नेपालगञ्जमा ई–रिक्सा व्यवस्थापन गर्दै उपमहानगरपालिका

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रमा सञ्चालित ई–रिक्सालाई व्यवस्थित गर्ने भएको छ । ई–रिक्सा व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरी यही साउन १५ गतेभित्र सबै ई–रिक्साहरूलाई सूचीकृत गर्ने निर्णय गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले बताउनुभयो ।

उहाँका अनुसार, नगरमा सञ्चालित ई–रिक्साको रेकर्ड राखेर नियमन गर्ने, जथाभावी गरिने पार्किङलाई व्यवस्थित बनाउने, उचित भाडादर कायम गरी कार्यान्वयन गर्ने, रुट छुट्याउने लगायतका विषयमा छलफल भएको छ ।

नागरिकले दुःख नपाउने गरी ई–रिक्साको उचित व्यवस्थापन गर्न सबै सरोकारवालाहरू गम्भीर बन्नुपर्ने बताउँदै नगर प्रमुख बिष्टले नेपालगञ्ज उपमहानगरपालिका एक्लैले ई–रिक्सा व्यवस्थापन गर्न सम्भव नभएकाले यसमा सबै सरोकारवालाहरूको भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो ।

ADVERTISEMENT

ई–रिक्सा व्यवस्थापन नगरको प्रमुख समस्याका रूपमा रहेकाले यसको उचित व्यवस्थापनका लागि सबैको हातेमालो जरुरी रहेको नगर उपप्रमुख कमरुद्दिन राईले बताउनुभयो । ई–रिक्सा नगरको ठूलो समस्याका रूपमा रहेकाले निश्चित पार्किङ क्षेत्र तोकेर कतिपय व्यस्त ठाउँमा निश्चित समयका लागि चारपांग्रे र तीनपांग्रे साधनलाई निषेध वा एकतर्फी सञ्चालन गर्नुपर्ने प्रस्ताव पेस गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताउनुभयो ।

उहाँले ट्राफिक व्यवस्थापनका लागि उपमहानगरपालिकसमक्ष लिखित प्रस्तावसमेत पेस गर्नुभएको छ । अव्यवस्थित ई–रिक्साका कारण नेपालगञ्जमा ट्राफिक जाम हुनाका साथै सडक दुर्घटनासमेत बढ्दै गएको ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक शाहले बताउनुभयो ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?