नेपालीसँग विवाह गर्ने विदेशी महिलाले विवाहलगत्तै नागरिकता पाउने

डिबी शर्मा
डिबी शर्मा
Read Time = 13 mins

काठमाडौं । प्रतिनिधिसभाबाट ‘नेपाल नागरिकता(पहिलो संशोधन) विधेयक २०७९’ पारित भएको छ । प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूले पेश गरेका संशोधनलाई अस्वीकृत गर्दै नेपालको संविधान २०७२ जारी भएको सात वर्षपछि सरकारले पेश गरेको विधेयक प्रतिनिधिसभाले पारित गरेको हो । नयाँ विधेयकमा नेपाल नागरिकता ऐन २०६३ कै केही प्रावधानमा संशोधन गरिएको छ । प्रतिनिधिसभाबाट विधेयकमा नेपाली नागरिकसँग विदेशी महिलाले विवाह गरेमा नागरिकता पाउने पुरानै व्यवस्थालाई यथावत् राखिएको छ ।

यसैगरी, पारित विधेयकले २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता लिएका नागरिकका सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेको अवस्थामा वंशजको आधारमा नागरिकता पाउने भएका छन् । यो प्रावधान पारित भएपछि अब अनौपचारिक रूपमा आएको आँकडाअनुसार करिब सात लाख व्यक्तिले नेपालको नागरिकता पाउनेछन् । नागरिकता नपाउँदा उनीहरूले बैंकमा खाता खोल्न, उच्च शिक्षा अध्ययनका लागि विदेश जान, सरकारी तथा गैरसरकारी क्षेत्रमा जागिर गर्न पाएका थिएनन् ।

पारित विधेयकले नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता पाउनेछ । त्यस्तै, नेपाली महिला नागरिकबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने पनि उनीहरूले वंशजको नागरिकता पाउनेछन् ।

नाागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी थिए । प्रमुख प्रतिपक्षी नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी भने विधेयकको विपक्षमा रहे । नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन नहुने भन्दै उनीहरू विधेयकको विपक्षमा उभिएका हुन् । पारित हुनुअघि विधेयकमा दिनभरजसो छलफल भएको थियो ।

नागरिकता विधेयकमाथि ४५ जना सांसदले संशोधन प्रस्ताव गरेका थिए । विधेयकमाथिको दफाबार छलफलपछि सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा सत्तापक्षका सांसदहरूले आफ्नो प्रस्ताव फिर्ता लिएका थिए । सांसदहरूले राखेका कतिपय संशोधन सम्बोधन गरिए पनि प्रमुख प्रतिपक्षी एमालेले राखेको वैवाहिक अंगीकृत नागरिकताका लागि सात वर्षको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको हो । अब यो विधेयक राष्ट्रियसभामा पठाइनेछ र त्यहाँबाट पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यसले कानुनी स्वरूप लिनेछ ।

यस्ता छन् मुख्य विशेषता
विधेयकमा केही व्यवस्था थप गरिएका छन् । अहिलेको विधेयकले मूल ऐनको दफा ३ मा संशोधन गर्दै केही उपदफाहरू समेत थपेको छ । बाबु वा आमा पत्ता लागेमा वंशज नागरिकताको विवरण अद्यावधिक गरिने विधेयकमा थप गरिएको छ । नेपालभित्र फेला परेको व्यक्तिको हकमा बाल मन्दिर र अनाथलयमा हुर्केको भए स्थानीय तहबाट प्राप्त हुने सिफारिसका आधारमा पनि नागरिकता दिइने विधेयकमा थप गरिएको छ ।

नागरिकता ऐनको दफा ३ को उपदफा ३ मा सामान्य संशोधन गर्दै उपदफा (४), (५), (६) र (७) थपिएका छन् । संशोधनपछि उपदफा ३ मा भनिएको छ, ‘नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएका प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मानिनेछ ।’

उपदफा ३ थपिएको ४ मा अंगीकृत नागरिकका सन्तानलाई संविधानअनुसार ‘वंशज’ दिनेबारे उल्लेख छ । संशोधनका लागि पेश विधेयकमा उपदफा ४ थप्दै भनिएको छ, ‘२०७२ साल असोज ३ गतेभन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पुगेका नागरिकले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।’

