अन्योलमा चुनावी गठबन्धन, पर्ख र हेरको रणनीतिमा प्रमुख राजनीतिक दलहरू

नारायण भण्डारी
नारायण भण्डारी
Read Time = 8 mins

काठमाडौं । आगामी संघ र प्रदेशको निर्वाचनमा सत्तारूढ दलहरूबीच तालमेल हुने नहुने विषय अझै पनि टुंगिन सकेको छैन । सत्तारूढ दलहरूका आ-आफ्नै स्वार्थ र चुनावपछि देखिने संसदीय गणितलाई समेत विचार गर्दै दलहरू आ-आफ्ना रणनीति बनाउन व्यस्त छन् ।

नेपाली कांग्रेसले गठबन्धन गरेर सकेसम्म बहुमत ल्याउने नत्र पहिलो पार्टी बनेर आउँदो पाँच वर्षको सत्ता आफ्नो हातमा ल्याउने दाउमा छ । सत्तारूढ दलको महत्वपूर्ण घटक माओवादी केन्द्र पनि चुनावपछि सरकार निर्माण गर्न आफ्नो निर्णायक भूमिका हुने गरी चुनावी रणनीति बनाउन खोजेको देखिन्छ । कांग्रेस र एमालेलाई एउटै-एउटै आकारमा ल्याएर सरकार बनाउन आफ्नो निर्णायक र अपरिहार्य भूमिका हुने स्थिति बनाउनेमा माओवादी केन्द्रित छ । मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच हुने भएकाले दुवै दल मिलेर सरकार बनाउने सम्भावना नगण्य जस्तै हुन्छ । त्यसैले नयाँ सरकार निर्माणका लागि एमाले र कांग्रेससँग तालमेल गरी आफ्नो निर्णायक भूमिका बनाउने माओवादीको चाहना छ । यस्तै, सत्तारूढ दलका अन्य दलहरू चाहिँ गठबन्धन गरेरै भए पनि सकेसम्म बढीभन्दा बढी सिट हात पार्ने ध्याउन्नमा लागेका छन् । सत्तारूढ दलका आ-आफ्नै महत्वाकांक्षा र स्वार्थका कारण देशैभर चुनावी तालमेलको स्थिति नदेखिने करिब पक्काजस्तै भएको छ ।

अर्कोतिर वाम गठबन्धनको चर्चा चले पनि प्रमुख शक्ति एमालेसँगको दूरी अपेक्षित ढंगले घट्न सकेको छैन । त्यसैले आगामी दिनमा के-कस्तो समीकरण बन्ने हो कुनै निश्चित हुन सकेको छैन । सबै दलहरू एक-अर्कालाई पर्ख र हेरको रणनीतिमा छन् ।

वाम गठबन्धन नभए मात्र कांग्रेससँग तालमेल : खनाल
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी चुनावका लागि आफूहरूको पहिलो प्राथमिकता वाम गठबन्धन भएको बताउनुभयो । आइतबार संसद् बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै खनालले समाजवादी केन्द्र बनाउने विषयमा छलफल भइरहेको बताउनुभयो । ‘हामी वामपन्थी र समाजवादीहरूलाई एक ठाउँमा ल्याउने क्रममा छौँ । कार्यगत एकता हुन्छ कि मोर्चा बन्छ कि,’ खनालले भन्नुभयो, ‘विभिन्न कोणबाट छलफल भइरहेका छन् । हामी टुंगोमा पुगिसकेका छैनौँ ।’ उहाँले वाम गठबन्धन नहुँदा मात्रै नेपाली कांग्रेससँग गठबन्धन गरिने बताउनुभयो । ‘पहिला पनि वाम एकता नहुँदा कांग्रेससँग मिलेको हो । अहिले पनि कांग्रेससँगको गठबन्धन हाम्रो दोस्रो प्राथमिकतामा छ,’ उहाँले बताउनुभयो । वाम गठबन्धनका लागि नेकपा (एमाले)सँग पनि कुरा भइरहेको खनालको भनाइ छ ।

