मुलुकमा आर्थिक मन्दी, घरजग्गा कारोबार भने बढ्दो

लेखनाथ पोखरेल
लेखनाथ पोखरेल
Read Time = 8 mins

काठमाडौं ।  मुलुक आर्थिक मन्दीबीच गु्ज्रिरहँदा घरजग्गामा भने मन्दीको असर देखिएको छैन । बरु भाउ अस्वाभाविक रूपमा बढेर गएको छ, पाँच महिनाअघि प्रतिआनामा १५ लाख रुपैयाँको जग्गा पाँच महिनापछि बढेर प्रतिआनामा बिस लाख रुपैयाँसम्म पुगेको छ । भाउ बढेर गए पनि कारोबारमा कमी आएको छैन । तरलता अभाव भन्दै बैंक तथा वित्तीय संस्थाहरूले घरजग्गाको कर्जा प्रवाहमा कडाइ गरेका छन् भने विदेशमा आउने रेमिट्यान्स पनि बढ्न सकेको छैन । तर, पनि करोडौँ मूल्य पर्ने घरजग्गा किन्ने पैसा कहाँबाट आइरहेको छ त ? कि नीतिगत कडाइका कारण बैंक तथा वित्तीय संस्थामा पैसा राख्न डराएर घरजग्गामा लगानी हुन थालेको हो ? वा अनौपचारिक अर्थतन्त्र मौलाएका कारण यस्तो भइरहेको छ ?

भूमिलेख व्यवस्थापन तथा अभिलेख विभागका अनुसार काठमाडौं, ललितपुर भक्तपुरमा २०७८ वैशाखमा ६ हजार २४९ वटा लिखत पारित भएका थिए भने २०७९ वैशाखमा ६ हजार १०९ वटा लिखत पारित भएका छन् । २०७८ वैशाखमा सबैभन्दा बढी कामठाडौंमा तीन हजार ४४५ र २०७९ वैशाखामा तीन हजार ३४९ लिखत पारित भएका छन् । २०७८ वैशाखमा ललितपुरमा एक÷एक हजार ३९३ र भक्तपुरमा एक हजार ४२१ र काठमाडौंमा तीन हजार ४४५ लिखत पारित भएका छन् । २०७८ को वैशाखमा ललितपुरमा एक हजार ४३१ र भक्तपुरमा एक हजार ३१६ र काठमाडौमा तीन हजार ३४५ लिखत पारित भएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले केही महिनाअघि ‘मानिसले बैंक तथा वित्तीय संस्थामा नराखी सिरानीमुनी पैसा राखेकाले तरलता संकट आएको’ बताउनुभएको थियो । पछिल्लो समय पैसा लुकाएर राख्ने प्रवृत्ति झन् बढेको भन्दै त्यस्तो पैसा आफूले खोज्न थालेको उहाँले बताउनुभएको थियो । तर, के कारणले पैसा बैंक तथा वित्तीय संस्थामा नराखी सिरानीमुनि राख्नेक्रम बढेर गएको हो भन्नेबारेमा भने उहाँले केही बताउनुभएन । अर्थमन्त्रीको भनाइ थियो ‘तरलताको अभाव सिर्जना गराउन ओछ्यानमुनि वा सिरानमुनि पैसा राख्ने प्रवृत्ति बढेको छ ।

पुँजी कतै हराइरहेको छ । आखिर बजारबाट पैसा कहाँ हराइरहेको छ ? कतै सिरानीमुनि र ओछ्यानमुनि त बन्द रहेको छैन भन्ने कुराको खोजीमा म लागेको छु, हाम्रो पुँजी निष्क्रिय भएर कतै बसिरहेको त छैन ? यतातिर पनि हामी सबै नागरिकको ध्यान जानुपर्छ ।’ पुँजी अभावको कारण क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फण्डलगायत नयाँ प्रविधिको दुरुपयोग पनि रहेको उहाँले बताउनुभएको छ ।

तथापि, मुलुकले अहिले भोगिरहेको शोधनान्तर घाटाको स्थिति अन्तर्राष्ट्रिय बजार मूल्यको असर रहेको उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, डण्डी तथा डण्डीजन्य वस्तु, खानेतेल, प्लाष्टिक लगायतको मूल्य बढेको, ढुवानी गर्ने पानीजहाज, कन्टेनरको भाडादर पनि वृद्धि भएको छ, डलरको विनिमय दर पनि बढेकाले सबैको चाप भुक्तानीमा पर्न जाँदा शोधानान्तर स्थितिमा समस्या आएको अर्थमन्त्रीको भनाइ छ ।

ADVERTISEMENT

विज्ञहरूले भने घरजग्गामा मन्दीको प्रभाव नपर्नुको मुख्य कारण अनौपचारिक अर्थतन्त्र नै रहेको बताएका छन् । त्यसैगरी नीतिगत त्रासका कारण पनि लगानीकर्ताहरू सुरक्षित लगानीको क्षेत्रका रूपमा घरजग्गालाई लिने गरेका छन् । राजनीतिक अस्थिरता, नीतिगत त्रास, घट्दो सेयर बजारलगायत कारण घरजग्गामा लगानी बढेको हो ।

जग्गाको कारोबार अवस्था यस्तै रहँदैन, घटेर जान्छ : डा. चन्द्रमणि अधिकारी, वरिष्ठ अर्थविद्
अन्य क्षेत्रको तुलनामा घर जग्गामा मन्दीको असर कम देखिएको छ । हाम्रोमा करिब ५० प्रतिशत भूमिगत अर्थतन्त्र छ । सोही कारण पनि जग्गामा मन्दीको असर नपरेका हुनसक्छ । अर्को लगानीको क्षेत्र सेयर बजारको अवस्था पनि राम्रो छैन । विदेशबाट आएको पैसा पनि घर जग्गामा लगानी भइरहेको छ । त्यही भएर सुरक्षित लगानीका लागि जग्गामा लगानी बढेको हो तर आगामी दिनमा जग्गाको कारोबार अवस्था यस्तै रहँदैन, घटेर जान्छ । किनभने बैंक तथा वित्तीय संस्थाले पनि कडाइ गर्दै गएका छन् ।

नेपालमा पनि पैसाको भ्यालु घट्दो क्रममा छ : ज्ञानेन्द्र अधिकारी, अर्थविद्
नेपालमा फिक्स्ड डिपोजिट गर्ने क्षेत्र नै घरजग्गा हो । किनभने नेपालमा घर जग्गाको लगानीलाई सुरक्षित मानिन्छ भने विदेशतिर धेरैले सुनमा लगानी गर्छन् । बैंक तथा वित्तीय संस्थामा पैसा राख्दा स्रोतका खोजी हुने भएकाले पछि घरमै राख्ने कि सहकारीमा जम्मा गर्ने प्रवृत्ति पनि देखिएको छ । नीतिगत जोखिमका कारण जनताहरू बैंक तथा वित्तीय संस्थामा पैसा राख्न डराइरहेको अवस्था छ । अर्को कुरा, पैसा त्यत्तिकै राख्दा भ्यालु पनि बढ्दैन, बरु घट्छ । केही महिनाअघि जिम्मावेमा दुईवटा अण्डा खरिदका लागि एक ट्रिलियन करेन्सी खर्च गर्नुपथ्र्यो । नेपालमा पनि पैसाको भ्यालु घट्दो क्रममा छ ।

नयाँ व्यवस्थापछिको अन्योलताले बढाएको हुन सक्छ : भक्तप्रल्हाद पाण्डे, बैंकर
सरकारले जग्गा कारोबारमा कडाइ गर्ने नीति लिएका कारण जग्गाको कारोबार बढेको हुनसक्छ । किनभने सरकारले जथाभावी रूपमा हुँदै आएको कृषियोग्य जग्गाको खण्डीकरण रोक्न आवश्यक नीतिगत व्यवस्था गर्दै छ भन्ने सबैलाई थाहा थियो । नयाँ व्यवस्थापछिको अन्योलका कारण बिक्रेता र खरिदकर्ता दुवैले हतारमा काम गर्दा पनि यस्तो भएको हुनसक्छ । त्यसो त जग्गा खरिद बिक्रीको उद्देश्यभन्दा पनि कित्ताकाट उद्देश्यले पनि कारोबार भएका छन् । कित्ताकाटका लागि आफ्नै परिवारभित्र जग्गा किनबेच हुने तर पैसाको कारोबार भने नहुने पनि देखिएको छ । कतिपयले पैसा बैंकमा नराखी जग्गामा लगानी गर्ने क्रम पनि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *