एकता राष्ट्रिय अभियानको दोस्रो भेला, वामदेवको निष्कर्ष : कम्युनिष्ट जोगाउन एकता अपरिहार्य

Read Time = 6 mins

डिबी शर्मा/हिटा
काठमाडौं । नेकपा एकता अभियानमा लाग्नुभएका नेता वामदेव गौतमले कम्युनिष्ट पार्टीलाई जोगाउनका लागि एकता अपरिहार्य रहेको बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित एकता राष्ट्रिय अभियानको दोस्रो भेलामा गौतमले कम्युनिष्टलाई जोगाउन एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुनुपर्ने बताउनुभएको हो ।

अहिले कम्युनिष्ट पार्टीलाई एकतामा ल्याउन मध्यस्थकर्ताको आवश्यकता रहेकाले आफूले नै उक्त भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ । उहाँले एकताका लागि आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताउनुभयो । ‘एकतामा ल्याउन एउटा माध्यमको खाँचो छ । त्यो को त ? मैले सोचेँ म त्यो जिम्मेवारी लिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि म जुनसुकै त्याग गर्न पनि तयार छु ।’

गौतमले अझै पनि नेपालमा कम्युनिष्ट पार्टीहरूको एकता सम्भव रहेको बताउनुभयो । दोस्रो बैठकमा उहाँले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा फेरि एमाले माओवादी र नेकपा एकीकृत समाजवादी एक हुनुपर्ने औँल्याउनुभएको हो ।

विभाजित नेकपालाई पुनः एकताबद्ध बनाउने र अन्य सबै कम्युनिष्ट तथा समाजवादी पार्टीहरूलाई पनि एकताबद्ध बनाउने प्रतिवेदनमा उल्लेख छ । पार्टी एकता संयोजन समिति निर्माण गर्ने र त्यही समितिले एमाले, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्रसँग पार्टी एकताको लागि वार्ता सुरु गर्ने उहाँले बताउनुभयो । त्यस्तै, जसपा र राष्ट्रिय जनमोर्चासँग पनि वार्ता गरिने प्रतिवेदनमा उल्लेख छ । नेकपाको पुनः एकीकरण गर्न २०७५ जेठ २ गते नेकपा एमाले र माओवादी केन्द्रका बीचमा गरिएका सहमति र समझदारीका सर्तहरूलाई केही संशोधन गरी अगाडि बढाउन उपयुक्त हुने उहाँको भनाइ छ ।

ADVERTISEMENT

नेकपा विभाजन ऐतिहासिक भूल
गौतमले नेकपा विभाजन हुनु ऐतिहासिक भूल भएको बताउनुभएको छ । तत्कालीन नेकपा सचिवालयका नौजना पार्टी विभाजनका मुख्य कारक रहेको उहाँको ठहर छ । उहाँले यसअघि नेकपामा प्रचण्डले केपी ओलीमाथि लगाएको आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको जिकिर गर्नुभएको छ । ‘धेरैजसोले वामदेवकै कारणले पार्टी विभाजन भयो भने । मैले पनि गल्ती गरेकै हो,’ उहाँले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ, ‘मैले यो वा त्यो समूहमा नलागीकन बीचमा बसेर त्यहाँभित्र प्रयत्न गरेको भए पार्टी फुट्ने थिएन । म मात्रै होइन, पार्टी फुटबाट बचाउन सचिवालयका नौजना सदस्यहरू उत्तिकै जिम्मेवार हुनुहुन्छ । माधव, झलनाथ, केपी ओलीले नै गर्न सक्नुहुन्थ्यो, ईश्वर, विष्णु पौडेल, नारायणकाजीले गर्न सक्नुहुन्थ्यो ।’

ओली प्रधानमन्त्री छोड्न तयार हुनुहुन्थ्यो, प्रचण्डले संगीन आरोप फिर्ता लिन मान्नुभएन
गौतमले तत्कालीन अध्यक्ष दाहालले ओलीप्रति लगाएका आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको तर्क गर्नुभयो । उहाँले ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये प्रधानमन्त्री पद छोड्न तयार भइसकेको अवस्थामा पनि प्रचण्डले ओलीमाथि लगाएका आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको बताउनुभयो । ‘२०७७ साल पुस ४ गते कमरेड प्रचण्ड र केपी ओलीको बीचमा वार्ता भइरहेको बेला मलाई पनि बोलाउनुभएको थियो । त्यहाँ कमरेड केपी ओलीले पार्टी एकताको निम्ति म के त्याग गर्नुपर्छ ? म तयार छु भन्नुभएको थियो । म प्रधानमन्त्री छोड्न तयार छु । मैले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्नुभएको थियो,’ गौतमले भन्नुभयो, ‘ममाथि लगाइएका संगीन आरोप फिर्ता लिनुपर्छ भन्नुभएको थियो । प्रधानमन्त्री फेर्ने कुरामा सहमत नै हुनुहुन्थ्यो प्रचण्ड । तर, आरोप फिर्ता नलिने अडान गर्नुभयो र मान्नुभएन ।’

गौतमले स्थानीय निर्वाचनको नतिजालाई हेर्दा नेपाली कांग्रेस आउँदो निर्वाचनमा पनि पहिलो पार्टी बन्ने देखिएको बताउनुभयो । कांग्रेसलाई नेतृत्व सुम्पिँदा एमसिसी जस्ता कुराले स्थान पाउने भन्दै कम्युनिष्टहरू मिलेर कांग्रेसलाई सँगै लैजानुपर्ने बताउनुभयो । कांग्रेसको नेतृत्वमा सरकार बन्न दिनु नहुने उहाँको भनाइ थियो । कांग्रेसको नेतृत्वमा देश विकास हुन नसक्ने उहाँले दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?