ज्ञानको नित्यता

प्रा. डा. कुलप्रसाद कोइराला
प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 18 mins

वेदका कतिपय कुरालाई सूक्ष्म किसिमले विचार गर्दा ज्ञान नित्य छ भन्ने कुरो प्रमाणित गर्न वैदिक ऋषिले निकै मिहिनेत गरेका रहेछन् भन्ने जानकारी पाइन्छ । सबैको मूलतत्व भनेको परात्परब्रहृम हो । यो ज्ञानस्वरूप छ यसबाट के निष्कर्षमा पुगिन्छ भने ज्ञान एउटा व्यापक एवं नित्य तत्व हो र यसको उत्पत्ति हुँदैन प्रकट हुन्छ । यद्यपि हाम्रा अनुभवमा चाहिँ ज्ञान परिवर्तनशील र क्षणिक पनि छ । कुनैबेला कुनै कुराको ज्ञान हुन्छ त एकै छिनपछि फेरि अर्कै वस्तुको ज्ञान हुन्छ । वास्तवमा क्षणक्षणमा परिवर्तनशील ज्ञान भिन्नाभिन्नै छ जस्तो पनि लाग्छ ।

अलि गम्भीर भएर शास्त्रका संकेतका आधारमा ज्ञानलाई हामी जति जति नियाल्छौँ त्यति त्यति नै यसमा दुई अंश हुँदारहेछन् भन्ने देखिन्छ । एउटा प्रकाश र अर्को प्रकाश्य । प्रकाश्य वस्तुहरू बदलिरहन्छन् । तिनलाई प्रकाशित गर्ने र तिनमा नै सूक्ष्म प्रकारले रहेको प्रकाशांश चाहिँ ज्युँकात्युँ रहेको हुँदोरहेछ । यर्थाथमा ज्ञान भनिने पनि प्रकाशांश नै हो रहेछ । प्रकाश्य त प्रकाशांशसँग आबद्ध भएर नै आउँदोरहेछ र त्यो प्रकाश चाहिँ नित्य र विभु हुँदोरहेछ ।

हामी जान्न या सिक्न जुन प्रयत्न गर्दछौँ र कुनै कुरो जान्दछौँ त्यो प्रयत्न केबल अज्ञानको निवृत्तिका निमत्तमात्रै हो । यसमा रस र बल नामका दुई तत्व वेदमा सर्वत्र आउँछन् । यसमा रस ज्ञानरूप छ भने बल चाहिँ त्यसलाई आवृत गर्ने भएको हुनाले विरोधी अर्थात् अज्ञान या आवरण शब्दबाट सम्बोधित हुने तत्व हो । त्यो अज्ञान मेटाउनकै लागि हाम्रा सारा प्रयत्न हुने गर्दछन् । अज्ञानरूप आवरण हट्नेबित्तिकै सारा विभ्रम समाप्त हुन्छन् । जस्तो हाम्रा आँखा र सूर्यका बीचमा रहेको बादल हट्नेबित्तिकै नेत्र र सूर्य प्रत्यक्षीकृत हुन्छन् । सूर्य चम्चम चम्कन्छ ।

माताको रज र पिताको शुक्र मिलेर केही गर्भाशयका ग्रन्थिमा निरुद्ध हुनुपरेका कारणबाट दुवै सड्छन् । फलमा कीरा परेजस्तै त्यहाँ पनि कृमि उत्पन्न हुन्छन् र एकले अर्कालाई खान लाग्छन् । यसरी खाँदाखाँदा एउटा कीरो यमानको हुन्छ त्यही नै मान्छे या पशुका रूपमा देखिन थाल्छ ।

कतैबाट बलात् चमक ल्याएर हामीले नेत्रको दार्शनीय तागतमा र सूर्यमा हालेको या राखेको त होइन नि । हो, यही अवस्था ज्ञानको हुन्छ । व्यापक र नित्य ज्ञानका बीचमा एउटा जुन आवरण छ त्यसलाई पन्साउना साथै ज्ञान स्वतः प्रकाशित भएर आउँछ । ज्ञानलाई कुनै सामग्रीका आधारमा उत्पन्न पनि गरिँदैन । ज्ञान नै सबै कुराको जनक हो, दोस्रो कुनै पनि सर्वजनक हुन सक्दैन । यसो भएको हुनाले श्रीमद्भगवद्गीतामा श्रीकृष्ण भन्छन्, ‘नहि ज्ञानेन सदृशं पवित्रमिह विद्यते’ ज्ञान जस्तो पवित्र वस्तु अर्को छैन ।

पौरस्त्य जगत्को चार्वाक दर्शन र आधुनिक विज्ञानविद्हरू यो कुरो मान्दैनन् । आजका विश्वमा चार्वाक र वैज्ञानिकका अगणित अनुयायी पनि रहेका देखिन्छन् । यिनीहरू नित्यज्ञानको सत्ता ज्यान गए स्वीकार गर्दैनन् । यिनीहरू नित्यज्ञानरूप ईश्वर या जीव कुनै स्वतन्त्र पदार्थ हो भन्ने नै मान्दैनन् । ज्ञान त केबल संयोगजन्य कुरो हो । मार्चाको धूलो र बासी भात या अन्य कुनै अन्न छुट्टाछुट्टै रहुन्जेल मादकता आउँछ र आउँदैन नि । यिनका मिश्रणबाट जुन उपभोग्य वस्तु बन्छ त्यो मादक पदार्थ बन्छ ।

जाँड, निगार या त्यसलाई वफ्याएर बनाएको रक्सी यी सबैमा मादकशक्ति आई नै हाल्छ । मार्चाको कुन अंशमा र भातको कुन भागमा मादकत्व छ भनेर छुट्याउन सकिन्छ र ? अथवा मोटरका बेग्लाबेग्लै सामग्रीलाई मोटरका पांग्राका वरिपरि राखेर मान्छे या कुनै वस्तुलाई बोकेर हिँड्ने शक्ति हुन्छ र ? मोटरका सबै यवयव जडान गरेपछि पनि पेट्रोल या मोबिल नहाल्ने हो भने र सुविज्ञ चालक भएन भने गाडी चल्ने र टुंगामा पुग्ने पुर्‍याउने कल्पना गर्न सकिन्छ र ? यो प्रकारको नवशक्ति पारस्पारिक सहयोगी पदार्थको संयोजनबाटै उत्पन्न हुन्छ ।

यसैगरी ज्ञान पनि एउटा संयोजक पदार्थ हो । जडचेतनको एकता बनाउनका निमित्त यहाँ जुन दृष्टान्त मैले दिएँ ती कस्ता छन् भने जसरी गोबरमा चैतन्य छैन तर त्यो गोबर कुहेपछि त्यसमा उत्पन्न हुने कीरा त प्राणी हुन् । फल, अन्न पनि त अचेतन हुन्छन् ती कुहेपछि कीरैकीरा हुन्छन् । यी उदाहरणबाट पनि ज्ञान एक प्रकारको संयोजनजन्य चिज हो भन्ने नै सिद्ध हुन्छ ।

यसरी नै माताको रज र पिताको शुक्र मिलेर केही गर्भाशयका ग्रन्थिमा निरुद्ध हुनुपरेका कारणबाट दुवै सड्छन् फलमा कीरा परेजस्तै त्यहाँ पनि कृमि उत्पन्न हुन्छन् र एकले अर्कालाई खान लाग्छन् । यसरी खाँदाखाँदा एउटा कीरो यमानको हुन्छ त्यही नै मान्छे या पशुका रूपमा देखिन थाल्छ । यसमा कुनै अतिरिक्त आत्मा या ज्ञानलाई नित्य किन मान्नु प¥यो ? जब एक एक व्यष्टि आत्मा नै सिद्ध हुँदैन भने सर्वव्यापक ईश्वरीय सत्ता किन मान्नु पर्‍यो  ? यसरी हेर्दा आत्मा या ईश्वरीय सत्ता मान्न युक्ति प्रमाणविरुद्ध रहेको देखिन्छ । यो समस्या समाधानका निमित्त वेदका सूक्ष्मतम संकेतसूत्रलाई एकत्रीकरण गरेर विचार गर्नुपर्ने देखिन्छ ।

ADVERTISEMENT

उपर्युक्त तर्कको उत्तर वैदिक तत्वविद्ले दिएका छन् । मानौँ हाम्रा अगाडि अनेकौँ मालसामान राखिएका छन् । तिनमा हामी एक, दुई, तीन या दस आदि भन्ने गर्दछौँ । यो संख्या कहाँबाट आयो ? वस्तुका साथै यदि संख्या उत्पन्न भएको हो भने ती वस्तु एक्ला एक्लै जहाँ तहाँ रहेका बेला त हामी परिगणना गर्दैनौँ । जहाँ एकाधिक एकत्र हुन्छन् त्यहीँ नै एकाधिक गणनाको आवश्यक्ता पर्दछ । जब वस्तुलाई पृथक्पृथक् रूपमा हेर्छौं हामीलाई तब त संख्या आवश्यक नै पर्दैन । यसबाट के सिद्ध हुन्छ भने यो एक, दुई, तीन, पाँच, दस, सय आदि संख्या वस्तुले उत्पादन गरेको होइन हामीमा भएको नित्यज्ञानका सत्ताले उत्पादन गरेको हो ।

यस्तै कुनै वस्तु छोटो या लामो पातलो या मोटो पनि हुँदैन । यसको उत्पादन पनि हाम्रै ज्ञानले गराउँछ । किनभने छोटो लौरालाई त्यसभन्दा छोटा लौराका सामुन्ने राख्दा स्वतः त्यो छोटो हुन्छ । मोटालाई त्यसभन्दा मोटाका अगाडि राख्दा पनि यही नै नियम लागू हुन्छ ? यसरी हेर्दा छोटो लामो या मोटो पातलो वस्तुको सत्ता होइन यो त हाम्रा ज्ञानको तुलनाको उत्पादन हो । यस्तै कुनै प्राविधिकसँग गएर केही सामान या नक्सा बनाउन अनुरोध गर्‍यौँ भने उसले त्यो हामीले भनेको वस्तु या आकार प्रकार देखेको सुनेको भोगेको भए मात्रै हुन्छ भनेर स्वीकार गर्छ अन्यथा मैले बुझिन म बनाउन सक्दिन भनेर अस्वीकार गरिदिन्छ ।

अब हामीले बुझ्नुपर्छ त्यस प्राविधिकका नित्य ज्ञान क्षेत्रमा भएका नै वस्तु या रेखा रंगलाई बाहृयाकारमा प्रकट गर्न सक्दोरहेछ । यसरी हेर्दा विज्ञानविद्ले मानेका कुरा वेदविद् मान्न तयार किन पनि हुँदैनन् भने विज्ञानविद्ले कुनै नयाँ आविष्कार गर्‍यौँ भन्लान्/भनिएला तर हिजोदेखि नै नित्यरूपमा रहेका नै कुरा उसका नित्यज्ञान क्षेत्रमा आउँछन् तिनले परिणाम देखाउँछन् । नित्य सत्ता जसको छैन त्यो कहिल्यै कतै पनि छैन हुँदैन ।
नासतो विद्यते भावो नाभावो विद्यते सतः ।
उभयोरपिदृष्टोऽन्तस्त्वनयोस्तत्वदर्शीभिः ।।
यस ब्रहृमाण्डमा नै नित्यसत्ता नभएका कुरा अस्तित्वमा आकार प्रकारमा आउँदैनन् । ज्ञान नित्यसत्ताको कुरो हो । विज्ञान पनि नित्यसत्ता कै कुरो हो तिनले गरेका सारा कुरामा ऋतको नियम अनुसारै भएका छन् । मोटा नजरले हेर्दा नदेखिनु नबुझ्नु र मैले गरेँ भन्नु चाहिँ निरा मूर्खता हो । फोटोग्राफ, फोनोग्राफ, रेडियोका यन्त्र आविष्कार गर्नेवालाका पनि पहिले नै ज्ञानसत्तामा यी कुरा नभएका भए यी वस्तुको आविष्कार गर्नसक्ने थिएनन् । पहिले बुद्धिमा कुनै वस्तुलाई ठीक ढङ्गले तयार पारेर (मानसिक तयारी गरेर) बनाएका सामान मात्रै राम्रा र उपयोगी हुन्छन् ।

यसरी हेर्दा नव आविष्कारको जनक पनि नित्यज्ञानसत्ता नै हो । कोही नभएको निर्जन स्थलमा बसेका मान्छेले आफ्ना मनमस्तिष्कका बलमा अनेकौं कुरा सिर्जना गर्दछ । यस्ता कल्पना कोही वस्तुतथ्याश्रित हुन्छन् त कुनै कपोलकल्पनाश्रित । यसलाई वैदिक भाषामा ‘मनमोदक’ या ‘मनोराज्य’ भनिन्छ भने आजभोलिका भाषामा मनका लड्डु घ्यूसित खानु भनिन्छ । थुकको डोरी बाट्नु भनिन्छ भने हिन्दीमा ‘ख्याली पुलाउ’ कल्पना या सम्झनाको पुलाउ भनेर पनि भनिन्छ । ज्ञानले नै यसरी विचार या कल्पनाको आनन्द प्रदान गर्दछ । हामी सपना देख्छौँ । शरीर ओछ्यानमा हुन्छ ।

मन मस्तिष्कले हामीलाई कहिले राजा बनाउँछन् त कहिले अनेकौं भयानक दुःखसागरमा डुबाएर हामी भयभीत हुन्छौँ । विपनामा देखेकी स्वप्नसुन्दरीसँग सपनामा नै तेरे मेरे प्यार की चर्चे हरजवान भन्ने अवस्थामा पुर्‍याउने पनि त्यही नित्यज्ञानसत्ताको काम हो । यसरी हेर्दा ज्ञानबाट अनेकौं प्रकारका जडजीव या वस्तु उत्पादन भएका अनेकौं उदाहरण प्रस्तुत गर्न सकिन्छ परन्तु ज्ञान अर्को कुनै वस्तुबाट पैदा भएको हो भन्ने सम्बन्धमा काहीँ कतै एउटा पनि उदाहरण भेटिँदैन । मैले दिएका कतिपय कृृमि आदिका जुन उदाहरण छन् तिनमा पनि फल, अन्न या गोबरबाट तिनको शरीर बनेको देखिन्छ तर ज्ञान कुनैले बनाएको भन्ने आधार त केही छैन ।

नव आविष्कारको जनक पनि नित्यज्ञानसत्ता नै हो । कोही नभएको निर्जन स्थलमा बसेका मान्छेले आफ्ना मनमस्तिष्कका बलमा अनेकौं कुरा सिर्जना गर्दछ । यस्ता कल्पना कोही वस्तुतथ्याश्रित हुन्छन् त कुनै कपोलकल्पनाश्रित ।

वेदले यसै प्रक्रियालाई (फल, गोबर, अन्न) आदिमा र हेको जुन सोमरस छ त्यो जब इन्द्रियका रूपमा परिणत हुन्छ तब ती इन्द्रियको विषयसँग सम्बन्ध भएपछि ज्ञानमा लागेको अज्ञानको आवरण हट्छ र स्वतः प्रकाश ज्ञान प्रकट हुन्छ । यसै कारणले साहित्यमा रसका सम्बन्धमा ‘स्वप्रकाशानन्दचिन्मय...’ इत्यादि भनेर परिभाषा दिइएको छ । यस प्रकारले ज्ञान उत्पादित वस्तु हो भन्ने कुनै पनि प्रमाण भेटिँदैन । जसरी हामी जरुवा पानीलाई विमल, पवित्र आफैँ उत्पन्न भएको भन्छौँ त्यसैगरी यो पनि नित्य, शाश्वत् र स्वम्भू भएको हुनाले शास्त्र भन्छ-‘नहि ज्ञानेन सदृशं पवित्रमिह विद्यते’ ।

यदि एक प्रकारको हठ गरियो र भनियो तपाईं ज्ञान नित्यसत्तात्मक भएको हुनाले ‘प्रकट’ भएको भन्नुहुन्छ भने पनि त्यसैलाई म/हामी उत्पादन भएको भन्छौँ भन्नुहुन्छ भने पनि त उत्पत्तिवादलाई परित्याग गरेर अभिव्यक्तिवाद मान्दा पनि यसका निमित्त ठोस कुनै प्रमाण त चाहिएला खोइ प्रमाण ? शास्त्रादि अवलोकन गरेर हेर्दा पनि यसलाई प्रमाणित गर्न सकिँदैन । अनि किन उत्पत्तिवाद स्वीकार्ने ? अचेलका अधिक संख्यक मान्छे मदसेवन गर्दछन् । मद पनि अनेकौं गुणस्तरका भेटिन्छन् । मदमा पनि अनेकौं पदार्थ मिसाएर जुन मादक शक्ति पैदा गराइएको हुन्छ त्यो पनि त मद्यका प्रत्येक थोप्पा थोप्पामा व्याप्त रहेको हुन्छ । यसरी हेर्दा मद्यका समुद्रदेखि मद्यका थोपा थोपामा मद व्याप्त भएको देखिन्छ ।

परिमाणको आधिक्यमा शक्तिको आधिक्यको कुरो त असान्दर्भिक मानिन्छ किनभने, ‘यथा ब्रहृमाण्डे तथा पिण्डे’ ब्रहृमाण्डमा जे छ त्यही नै साना पीण्डमा पनि हुन्छ । यसरी नै करोडौं करोड पदार्थ या धातु (रजवीर्यादि) का संयोगबाट बनेको शरीरमा सर्वत्र चेतन छ भने मान्नु पर्छ ती प्रत्येक पदार्थमा पहिलेदेखि नै रहेको नित्य-चैतन्यतत्वको समष्टि नै शरीर हो । तिनमा भएको नित्य-चैतन्यतत्व जो व्यष्टि पदार्थका संगतमा आएको थियो त्यो मूलचैतन्यमा गयो र प्राणीको मृत्यु भयो भन्ने त अनुभवसिद्ध नै छ । यदि यसो नभएको भए त मरेका मान्छेका आँखा, कान, नाक, मुख सबैले आ-आफ्नो काम गरिहाल्थे नि न्याय दर्शनको यो तर्क पनि वेदविज्ञानसम्मत रहेको देखिन्छ । बालानां स्तन्यपाने...आदि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *