एसइई : तीन वर्षअघिको तुलनामा खस्कियो नतिजा

डिबी शर्मा
डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं,
साउन १२ ।

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा विगतको तुलनामा खस्किएको छ । बुधबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार कोभिड अगाडि र अहिलेको नतिजा तुलनात्मक रूपमा खस्किएकोे हो । यसअघि २०७५ सालमा भौतिक उपस्थितिमा परीक्षा भएको थियो । त्यसपछिका दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गरिएको थियो ।

पछिल्लो समय माथिल्लो जिपिए ल्याउने विद्यार्थीको संख्या उल्लेख्य घटेको छ । शैक्षिक सत्र २०७५ मा ३.६ देखि ४.० जिपिए ल्याउने विद्यार्थीको प्रतिशत ३.८३ थियो । यो वर्ष भने उक्त प्रतिशत घटेर १.९४ मा झरेको छ । यस्तै, ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थीको प्रतिशत तीन वर्षअघि ११.१३ रहेकोमा यो वर्ष ८.४० मा सीमित भएको छ । यसभन्दा तलको जिपिए ल्याउने परीक्षार्थी भने २०७५ सालमा भन्दा बढी छ । तीन वर्षअघि २.८ देखि ३.२ जिपिए ल्याउने परीक्षार्थी १३.८८ प्रतिशत रहेकामा अहिले १४.१० प्रतिशत रहेका छन् । त्यस्तै, २.४ देखि २.८ जिपिए ल्याउने परीक्षार्थी २०७५ सालमा १६.६७ प्रतिशत रहेकामा २०७८ सालमा १८.३१ प्रतिशत रहेको छ । २ देखि २.४ जिपिए ल्याउने विद्यार्थी तीन वर्षअघि २१.३८ प्रतिशत रहेकामा अहिले २२.७४ प्रतिशत रहेको बोर्डले जनाएको छ ।

नौ हजार परीक्षार्थीले ल्याए ३.६१ देखि ४ ग्रेड, २२ हजार ६४० जना गयल
बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार नौ हजार ६३३ जनाले ३.६१ देखि ४ ग्रेड प्राप्त गरेका छन् । त्यस्तै, ४१ हजार ६२७ जनाले ३.२० देखि ३.६०, ६९ हजार ९०० जनाले २.८० देखि ३.२० जिपिए प्राप्त गरेका छन् भने ९० हजार ७५८ जनाले २.४ देखि २.८० जिपिए प्राप्त गरेकोे बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार एक लाख १२ हजार ७३३ जनाले २ देखि २.४ जिपिए ल्याउँदा एक लाख ५९४ जनाले १.६ देखि २ जिपिए ल्याएका छन् । त्यस्तै, १.२ देखि १.६ जिपिए ल्याउनेको संख्या ४४ हजार ५८६ र ०.८० जिपिएदेखि १.२ जिपिए ल्याउनेको संख्या तीन हजार २८० रहेको अर्यालले जानकारी दिनुभयो । परीक्षामा चार लाख ९५ हजार ७५१ विद्यार्थी सहभागी भएका थिए । गत वैशाख ९ गतेदेखि २० गतेसम्म एसइई परीक्षा भएको थियो ।

ADVERTISEMENT

दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक परीक्षा दिएका थिए । एसइई परीक्षामा २२ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहेको बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार २२ हजार ६४० जना परीक्षार्थी अनुपस्थित रहेको पाइएको हो । अनुपस्थित हुनेमा ११ हजार ९३७ जना छात्रा र १० हजार ७०२ जना छात्र रहेका छन् । जबकि तीन वर्षअघि आठ हजार ४६९ जना मात्रै परीक्षामा गयल भएका थिए ।

बागमतीमा सबैभन्दा राम्रो, कर्णालीमा कमजोर, मधेशमा सुध्रियो
कर्णाली प्रदेशमा एसइईको नतिजा सबैभन्दा कमजोर देखिएको छ । सबैभन्दा कम उच्च जिपिए प्राप्त गर्नेमा कर्णाली सबैभन्दा पछाडि र दोस्रोमा सुदूरपश्चिम रहेको छ । कर्णालीबाट १.१८ प्रतिशत र सुदूरपश्चिमबाट २ प्रतिशत विद्यार्थीले मात्रै ३.६ देखि ४ जिपिए ल्याएका छन् । यदपि, कर्णाली र सुदूरपश्चिममा परीक्षामा सहभागी विद्यार्थी संख्या पनि कम थियो । बागमती प्रदेशको नतिजा अन्य प्रदेशको तुलनामा राम्रो देखिएको छ । नौ हजार ६३३ जना विद्यार्थीले ३.६देखि ४ जिपिए ल्याएकोमा बागमतीका मात्रै ४७.७७ प्रतिशत छन् । सबैभन्दा बढी विद्यार्थी पनि बागमती प्रदेशकै थिए । मधेश प्रदेशबाट उच्च जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या पनि १५ प्रतिशत नै रहेको छ । जुन बागमती पछिकै राम्रो हो । उच्च जिपिए ल्याउने विद्यार्र्थी प्रदेश १ बाट १२ प्रतिशत, गण्डकीबाट आठ प्रतिशत, लुम्बिनीबाट साढे १२ प्रतिशत छन् ।

नतिजा सन्तोषजनक नै मान्न सकिन्छ : बोर्ड
राष्ट्रिय परीक्षा बोर्डले एसइईको यस वर्षको नतिजा सन्तोषजनक रहेको जनाएको छ । २०७५ सालको तुलनामा २०७८ को एसइई नतिजा सन्तोषजनक नै रहेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताउनुभयो । कोभिडका बेला २०७६ र ०७७ मा भने आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरेको थियो । ‘पहिलेभन्दा नतिजा खासै फरक छैन, अघिल्लो दुई वर्ष महामारीका कारण भिन्न तरिकाले परीक्षा भयो । त्यसको तुलना हुँदैन,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘तुलनात्मक रूपमा २०७५ सालको र अहिलेको खासै फरक छैन । केही तलमाथि होला । माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्या केही घटेको छ । यद्यपि, यो नतिजा दुःख लाग्दो पनि होइन । सन्तोषजनक मान्न सकिन्छ ।’ उहाँले उत्कृष्ठ नम्बर ल्याउने विद्यार्थी सार्वजनिक गर्ने व्यवस्था नभएको बताउनुभयो । ‘९० नम्बर ल्याउने र १०० नम्बर ल्याउनेको एउटै ग्रेड हुन्छ । उत्कृष्ट नम्बर ल्याउने विद्यार्थी सार्वजनिक गर्ने व्यवस्था छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *