बिहे गर्न जान लागेको छोरालाई आमाले साँच्चै स्तनपान गराउँछन् ? कहाँ छ यस्तो चलन ?

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 7 mins
  • प्रकाश पन्त/सुर्खेत

कर्णालीका कैयौँ गाउँबस्तीमा विवाहको दिन दुलही लिन जानुअघि दुलहालाई उनकी आमाले ूस्तनपानू गराउने र छोराले आमालाई कोसेली दिने चलन अहिले पनि कायम छ।

आफ्नै आमा नभएका दुलहालाई पनि काकी, सानीमा वा ठूलीआमाले विधि र्पुयाउनै भए पनि स्तनपान गराउँछन्।
मागीविवाह गर्दा मात्र दुलहाले स्तन चुसेर आमालाई चामलबाट बनेको लड्डु र अर्सा रोटीलाई भोर्लाको पातको पोकाभित्र राखेर कोसेली दिन्छन्।

छोरा जति नै उमेरको भए पनि विवाहमा अनिवार्य रूपमा स्तन चुसाउने र  दूध कोसेली दिने चलन रहेको मानिसहरू बताउँछन्।

कर्णाली प्रदेशका दैलेख, पश्चिम सुर्खेत, जुम्ला, कालीकोटका साथै सुदूरपश्चिम प्रदेशका अछाम, डोटीसहितका जिल्लामा यो चलन वर्षौँदेखि चल्दै आएको बताइन्छ।

आमालाई दूध कोसेली
स्थानीय बासिन्दाका अनुसार स्तन चुसेर आमालाई दिने कोसेलीलाई दूध कोसेली भनिन्छ।

दुलहालाई काँधमा बसालेर अग्लो ठाउँमा उभिएकी आमाले स्तन चुसाउने गर्छन्।
दुलहा छोरालाई स्तन चुसाउँदै गर्दा आमाले दाम्पत्य जीवन सफल होओस्, सधैँ सुखी र खुसी रहनूू भन्दै आर्शीवाद दिन्छिन्।

स्तन चुसाउने बेला कपडाले दुलहाको अनुहार छोपिएको हुन्छ। स्तन चुसिसकेपछि काँधबाट नझरेरै दुलही लिन दुलहा जान्छन्।

जन्ती र डोलीसहित दुलही ल्याउन दुलहा हिँडेपछि आमा, दिदीबहिनी, देउरानी, जेठानी र छिमेकी महिलाले कोसेली बाँडेर खाने र रत्यौली खेल्ने चलन रहेको छ।

छोरीलाई भने स्तन चुसाएर बिदा गर्ने चलन छैन। साथै यो एक पटक मात्र गरिन्छ।

मागीविवाहको हकमा मात्र यो चलन रहेको छ। भगाएर विवाह गर्नेलाई आमाको स्तनपान गराउने चलन हुँदैन।

दूध खुवाएको सम्झना
दूध खुवाउने चलनलाई एकथरीले आमाबाट छोरा टाढिएको सङ्केतको रूपमा लिने गर्छन् भने अर्कोथरी आमा र छोराबीच अझ प्रगाढ सम्बन्ध स्थापित हुने विश्वास गर्छन्।

दैलेख चामुण्डा विद्रासैनीकी ६१ वर्षीया कृष्णकला बिष्ट वयस्क भइसकेका छोरालाई फेरि स्तनपान गराउँदा सानो छँदा दूध खुवाएको सम्झना आउने बताउँछिन्।

बीबीसीसँग उनले भनिन्, 'विवाहको दिन स्तन चुसाउँदै गर्दा छोरा सानै छ, आफ्नै काखमा छ जस्तो लाग्दो रहेछ। तर स्तन चुसाएर बिदाइ गरेपछि भने आफ्नो काखबाट सधैँका लागि टाढिएको अनुभूति हुँदो रहेछ।'

कस्तो अनुभूति हुन्छ
दूध खुवाएर बिदाइ गर्दा कतिपय आमाहरू नरमाइलो अनुभूति गरेर भक्कानिएर रुने गर्छन्।

आफ्नो काखमा राखेको छोरालाई अर्काको जिम्मा लगाउँदा धेरै नै पीर पर्ने उनीहरू बताउँछन्।

ADVERTISEMENT

सुर्खेतकी ७९ वर्षीया भुवनसरी शाही भन्छिन्, 'विवाहका बेला अन्तिम पटक स्तन चुसाउँदै गर्दा आफ्नै काख र अधीनमा रहेको छोरा अर्काको भयो भनेर नरमाइलो लाग्छ।'

स्थानीयवासीका अनुसार पहिला कम उमेरमै छोराछोरीको विवाह गरिदिने चलन हुँदा आमाले अबदेखि आफ्नो काख छुट्यो भन्दै विवाहको दिन अन्तिम पटक दूध खुवाउने गर्थे।

दैलेखका जङ्गबहादुर बिष्ट भन्छन्, 'मैले १४ वर्षको उमेरमा विवाह गर्दा आमाको स्तन चुसेर दूध कोसेली दिएको थिएँ। आमाको स्तन चुस्दा लाज लाग्दैन, बरु सानो छँदाको याद आउँछ। रमाइलो अनुभूति हुन्छ।'

कतिपय ठाउँमा पातलो टालोले छेकेर त कतिपय ठाउँमा टालो नराखेर नै दुलहालाई आमाको स्तनपान गराउने चलन छ।

निरन्तरता पाउने विश्वास
कतिपय गाउँमा भने व्रतबन्धमा पनि आमाले छोरालाई स्तन चुसाउँछन्।

यद्यपि यो प्रचलनमा केही कमी आएको जस्तो देखिए पनि परम्पराको निरन्तरता आवश्यक रहेको गाउँलेहरू बताउँछन्।

पुर्खादेखि चल्दै आएको संस्कारलाई आफूहरूले जस्तै भावी पुस्ताले पनि निरन्तरता दिने विश्वासमा उनीहरू छन्।
समाजले सहज रूपमा लिँदै आएकोले पनि यो चलनले निरन्तरता पाइरहेको पश्चिम सुर्खेतका गङ्गाराम कार्की ठान्छन्।

दूधको भारा तिर्नू भन्दै कतिपयले आमालाई कोसेलीका साथै गरगहना र लत्ताकपडा पनि दिन्छन्।

कतिपय ठाउँमा आमाले छोरालाई जग्गाजमिन, पशुचौपाया र भाँडाकुँडा दिएको घोषणा गर्छन्। पछि घरबाट अलग हुँदा त्यो सम्पत्ति छोराकै अंश हुन्छ।

संस्कृतिविद् के भन्छन्
पहिला बालविवाह प्रचलनमा हुँदा आमाले छोरालाई स्तनपान गरेर बिहे गर्न पठाउने गरेको हुनसक्ने भन्दै त्यही कुरा अहिले परम्पराका रूपमा साङ्केतिक रूपमा रहेको हुनसक्ने कतिपय बुद्धिजीवीको धारणा छ।

तर परम्पराका नाममा सबै कुरालाई निरन्तरता दिन नहुने तर्क पनि केहीको छ।

विवाह गर्न जाने वयस्क छोरालाई आमाले स्तनपान गराउँदा नकारात्मक सन्देश पनि जान सक्ने भएकोले त्यसलाई छोड्नुपर्ने संस्कृतिविद् जगमान गुरुङ बताउँछन्।

'दहीको सगुन खुवाउने चलन भने छ, बरु दहीको सगुन खुवाएर पठाउनुपर्छ। स्तन चुसाउनु हुँदैन,' बीबीसीसँग उनले भने।

  • बीबीसी नेपालीबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज