अयोध्याय । भारतको अयोध्यायमा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्न श्रीराम जन्मभूमि तीर्थक्षेत्र सहमत भएको छ । अयोध्याय भ्रमणका क्रममा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विलमेन्द्र निधिले राम मन्दिरमा धनुष राख्न गरेको प्रस्तावलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले आफ्नो कार्य समितिमा छलफल गरी सहमति गराउने वचन दिनुभएको हो । उहाँले त्यसमा व्यक्तिगत रूपमा आफू पूर्ण सहमत भएको भन्दै राम मन्दिर ट्रष्ट र निर्माण समितिको बैठकमा प्रस्ताव राखेर निर्णय गर्नुपर्ने बताउनुभयो । रायले भन्नुभयो, ‘मलाई विश्वास छ त्यो प्रस्तावमा सबैले सहमति जनाउनु हुनेछ ।’
धनुष राख्नका लागि लामो समयदेखि गृहकार्यमा रहनुभएका कांग्रेस नेता निधि र श्रीराम जन्भभूमि तीर्थक्षेत्रका महामन्त्री रायसहित शनिबार अयोध्यायमा छलफल भएको थियो । छलफलमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दासलगायत जनकपुरवासी तथा राम मन्दिर ट्रष्टका सदस्य डा.अनिल मिश्रलगायतको सहभागिता थियो । त्यस अवसरमा नेता निधिले महामन्त्री रायलाई नेपालमा निर्माण गरिएको धनुषको नक्सा हस्तान्तरण गर्नुभएको थियो ।
यसैबीच, राम मन्दिरमा राखिने रामको प्रतिमा नेपालको कालिगण्डकी क्षेत्रको शिलाबाट बनाउने विषयमा पनि निधि र रायबीच विस्तृत छलफल भएको छ । लामो समयदेखि विवादमा रहेको राम जन्मभूमिका बिषयमा भारतको सर्वोच्च अदालतको फैसलापछि अयोध्यायमा राम मन्दिर निर्माण कार्य अघि बढाइएको छ । सन् २०२४ भित्र मन्दिर निर्माण गरिसक्ने लक्ष्य राखिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts