आधार व्याजदर अझै बढ्नेछ : गभर्नर

Read Time = 4 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक वित्तीय संस्थाको आधार व्याजदर अझै बढ्ने बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमा सुझाव संकलनका लागि राष्ट्र बैंकद्वारा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले आगामी दिनमा आधार व्याजदर अझै बढ्ने अवस्था रहेको बताउनुभएको हो । उच्च आयातका कारण बैंकिङ प्रणालीमा तरलता अभाव समस्या देखिएको भन्दै उहाँले बैंकिङ क्षेत्रमा तरलता अभाव भएसँगै माग र आपूर्तिको सिद्धान्तअनुसार बढ्दै जाने बताउनुभयो ।

चालु आर्थिक वर्ष सुरु भएयता करिब एक खर्ब रुपैयाँ पैसा बाहिर गएको जानकारी गराउँदै गभर्नर अधिकारीले बैंकहरूले राष्ट्र बैंकबाट डलर साट्ने भएकाले स्वदेशी मुद्रा केन्द्रीय बैंकमा र डलर बाहिर जाँदा वित्तीय प्रणालीमा तरलता अभावको समस्या आएको बताउनुभयो ।

आगामी आर्थिक वर्षको मौद्रिक नीति अर्थतन्त्रलाई ध्यान राखेर आउने उहाँले बताउनुभयो । राष्ट्र बैंकले हरेक व्यक्तिको कर्जा हेर्नेभन्दा पनि नीतिगत व्यवस्था गर्ने भएकाले उहाँले मौद्रिक नीति कार्यान्वयन पक्षले पनि धेरै महत्व राख्ने भन्दै अर्थतन्त्र ट्र्याकमा ल्याउने गरी नीति निर्माणको सुझाव आएको बताउनुभयो ।

ADVERTISEMENT

वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन गोल्यानले महिलाका नाममा २५ लाखसम्मको निक्षेपमा स्रोत नखोज्ने व्यवस्था गर्न सुझाव दिनुभयो । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् महिलाको नाममा राखिने २५ लाख रुपैयाँसम्मको निक्षेपमा स्रोत नखोज्न पनि उहाँले गभर्नरको ध्यानाकर्षण गराउनुभयो ।

प्रत्युत्तरमा गभर्नर अधिकारीले वित्तीय जानकारी इकाईबाट हालसम्म एउटा पनि कारबाही नभएको जानकारी गराउँदै स्रोत भने खोजिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘निक्षेप राख्न पाइँदैन भन्ने सन्दर्भमा दुविधा हुनुपर्ने छैन तर गैरकानुनी पैसा चलाउँछु भन्ने सोच्नुभएन, दुई नम्बरी सोच नराखौँ ।’

गोल्यानले भने गाउँघरका सर्वसाधारणमा बैंक तथा वित्तीय संस्थामा १० लाखभन्दा धेरैको निक्षेप राख्न नपाउने बुझाइका कारण गाउँघरमा जग्गा बिक्री गरेर भएको आम्दानीसमेत बैंक वित्तीय संस्थामा निक्षेपका रूपमा नआएको जिकिर गर्नुभयो । तर, गभर्नर अधिकारीले व्यापार, व्यवसाय तथा रोजगारीबाट भएको आम्दानी बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्न समस्या नभएको भन्दै उपयुक्त कारण देखाई बैंक वित्तीय संस्थामा जम्मा हुने पैसामा कुनै किसिमको समस्या नरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?