समाजवादी केन्द्र बनाउने सहमति भइसकेको छ : पुन
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले मंसिरमा हुने संसदीय निर्वाचनमा देशभरि समाजवादी मोर्चाका उम्मेदवार हुने बताउनुभएको छ । आइतबार दिउँसो बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै पुनले समाजवादी केन्द्र बनाउने विषयमा सैद्धान्तिक सहमति भइसकेको बताउनुभयो । ‘माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, बाबुराम भट्टराई र वामदेव गौतमबीच समाजवादी केन्द्र बनाउने सहमति भइसकेको छ,’ पुनले भन्नुभयो, ‘चुनावमा हामी मोर्चा बनाएरै जान्छौँ । १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिने हाम्रो तयारी छ । कांग्रेससँग आवश्यकताका आधारमा केही ठाउँमा तालमेल हुन सक्छ ।’

ADVERTISEMENT

अहिले मोर्चा बने पनि कसैसँग चुनावअघि पार्टी एकता हुने सम्भावना भने नरहेको उहाँले बताउनुभयो । समाजवादी मोर्चा बनेपछि देशमा मुख्य दुई राजनीतिक शक्ति हुने पुनको दाबी छ ।

‘अब परम्परागत शक्तिको नेतृत्व कांग्रेसले गर्छ । प्रगतिशील शक्तिको नेतृत्व समाजवादी मोर्चाले गर्छ,’ पुनले भन्नुभयोे, ‘एमाले कता जाने भन्ने उसले निर्णय गर्ने कुरा हो ।’ उहाँले अहिले आफूहरूको ध्यान कांग्रेससँग गठबन्धन बलियो बनाउनेभन्दा पनि समाजवादी केन्द्र निर्माण गर्नेमै रहेको बताउनुभयो ।

गठबन्धन आवश्यक छ, शंका गर्नुपर्दैन : विश्वकर्मा
सत्तारूढ नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले सत्तारूढ दलहरूको नेपाली कांग्रेससँग दूरी नबढेको बताउनुभएको छ । आइतबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सचेतक विश्वकर्माले सत्तारूढ दलहरूको नेपाली कांग्रेससँग दूरी बढ्ने परिस्थिति नबनेको स्पष्ट पार्नुभयो । उहाँले पाँच दलीय गठबन्धनबाट परिणाम उपलब्धिमूलक भएको प्रतिवेदनसमेत सार्वजनिक भइसकेको उल्लेख गर्दै गठबन्धन टुट्छ कि भनेर चिन्ता गर्नुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो ।

सचेतक विश्वकर्माले सिट संख्याको कारणले अथवा निर्वाचन क्षेत्र छनोटको कारणले गठबन्धन नभत्किने उहाँले विश्वास व्यक्त गर्नुभयो । ‘कांग्रेससँग दूरी बढेको भन्ने सवालमा त्यस्तो खालको परिस्थिति अहिले बनेको छैन । हामीले पनि गठबन्धन आवश्यक छ भन्यौँ । माओवादी केन्द्रले पनि गठबन्धन आवश्यक छ भन्यो । र, विगतमा गरेको गठबन्धनबाट हामीलाई उपलब्धि प्राप्त भएको छ परिणाम पनि भनेर प्रतिवेदन पनि सन्तोषजनक आएको हुनाले अहिले यतातर्फ शंका गर्नुपर्ने, डराउनुपर्ने, चिन्ता गर्नुपर्ने अवस्था अहिलेको अवस्थामा छैन’, उहाँले भन्नुभयो, ‘सिट संख्याकै कारणले अथवा निर्वाचन क्षेत्र छनोटकै कारणले गठबन्धनमा दरार पनि पैदा हुँदैन र गठबन्धन भत्किँदैन पनि ।’ उहाँले सत्तारूढ घटकले समाजवादी केन्द्र बनाएमा राम्रो हुने टिप्पणी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *