साउन १५ मा किसानले मनाए कोदो दिवस

Read Time = 5 mins

काठमाडौं । कोदोको योगदानः खाद्य तथा पोषण सुरक्षामा वरदान भन्ने नाराका साथ साउन १५ गते दोस्रो कोदो दिवस मनाइएको छ । रैथाने बालीका रूपमा रहेको कोदो बालीको संरक्षण, सम्वद्र्धन तथा उत्पादनमा वृद्धिका लागि किसान समूह र सरोकारवाला निकायले गत वर्षदेखि कोदो दिवस मनाउन थालेका हुन् । तथापि २०२३ देखि अन्तर्राष्ट्रियरूपमा दिवस मनाउने घोषणा पनि भइसकेको छ । यस वर्ष राष्ट्रिय कृषक समूह महासंघ, नेपाल, एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज) र छवेली कृषक समूहले मकवानपुरको भिमफेदी गाउँपालिकाको छवेलीमा दोस्रो कोदो दिवस मनाइएको महासंघका अध्यक्ष नवराज बस्नेतले जानकारी दिनुभयो । २०७६ सालदेखि महासंघ र अनाजले कोदोका बारेमा बहस चलाउँदै आएको र २०७७ सालदेखि दिवसकै रूपमा मनाउन थालिएको हो ।

छवेलीको एक किसान तथा खेतमा सम्पन्न दोस्रो कोदो दिवस कार्यक्रममा सहभागीले कोदो खाद्यान्न बालीको मुख्य बालीमात्र नभई औषधीय गुणका साथै पोषिलो खाद्यान्न भएकाले कोदोको प्रवद्र्धनमा जोड दिनुपर्ने बताए ।

समावेशी आयोगकी सदस्य (किसानतर्फ) विष्णुमाया ओझाले कोदोको संरक्षण, उत्पादन र उपभोग बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो उत्पादनमात्र होइन, यसलाई सेवन पनि गर्नुस्, अब यसलाई लुकाएर होइन, सबैलाई देखाएर खानुस् ।’ खाद्यान्नमा कोदो सबैभन्दा बढी पोषिलो रहेकाले किसानले आर्थिक तथा स्वास्थ्यको फाइदा लिन सक्ने भन्दै उहाँले लोप हुन लागेको कोदोको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो ।

किसान आयोगकी सदस्य एवं प्रवक्ता जिवन्ती पौडेलले कोदो नेपालको महत्वपूर्ण खाद्यान्न भए पनि संकट परेको बताउनुभयो । कोदोलाई सांस्कृतिक खानाका रूपमा विकास गर्दै राष्ट्रिय बालीको मान्यता दिलाउन सबै पक्षबाट पहल हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । पौडेलले किसानलाई भन्नुभयो, ‘तपार्र्इंहरू कोदो उत्पादन गर्नुस्, हामी बजारको व्यवस्था गर्छौँ ।’

ADVERTISEMENT

महासंघका अध्यक्ष नवराज बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले कोदोलाई मुख्य बालीका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । कोदो हेपाहा बालीका रूपमा चिनिने गरेकोे, अब मुख्य बालीका रूपमा विकास गर्दै सबै तप्काका उपभोक्ताले उपभोग गर्नुपर्ने बताउनुभयो । अधिकारीका अनुसार कोदो अन्य बालीभन्दा १० गुणा पोषिलो खाद्यान्न बाली हो । कोदोविज्ञ छवि पौडेलले कोदो एउटा बाली नभएर औषधि पनि भएको भन्दै कोदोको नियमित सेवन गर्न सुझाव दिनुभयो । सो अवसरमा छवेली कृषक समूहकी उपाध्यक्ष दिलकुमारी लामा, महासंघ उपाध्यक्ष पञ्चकाजी महर्जन, मकवानपुर गढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी, अनाजका सदस्य सुरेशकुमार यादवलगायतले कोदोका बारेमा चर्चा गर्नुभएको थियो । बाजागाजासहित किसानको खेतमा कोदो रोपेर सो कार्यक्रम मनाएको हो ।

जलवायुमैत्री खेतीका साथै कोदोबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ७० भन्दा बढी देशको समर्थनमा संयुक्त राष्ट्रसंघको महासभाले २०२३ लाई कोदो अन्तराष्ट्रिय वर्षका रूपमा मनाउने घोषणा गरेको छ ।

विगतमा नेपालमै पर्याप्तमात्रमा कोदो खेती हुने गरेकोमा पछिल्लो समय भने आयात हुन थालेको छ । गत वर्ष सात करोड १५ लाख २७ हजार रुपैयाँ बराबरको कोदो आयात भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा सात करोड २२ लाख रुपैयाँ बराबरको कोदो आयात भएको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?