नु, रक्सीको सेवन धेरै गर्नु, लामो समयसम्म भोको बस्नु इत्यादि । त्यसैगरी भोको अवस्थामा एकैपल्ट दुईवटा कुराले युरिक एसिडको स्तर रगतमा उच्च पार्छ । ती हुन्- उत्पादन प्रचुरमात्रामा हुनु र मिर्गाैलाले सामान्य अवस्थामा भन्दा पिसाबबाट कम निष्कासन गर्नु ।

भोको अवस्थामा मिर्गाैलाबाट ‘किटोन’ भन्ने पदार्थ निष्कासन हुन थाले युरिक एसिडको निष्कासनमा ज्यादै बाधा पु¥याउँछ । रक्सी र खास गरेर बियरले शरीरमा पानीको अभाव गरेर युरिक एसिडको मात्रा बढाउँछ ।

क्तसञ्चारमा युरिक एसिड उच्चमात्रामा भए त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ ?
युरिक एसिड रगतमा सधैँ हुने पदार्थ भए पनि त्यसको स्तर बढ्न नदिन विभिन्न उपाय अपनाउनुपर्ने हुन्छ । यसको स्तर ज्यादै रहेमा जोर्नी दुख्नेदेखि लिएर मिर्गाैलाको कार्यक्षमतामा ह्रास आएर ज्यान जोखिममा पर्न सक्छ । युरिक एसिडको रक्तस्तर न्यून राख्दा छालामा केन्द्रित भएर रहने (Tophi Formation), जोर्नी तथा अरू तन्तुहरूमा मणिहरू थिग्रेर गर्ने खराबी र पीडा तथा मिर्गौलाको फिल्टर नष्ट गर्नबाट शरीरलाई बचाउन सकिन्छ । यसको स्तर घटाउन सैद्धान्तिकरूपमा दुई प्रकारको औषधि प्रयोग गर्न सकिन्छ ।

पहिलो ः आलोपुरिनल वा फेबुक्सोसटाट हो । यसले युरिक एसिडको निर्माणमा कमी ल्याउँछ । यो मिर्गाैलाको पत्थरी भएकालाई पनि दिन मिल्छ । आलोपुरिनलले दिसा पातलो पार्ने, वाक्वाक् गराउने तथा जिउ चिलाउने वा डाबर आउनेजस्ता समस्या उत्पन्न गराउन सक्दछ ।
दोस्रोः औषधि प्रोवेनेसिड र सुलफिनपाइरोजोन हो । यसको मुख्य उद्देश्य रक्तसञ्चारबाट मिर्गाैलाको फिल्टर भएर युरिक एसिडलाई बढीमात्रामा फिल्टर गराउनु र अर्को फिल्टरको भागले सोसेर फेरि रक्तसञ्चारमा धेरैमात्रामा युरिक एसिड ल्याउन निषेध गर्नु हो ।

पिसाबबाट बढीमात्रामा युरिक एसिड निकाल्न सहयोग प¥याउने औषधिहरूको प्रयोग प्रायजसो ती बिरामीहरूमा गर्न मिल्दछ, जसको क्रेअटेनिन निखार्ने क्षमता ६० मिलिलिटर प्रतिमिनेटभन्दा कम छ । तर, ती बिरामीहरूलाई कहिल्यै पनि मिर्गाैलाको पत्थरी नभएको हुनुपर्दछ । त्यसका साथसाथै उनीहरूले प्रतिदिन ७०० मिलिग्रामभन्दा कममात्र युरिक एसिड पिसाबमा निष्कासन गर्ने गरेको हुनुपर्दछ । युरिक एसिड उपचारको मुख्य उद्देश्य रगतमा ६ मिलिग्रामभन्दा तल्लोस्तरमा युरिक एसिडलाई सन्तुलनमा राख्नु हो । त्यसो गर्नाले बिरामीको जोर्नी वा शरीरका विभिन्न भागमा युरिक एसिडका मणिहरू थिग्रिन पाउँदैनन् ।

पिसाबको अमिलोपना घटाएर पनि मिर्गाैलाबाट बढीमात्रामा युरिक एसिड निष्कासन गर्न सकिन्छ । पिसाबलाई बढी पातलो पारेर पनि शरीरबाट बढी युरिक एसिड निष्कासन गर्न सकिन्छ । त्यसका निम्ति झोलिलो पदार्थ तथा पानी बढी पिउनुपर्दछ । युरिक एसिडको स्तर रगतमा उच्च हुनेले खानामा माछामासु घटाउने, रक्सी पिउन छोड्ने र शरीरको तौल आफ्नो अग्लाइलाई मिल्दोजुल्दो राख्ने गर्नुपर्दछ । मोटोपन, रक्सीको सेवन र बढी माछामासुको भोजनबाट टाढा रहनु नै युरिक एसिडले निम्ताउने समस्याबाट टाढा हुनु हो ।
निचोड

युरिक एसिड रगतको महत्वपूर्ण पदार्थ हो । माछामासु, रक्सी र खास गरेर बियरले शरीरमा युरिक एसिडको मात्रा बढाउँछ । जोर्नीमा असर परेका बिरामीको र केही अरू अवस्थामा उपचार गर्नुपर्छ । (वरिष्ठ युरोलोजिस्ट भट्टको बहुउपोगी पुस्तक ‘मूत्र र जननेन्द्रिय प्रणाली रोग, निदान तथा उपचार’ हालै प्रकाशित भएको छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. उपयाेगी लेख , डाक्टरसाहवलाई वधाई छ

रिलेटेड न्युज