लोकप्रिय बन्दै अरिङ्गालका परिकार: देशका ठूला सहरमा माग बढी

Read Time = 7 mins

-ध्रुवसागर शर्मा
म्याग्दी । नाम सुन्दै डर लाग्ने अरिङ्गालको स्वादिष्ट परिकार चाख्नुभएको छ ? यदी छैन भने म्याग्दीमा आउनुहोस् तपाइँ अरिगांलको परिकार खाएर मुख मिठ्याउँदै फर्किनुहुनेछ ।

अरिङ्गाल मौरी प्रजातीको एक किट हो । यसले चिल्यो (टोक्यो) भने ज्यानैसम्म पनि जान सक्छ । तर, म्याग्दीमा भने यस्तो खतरनाक अरिङ्गालको परिकार खानेहरु चार दिन पहिले नै फोन गरेर अरिङ्गालको परिकार पाइने म्याग्दीको सदरमुकाम बेनीको एउटा रेष्टुरेन्टमा अर्डर गर्छन र एक प्लेट फ्राइ अरिङ्गालको लार्भालाई रु ५ सय तिरेर खाने गर्छन् ।

अहिले वर्खाको सिजन छ । यही सिजनमा जंगल तथा ग्रामीण क्षेत्रका अग्ला रुखमा अरिंगालले गोला बनाउने गर्दछ । असारदेखि असोजसम्म म्याग्दीका ग्रामीण क्षेत्रहरुमा अरिङ्गालको गोला खोज्दै शिकारीहरु रुखका टुप्पा टुप्पासम्म पुग्ने गर्छन् ।
ज्यानकै जोखिम मोलेर अरिङ्गालको गोला पोलिसकेपछि काटेर त्यसबाट लार्भा (किरा)हरु निकाल्छन् र सदरमुकाम बेनीको बिरेन्द्रचोक स्थित होटल रोजिनाकी संचालिका सृजना भट्टचनकोमा लगेर बेच्ने गर्छन् ।

सृजनालाई ग्राहाकहरुले वास्तविक नामले भन्दा ‘अरिङ्गालवाली’को उपनामले बढी चिन्ने गर्दछन् । तीन दशक भन्दा बढी समयदेखि होटल व्यवसाय संचालन गर्दै आउनुभएकी सृजनाले अरिङ्गालको व्यापार गर्ने भएकीले उहाँलाई ग्राहाकहरुले ‘अरिङ्गालवाली’को नाम दिएका हुन् ।
होटल रोजिनामा अरु पनि स्थानीय र विदेशी परिकार समेत पाइन्छ । तर ग्राहाकको रोजाइमा भने अरिङ्गालको परिकार नै पर्ने गरेको उहाँ बताउनुहुन्छ । अरिङ्गालको ब्यापार फष्टाउँदै गएपछि खोजी खोजी अरिगांल खरिद गरेर परिकार बनाइ विक्रि गर्ने गरेको उहाँले बताउनुभयो । “अब त नाम नै अरिङ्गालवाली भयो, ग्राहकहरुले अरिङ्गालको परिकार खाए पछि सामाजिक संजालमा फोटो पोष्ट गर्दै मलाई अरिङ्गालवालीको उपनाम दिने गरेका छन्” उहाँले भन्नुभयो ।

उहाँको अरिगांल व्यापार बेनीमा मात्रै सीमित छैन । “काठमाण्डौं, पोखराबाट समेत माग आउन थालेपछि परिकार बनाइ प्याकिङ गरेर पठाउने गर्दछु” सृजनाले भन्नुभयो । काठमाण्डौ, पोखराका अरिङ्गालको परिकारका पारखीहरुबिच ‘अरिङ्गालवालीको परिकार’ टे«डमार्क नै बनेको छ ।
सृजनाले फ्राइ अरिंगाल प्रतिप्लेट रु ५ सयमा विक्रि गर्ने गर्नुभएको छ । यही परिकारबाट सिजनमा ४ देखि ६लाख रुपैयाँसम्म कमाइहुने उहाँ बताउनुहुन्छ । अरिगांलको परिकार खोज्दै ग्राहाकहरु सृजनाको होटलमा नै आउने गरेका छन् ।

सृजनाले अरिङ्गालको लार्भा एक मानाको रु १६ सयदेखि २ हजारसम्ममा खरिद गर्नुहुन्छ । यसरी खरिद गरेको काँचो अरिगांललाई फ्राइ गरेर उहाँले विक्रि गर्नुहुन्छ । अहिले भर्खरै अरिंगालको सिजन सुरु भएकाले अरिगंल पाउन निकै मुस्किल हुने उहाँले बताउनुभयो ।

ADVERTISEMENT

अरिङ्गालको गोलो नै २ देखि ३ हजार रुपैयासम्ममामा खरिद गर्ने गरेको उहाँको भनाइ छ । “काठमाण्डौं, पोखराबाट समेत अर्डर आउन सुरु भएको छ,यहीँकालाई त पुर्याउन सकिएको छैन” उहाँले भन्नुभयो । अरिंगालको परिकार शक्तिवर्धक र स्वादिलो हुने भएकाले यसको उच्च माग रहेको उहाँले बताउनु भयो । अहिले भर्खरै सिजन सुरु भएको र अरिगंल पाइन मुस्किल पर्ने भएकाले १० देखि १५ प्लेटसम्म विक्रि गर्न सकिएको बताउँदै सृजनाले भन्नुभयो “साउनको मध्यदेखि असोजको अन्तिमसम्म दैनिक ५० प्लेटसम्म विक्रि हुन्छ ।”

अरिंगालको गोलोलाई निकै जोखिम मोलेर पोल्नुपर्ने भएकाले पनि शिकारीले आधुनिक औजार सहति विभिन्न घरेलु उपकरणको प्रयोग गर्दै आएका छन् । सृजनाले काँचो अरिंगाल र फ्राइ दुई थरी विक्रि गर्दै आउनुभएको छ । युरिकएसिड, नशा, बाथ लगायतका रोगहरु अरिंगालका लाभ्रा सेवनले निको हुने विश्वास गरिन्छ । विशेष गरेर लार्भा र उड्न नसक्ने अरिंगाललाई खाने गरिन्छ ।

यहाँका युवाहरुले अरिंगाल पोलेर त्यसलाई विक्रिगरी मनग्गे आम्दानी समेत गर्दै आएका छन् । युवाहरुले भिरमह शिकार जस्तै अरिंगाल शिकारलाई पनि सरकारले लाइसेन्स दिनु पर्ने माग गरेका छन् । सामुदायिक वन तथा व्यक्तिगत जग्गामा रहेको रुखहरुबाट अरिंगालको शिकार गर्न पाइने वा नपाइने भन्ने बारेमा बन डिभिजन कार्यालय म्याग्दी समेत प्रष्ट नियम नभएको बताउँछ ।

सृजनाले ५ वर्ष अघिदेखि अरिंगालको व्यापार गर्दै आउनुभएको हो । गलेश्वर चमेरेमा अरिङ्गालको ब्यापार देखेपछि उनमा अरिंगालको व्यापार गर्ने सोच आएको उहाँ बताउनुहुन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज