शुभयात्राका हातहरू !

डा. नारायण चालिसे
डा. नारायण चालिसे
Read Time = 15 mins

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा मध्यरातसम्म कोही व्यक्ति उभिएर त्यहाँको दृश्यलाई रमाइलो मानेर हेरिरहन सक्दैन । शुभयात्राका अनगिन्ती हातहरू त्यहाँ हल्लिइरहेका हुन्छन् । जसरी हातहरू हल्लिइरहेका हुन्छन् लाग्छ त्यसरी नै तिनै हातका औँलाको टुप्पामा पुगेर राष्ट्रको गरिमा पनि हल्लिइरहेको हुन्छ । यदि कुनै व्यक्तिले त्यो दृश्यलाई हेरिरहन सक्यो भने त्यो कठोर व्यक्ति हो भनेर बुझे हुन्छ । देशै रित्तिएझैँ लाग्छ त्यहाँ । त्यसो त फर्किनेहरू पनि त्यत्तिकै हुन्छन् तर थाकेर फर्किनेहरूबाट लिने लाभभन्दा उत्साहले जानेहरूबाट देशले बढी नोक्सानी व्यहोर्नु परिरहेको छ ।

त्यहाँ धेरैथरि यात्रीले प्रस्थान कक्ष भरिभराउ हुन्छ । रोजगारीको निम्ति खाडी मुलुक जाने, अध्ययन भिसामा अष्टे«लिया, क्यानाडा, अमेरिका, जापान अनि युरोपका देशहरूमा जाने, ग्रीनकार्डमा अमेरिका, क्यानाडा, अष्ट्रेलिया आदि मुलुकतिर भासिने, भिजिट, बिजनेस वा अन्य कतिपय भिसामा देश छोड्नेहरूको भीड खचाखच हुन्छ त्यहाँ । त्यहाँ हुन्छ माला र खादाका खात र हुन्छन् हात हल्लाउन उपस्थित भएका आफन्तहरूका अनुहारमा क्तै उत्साह र क्तै चिन्ताका गहिरा रेखाहरू । अष्ट्रेलिया, अमेरिका, क्यानाडा वा युरोपका देशतिर हो भने एकजना व्यक्ति पठाउन एकदर्जन सेलिब्रेटी आफन्तहरू र खाडीतिर हो भने मुस्किलले एकजना दुःखी अनुहार त्यो पत्नी, बाबु, दाजु वा कोही नजिकको आफन्त हुनसक्छ ।

यी सबैभन्दा कारुणिक हुन्छ देशप्रतिको अनास्था र वितृष्णाको पहिरो । अविश्वासको पहाड उक्लिन धेरै गाह्रो पर्दो रहेछ । देशप्रति भरोसा टुट्नु एकप्रकारले अनागरिक हुनुसरह हो र त्यहाँ त्यस्तै देखिन्छ । देशले नपुगेर भनौँ वा देशले नअँगालेर बाहिरिनुको पीडा तिनैलाई थाहा होला जो यसरी बिछोडिएका छन् । अनि महँगा मुलुतिर जानेहरूका अनुहारमा तथाकथित प्रसन्नताको उत्ताउलोपन अनि खाडी जानेहरूका दुःखका सुस्केराभित्र आशाका धमिला धर्काहरू । संसारै जितैझैँ गरेर विदेशी भूमितर्फ जानेहरूको व्यग्रता छट्पटाएका दृश्य साँच्चै दयालाग्दा भएर उपस्थित हुन्छन् ।

त्यहीँ पनि क्लास छुट्टिइरहेको हुन्छ । ती सबैले एउटै जहाज चढेर नेपालीभूमि छाड्ने भए पनि त्यहाँको दृश्य धेरै नै अन्तर देखापर्छ । सुरक्षा जाँचमा बसेका सुरक्षाकर्मीदेखि यात्रामा हिँडेका भिआईपीहरू समेतले ती यात्रीलाई भेदभावका आँखाले हेरेजस्तो लाग्छ । जो पेटकै समस्याले विदेशिँदै छन् ती खासमा मौलिक यात्री हुन् जसलाई देशले रोजगारी दिन सकेन बरू रोजगारीको बदला खाडी मुलुकहरूलाई विकल्पको रूपमा देखाइदियो । त्यसको तुलनामा रहरले विदेशिने यात्रीहरू कम प्राथमिक्तामा पर्नुपर्ने हो तर त्यसो भएको देखिँदैन । विकसित मुलुक जाने यात्रीले र उसका आफन्तले आफूहरूलाई सिकन्दर सम्झिरहेका हुन्छन् ।

सुरक्षा जाँचमा बसेका सुरक्षाकर्मीहरूदेखि यात्रामा हिँडेका भिआईपीहरू समेतले ती यात्रीलाई भेदभावका आँखाले हेरेजस्तो लाग्छ । जो पेटकै समस्याले विदेशिँदै छन् ती खासमा मौलिक यात्री हुन् जसलाई देशले रोजगारी दिन सकेन बरू रोजगारीको बदला खाडी मुलुकहरूलाई विकल्पको रूपमा देखाइदियो ।

उनीहरूलाई आफूहरू संसार जित्न हिँडेजस्तो लागिरहेको हुन्छ । खाडी जाने यात्रीलाई उनीहरूले नै किञ्चित उपेक्षा गरेजस्तो भाव त्यहाँ झल्किन्छ । भन्नु पर्ने धेरै कुराहरू त्यहाँ देखिन्छन् । शुभयात्राका हातहरू यो दृश्यका सबैभन्दा महत्वपूर्ण बिम्बहरू हुन् । एकजोडी बाबुआमा आफ्नो सन्तानलाई त्यति सजिलै आफ्नो न्यानो काखबाट छुटाएर अज्ञातको यात्रामा त्यति सजिलो गरी पठाउन सक्दैन । धेरै प्रकारका चुनौतीसँग सामना गरेर मात्र यस्तो निर्णय लिन सकेको हुन्छ । सन्तानका उच्च महत्त्वाकाँक्षाहरू, विकसित मुलुकहरूका रहरलाग्दा विज्ञापनहरू, स्वदेशमा आवश्यक विकल्पको कमी र अरूको देखासिकी जस्ता विभिन्न कारणले धेरै नेपाली युवाहरू विदेशतर्फ आकर्षित भएको देखिएको छ । त्यसको जल्दोबल्दो दृश्य हेर्ने ठाउँ त्यही विमानस्थल हो ।

देशले होनहार युवाहरूको विश्वास र आकर्षण गुमाएको अवस्था र विदेशको आकर्षण आवश्यक्ताभन्दा बढी चुलिएका कारण हरेक घरका सन्तानहरू अब देशमा बस्न चाहेका छैनन् । यसरी राष्ट्रप्रतिको भरोसा टुट्नु व्यक्तिको निम्ति र राष्ट्रको निम्ति पनि सुखद कुरा होइन । अलि राम्रो गर्न सके विकसित मुलुकको यात्रा र त्यति राम्रो गर्न नसकेको अवस्थामा खाडी मुलुकको यात्रा गर्नु आजको युवाहरूको बाध्यता बनेको छ । यो विडम्बनाको शिकार बनेका हाम्रा सन्ततिहरू अब हाम्रो हातमा छैनन् ।

विदेशको आकर्षक रिमोर्टले सञ्चालित भइसकेका छन् । हामीले दिन सक्ने आर्थिक दृष्टिले खोक्रो, राजनीतिक दृष्टिले छिन्नभिन्न, रोजगरीका दृष्टिले उत्साहहीन एक प्रकारले असफल राष्ट्र र अनिश्चित भविष्यमात्र रहेकाले हामीले आफ्ना सन्ततिलाई आश्वस्त पार्ने हामीसँग कुनै एजेण्डा नै रहेन । यस्तो अवस्थामा हाम्रो भविष्यको उज्यालो अरूले खोसिरहेका छन् र हामी विमानास्थलमा निरीह किसिमले शुभकामनाका हात उठाउन बाध्य भएका छौँ । ती हातहरू जसले मन अमिलो पारेरै अनुहारमा उज्यालो ल्याएका छन् ती एक थरि हातहरू जसकाप्रति हाम्रो पूर्ण सहानुभूति छ ।

ADVERTISEMENT

त्यसैभित्र केही हातहरू छिमेकी वा आफन्तको सन्तान विदेश गएको देखेर जसरी तसरी आफ्ना सन्तानलाई विदेश घचेट्न तम्सिएका छन् र कुनै दिन आफू पनि विमान चढ्न हतारिएका छन् तिनीप्रति पनि गहिरो समवेदना छ र ती हातहरू जसको सहारा नै विमान चढेको छ । सपना र विपना पनि विमान चढेको छ । रोग, भोकलाई आफ्नो आँङबाट हटाउनको निम्ति जसले यसरी हात हल्लाउनै पर्ने थियो । माया गरेर सन्ततिलाई अँगालोमा राखेर पेटको आगो ननिभेकाले नै यी हातहरू हल्लिनु परेको थियो ती हातहरू यहाँ पनि ओझेलमै थिए र सुकिलामुकिला हातहरूले ती हातहरूलाई छेकेका थिए त्यो दृश्य हेर्ने ठाउँ पनि यही विमानस्थल थियो ।

ती हातहरू जसले आफ्ना सन्तानहरूका माध्ययमले आफ्नो विदेश देख्ने अभिलासा पालेका छन् तिनको फूर्ति विमानास्थलमा अलि अस्वाभाविक लाग्छ । अज्ञातको अँध्यारोमा आफ्नो भविष्य चढाएर बाँच्न विवश हामी कति बाध्यताले, कति अज्ञानताले र कतिपय रहरले विमानास्थलमा आएर हात हल्लाएका छौँ । तिनको त कुरै नगरौँ जसको घरको चुलो बल्न विदेशकै आगो चाहिएको छ । पानी, नून र तेल चाहिएको छ । तिनीहरूको सुकिलो राष्ट्रवादलाई हामीले बुझ्न सकेका छैनौँ । विमानास्थलमा पनि तिनै सेलिब्रेटी अभिभावकहरूको फ¥याकफुरुक बढी छ जसले आफ्नो राष्ट्रप्रतिको दायित्व धरौटीमा राखेर महँगो पैसा तिरेर सन्तानलाई विदेश उडाइरहेका छन् ।

विमानास्थलका कर्मचारी वा राष्ट्रसेवकले पनि त्यसै प्रकृतिको व्यवहार गर्छन् । राष्ट्र«वाद अब राजनीतिको एजेण्डाभन्दा बढी छैन । राष्ट्रलाई आफ्नो ठान्न पनि राष्ट्रले आफ्नो ठान्नुपर्छ । केही शुभकामनाका हात हल्लिए जस्तै, आशाका सपना सजिए जस्तै, रमाइला रहरहरू आँकुराए जस्तै, देशप्रतिको अनास्था चुलिए जस्तै विदेशी भूमिमा उभिँदाको दिन मन कत्तिको मुस्कुराउन सक्ला भन्नेतिर त्यहाँसम्म कसैको त्यति ध्यान पुगेको पटक्कै लाग्दैन । त्यसै गरी ज्यादै अचम्मलाग्दो प्रश्न छ यसरी देश रित्याएर पठाइएका युवाहरू कहाँ पुगेका छन् ?

विमानास्थलका कर्मचारी वा राष्ट्रसेवकले पनि त्यसै प्रकृतिको व्यवहार गर्छन् । राष्ट्रवाद अब राजनीतिको एजेण्डाभन्दा बढी छैन । राष्ट्रलाई आफ्नो ठान्न पनि राष्ट्रले आफ्नो ठान्नुपर्छ । अचम्मलाग्दो प्रश्न छ यसरी देश रित्याएर पठाइएका युवाहरू कहाँ पुगेका छन् ?

उनीहरू उच्चशिक्षा लिएर, अनेक प्रकारको सीप सिकेर, दक्षता हासिल गरेर के स्वदेश फर्किका छन् त ? उनीहरूले हासिल गरेको ज्ञानले देशले कुनै लाभ लिन सकेको छ त ? अथवा विकसित मुलुकमा पुगेका नागरिकले देशको निम्ति के कति योगदान गरेका छन् ? वा उनीहरूले कमाएको धन सम्पत्ति देशको काममा आएको छ त ? भन्ने प्रश्नको उत्तर त्यत्तिकै निराशाजनक रहेछ । यस विषयमा न राष्ट्रले कुनै चासो राखेको छ न उनीहरूले दायित्व सम्झेका छन् । बरू जति धेरै पढेलेखेर एडभान्स बनेका छन् उति बढी राष्ट्रप्रति उपेक्षाभाव प्रकट गरेका छन् । विकसित मुलुक जाने नागरिकहरूले कालान्तरमा स्वदेशमा भएको सम्पत्ति पनि बेचेर विदेश लगेका र उतैका भइरहेका छन् ।

अमेरिका, अष्ट्रेलियामा घर किनेका छन् र नेपालको सम्पत्ति लगेर घरको डेकोरेसन गरेका छन् । महँगो गाडी किनेका छन्, सन्तानलाई महँगा स्कुलमा पढाएका छन् र विलाशी जीवन बिताएका छन् । र, राष्ट्रलाई तिनै खाडीमा गएकाहरू काम लागेका छन् जसले आफूले कमाएको सबै रुपैयाँ पैसा नेपाल पठाएका छन् । यहीँ घर जोडेका छन्, यहीँ जमिन किनेका छन् । भनिन्छ, जति ठूलो भनिएको मुलुकमा गएको नागरिक छ त्यति नै कम योगदान राष्ट्रको निम्ति गरेको छ । अमेरिका, अष्ट्रेलिया, क्यानाडा जस्ता मुलुकबाट सबैभन्दा कम रेमिट्यान्स नेपाल भित्रिने गर्दछ ।

यसरी राष्ट्रप्रति उदासीन नागरिकहरू तिनै देशमा बनेका छन् जसका प्रति राष्ट्रले बढी लगानी गरेको छ वा महत्व दिएको छ । भूमिको पल्लो किनारा आकाश गङ्गामा उभिएर एकजना निरीह राष्ट्रवादी अनुहार टोलाइरहेको छ । क्षितिज नियालिरहेको छ । धेरैले देखे जस्ता रहरका सपना उसका पूरा भएका छन् तर जसरी सोचिएको छ त्यसरी केही पनि हात लागेको छैन । सपना उस्तै, रहर उस्तै, योजना उस्तै, हेर्ने आँखा उस्तै, बुझ्ने बुद्धि उस्तै र भोग्ने भोगाइ उस्तै फेरिनुमात्र समयको गति रहेछ भूगोलको अर्को टुप्पा रहेछ तर किन किन प्रिय सञ्चेतना मलाई त यी कुनै सपना उज्याला लाग्दै लागेनन् । राष्ट्रवाद उर्लिएर सागर बनेको छ । सुलिकोट, नगरकोट वा थानकोटभन्दा पर पनि अर्को संसार छ भनेर कुदिरहेका मेरा पैताला थाकिसके तर सपनाको संसार भेटिएकै छैन । मनमा माटो बोकेर हिँड्ने रोगभन्दा ठूलो अर्को बिमारी रहेनछ सञ्चेतना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment