सत्तारूढ कार्यदलको बैठक : सिट बाँडफाँटको मोडालिटीबारे मतान्तर, छलफल सकारात्मक भएको नेताहरूको दाबी

अनिल क्षेत्री
अनिल क्षेत्री
Read Time = 9 mins

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनमा आगामी मंसिर ४ गते तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिटबाँडफाँटको मोडालिटीबारे मतान्तर देखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्तारूढ गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठकमा कार्यदल सदस्यहरूबीच आगामी निर्वाचनको सिट बाँडफाँट गर्दा २०७४ सालको संसदीय निर्वाचनको मतलाई आधार मान्ने कि गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतलाई आधार मान्ने भन्नेमा मतान्तर देखिएको हो ।

बैठकमा कांग्रेसले हालै सम्पन्न स्थानीय तह निर्वाचनको मतलाई मुख्य आधार बनाउनुपर्ने धारणा राखेको छ । तर, गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सदनमा उपस्थिति र दलहरूको संवेदनशीलतालाई आधार मान्नुपर्ने धारणा राखेको छ । २०७४ सालमा भएको चुनावमा जुन दलले प्रत्यक्षतर्फ जति सिट जितेका छन् ती सिट कायम राखेर एमालेले जितेका सिट बाँडफाँट गर्ने मोडालिटीमा सैद्धान्तिक सहमति भएको दाबी गर्दै नेकपा माओवादी केन्द्रको तर्फबाट कार्यदलका सदस्य देव गुरुङले भन्नुभयो, ‘मोटामोटी अहिलको संसद्को उपस्थितिलाई ध्यानमा राखेर त्यसको सेरोफेरोमा हुन्छ । स्थानीय तहको निर्वाचनको डेटाहरू मिल्दैन । एउटै निर्वाचनलाई मात्रै अन्तिम रूपमा डेटाबेस बनाउन कठिन छ । त्यसैले सदनमा उपस्थितिको आधारमा, समानुपातिक मत लगायतलाई सहमतिको मोडालिटी बनाइएको छ । विगतमा भएका चुनावका मत मात्रै आधार भने हुँदैन । केही दल पहिले अस्तित्वमा थिएनन् ।’ कार्यदल सदस्य गुरुङले २०७४ सालमा भएको चुनावमा जुन दलले प्रत्यक्षतर्फ जति सिट जितेका छन् ती कायम राखेर एमालेले जितेका सिट बाँडफाँट हुने दाबी गर्नुभयो ।

नेपाली कांग्रेसको तर्फबाट कार्यदलका सदस्यसमेत रहनुभएका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा सिट बाँडफाँटबारे विभिन्न मोडालिटीमा छलफल भएको र छलफल सकारात्मक ढंगले अघि बढेको जानकारी दिँदै भन्नुभयो, ‘बैठक सकारात्मक भयो । विभिन्न मोडालिटीमा कुराकानी भयो । चाँडै सिट बाँडफाँटको टुंगो लाग्छ । हामी केही दिनभित्रै सिट बाँडफाँटको काम सम्पन्न गर्ने गरी गृहकार्य गरिरहेका छौँ । साउनभित्रै हामीलाई दिएको जिम्मेवारी पूरा गर्छौं । अहिले खुलस्त रूपमै नेताहरूले कुरा राख्नुभएको छ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठकमा सबै दलबाट प्रतिनिधित्व गरेका नेताले सिट बाँडफाँटका लागि पार्टीका आधार प्रस्तुत गर्नुभएको छ ।’

कार्यदलको अर्को बैठक यही साउन ३० गते सोमबार तय गरिएको छ । कार्यदलले निर्वाचनमा सिट बाँडफाँटको खाका बनाएर गठबन्धनका शीर्ष नेताहरूलाई बुझाउन साउन मसान्तसम्मको समय पाएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गर्ने लिखित सहमति गरेर सत्तारूढ गठबन्धनका शीर्ष नेताको बैठकले साउन २२ गते पाँचै दलका नेता सम्मिलित ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला र सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहनुभएका कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की रहनुभएको छ । नेकपा माओवादी केन्द्रबाट नेताहरू वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदलमा रहनुभएको छ । यही साउन २३ गते बसेको कार्यदलको पहिलो बैठकले कार्यदलको संयोजकमा कांग्रेसका पूर्व-महामन्त्री सिटौलालाई चयन गरेको थियो ।

ADVERTISEMENT

सत्ता गठबन्धनमा सामेल हुन डा. भट्टराईको दौडधुप
जनता समाजवादी पार्टी अलग्गिएर नेपाल समाजवादी पार्टी गठन गर्नुभएका पूर्व-प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आगामी चुनावमा पाँच दलीय गठबन्धनसँग जोडिन दौडधुप तीव्र बनाउनुभएको छ । मंगलबार सत्ता गठबन्धनको प्रमुख दलका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नुभएका डा.भट्टराईले बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नुभएको छ । माओवादीका अध्यक्ष दाहाल र नेता श्रेष्ठसँगको छलफलमा डा.भट्टराईले एउटै घोषणापत्र र चुनाव चिन्ह लिएर निर्वाचनमा जाने प्रस्ताव गर्नुभएको छ । जसपाबाट विभाजित भएर नयाँ दल दर्ता गरेपछि डा.भट्टराईले सत्ता गठबन्धनको स्वाभाविक हकदार भएकाले आफ्नो पार्टीलाई पनि गठबन्धनमै सामेल गराउनुपर्ने बताउँदै आउनुभएको छ । भट्टराईलाई गठबन्धनमा ल्याउन माओवादी केन्द्रले चासो देखाएको छ भने कांग्रेस सभापति देउवा पनि सकारात्मक हुनुहुन्छ ।

कांग्रेसको बटमलाइन ९० सिट : सहमहामन्त्री यादव
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले प्रतिनिधिसभाका प्रत्यक्षतर्फ १६५ सिटमध्ये कांग्रेसले १०० सिटमा दाबी गर्ने बताउनुभएको छ । काठमाडौंमा बिहीबार भएको सात्क्षात्कारमा कांग्रेस सभापति शेरबहादुर देउवाका निकट सहमहामन्त्री यादवले भन्नुभयो, ‘कांग्रेसको एक सय सिटमा दाबी रहन्छ । तर, गठबन्धनभित्र सहमति कायम गर्नका लागि ९० सिटसम्म मान्न सकिन्छ ।’
सहमहामन्त्री यादवले प्रतिपक्ष दल नेकपा एमाले अब २० वर्षसम्म शासनमा नफर्कने दाबी गर्नुभयो । सहमहामन्त्री यादवले भन्नुभयो, ‘अब २० वर्षसम्म फेरि एमाले शासनमा फर्किन्छु भनेर त्यो आँट नगरे हुन्छ । नेपाली जनताले अब तपाईंहरूलाई शासनमा ल्याउँदैनन् । अब तपाईंहरू कहाँ चुनाव जित्नुहुन्छ ?’

२० प्रतिशत सिट नेकपा एसको बटमलाइन
सत्तारूढ पाँच दलीय गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २० देखि २५ प्रतिशत सिट बटमलाइन बनाएको छ । यो आधारमा नेकपा एसले १६५ सिटमा २० प्रतिशतको हिसावले ३२ सिटमा दाबी गर्नेछ भने २५ प्रतिशतको हिसाबले ४२ सिटमा दाबी पेश गर्नेछ । नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडाले सिट बाँडफाँटमा पार्टीको स्पष्ट धारणा रहेको जिकिर गर्दै भन्नुभयो, ‘हामी प्रतिगमनकारी शक्तिलाई पराजित गर्नदेखि यो सरकार र गठबन्धन निर्माणमा महŒवपूर्ण भूमिका खेल्ने शक्ति हौँ । सोहीअनुसार हाम्रो अबको चुनावका लागि हुने सिट बाँडफाँटमा हाम्रो बटमलाइन पेश हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?