ADVERTISEMENT

यसैगरी, उपदफा ५ मा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ ।

यसैगरी, उपदफा ६ मा विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकका सन्तानका विषयमा स्पष्ट पारिएको छ । भनिएको छ, ‘उपदफा २ मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मिएको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।’

यसैगरी, उपदफा ७ मा उपदफा ५ अनुसार बाबु पत्ता नलागेको नेपाली आमाबाट जन्मेको सन्तानले वंशजको नागरिकता पाएकोमा विदेशी ठहरिए अंगीकृत हुने भनिएको छ । ‘उपदफा (५) बमोजिम नागरिकता प्राप्त गरेका कुनै व्यक्तिको बाबु विदेशी रहेको ठहरेमा त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता कायम रहने छैन र निजले बाबुको नागरिकताको आधारमा विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको भनी तोकिएबमोजिम स्वघोषणा गरी वंशजको आधारमा प्राप्त गरेको नागरिकताको प्रमाणपत्र बुझाएमा अंगीकृत नागरिकता प्राप्त गर्नेछ,’ उक्त विषयमा भनिएको छ ।

यसैगरी, मूल ऐनमा दफा ७ क थप गरिएको छ । जहाँ गैरआवासीय नेपाली नागरिकले नागरिकता पाउने विषयमा उल्लेख छ । भनिएको छ, ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको र साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ ।’

गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले सम्बन्धित अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ । निवेदन दिँदा निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साबिकमा नेपालको नागरिक रहेको प्रमाण, सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण र नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धतापत्र संलग्न गर्नुपर्नेछ ।
साबिकमा नेपालको नागरिकता लिई नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले गैरआवासीय नेपाली नागरिकताका लागि निवेदन दिँदा निजले पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्रसमेत पेश गर्नु पर्नेछ । निवेदन प्राप्त भएपछि मन्त्रालयले आवश्यक सबुद प्रमाण बुझी उक्त व्यक्तिलाई तोकिएबमोजिम गैरआवासीय नेपाली नागरिकता दिनेछ ।

गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिलाई तोकिएबमोजिम शपथ गराउनुपर्ने छ । गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले झुट्टो विवरण दिई त्यस्तो नागरिकता प्राप्त गरेमा वा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्र हितविपरीत कार्य गरेको ठहरेमा नेपाल सरकारले त्यस्तो व्यक्तिले प्राप्त गरेको गैरआवासीय नेपाली नागरिकता रद्द गर्ने प्रावधान छ । त्यस्तै, यसरी नागरिकता लिने गैरआवासीय नेपालीहरूको हकमा काठमाडौं वा सम्बन्धित जिल्लामा गएर लिन सकिने व्यवस्था विधेयकमा राखिएको छ ।

वैवाहिक अंगीकृतमा हदम्याद राखिएन
नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गर्ने विदेशी महिलाले अब विवाह दर्तापछि नागरिकता प्राप्त गर्ने भएका छन् । नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले विवाह दर्ता गरेपछि नागरिकता लिने प्रक्रिया सुरु गर्न सक्ने व्यवस्था विधेयकले गरेको छ । नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष निवेदन दिनुपर्ने विधेयकमा उल्लेख छ । निवेदन दिँदा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आफूले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेश गर्नुपर्ने छ ।

सरकारले ०७५ मा ल्याएको अघिल्लो विधेयकमा ‘विवाह गरेर नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोबास गरेको हुनुपर्नेे’ प्रावधान पारित गरेको थियो । तत्कालीन नेकपाले सात वर्षको प्रावधानमा जोडबल गरेको थियो । त्यही दलबाट अहिले छिन्नभिन्न भएर छुट्टै दलको रूपमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्ने हदम्यादबारे मौन बसे । उनीहरूले कुनै संशोधन हालेनन् । सरकारले ल्याएको विधेयकमा उनीहरूले समर्थन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *