२०७९ जेठ १४ गते बेलुका सुत्ने बेलासम्म म स्वस्थ्य थिए । सामान्यतया ९ बजे नै सुत्ने गर्छु । राति दुईदेखि तीनको बीचमा मेरो निद्रा खुलेछ । बाथरूम प्रवेश गर्दै गर्दा मेरो आँखा बाथरूममा टाँगिएको ऐनाको सहयोगले अनुहारमा पर्यो । अनुहार अस्वाभाविक रूपले फुलेको देख्दा म आफैं झस्किएँ । अनुहारलाई अझै नियालेर हेर्दा घाउ, चोट कतै छैन तर पूरै अनुहार सुन्निएको छ । बिहानसम्म पर्खनुको विकल्प नहुँदा म सुतेँ । उठ्दा बिहानको ६ बजेको रहेछ । मसँग अस्पतालको विकल्प थिएन ।
सरकारी अस्पतालमा उपचार गर्छु भन्नु पनि लाज हुने अनौठो संस्कृति मौलाएकाले अचेल कुन अस्पताल जाने विषय महत्वपूर्ण हुन्छ । प्रायः सबै निजी अस्पताहरूमा सरकारी अस्पतालका डाक्टरहरू पार्ट टाइममा काम गर्छन् । तर, आश्चर्य के छ भने प्राइभेटको तामझाम र पैसा ठग्ने प्रविधिका कारण तिनै डाक्टरहरूको सेवा सरकारी अस्पतालमा झुर र निजी अस्पतालको महँगो सेवा गुणस्तरीय हुन्छ भन्ने हाम्रो गलत बुझाइ छ ।
फेरि सरकारी अस्पताल गरिबहरूका लागि हुन् भन्ने गलत मनोविज्ञान पनि क्रियाशील छ । समाजमा प्रतिष्ठाका लागि पनि निजी अस्पताल जानुपर्छ भन्ने मान्यताले अस्पताल छनौटमा अन्यौल हुन्छ । सरकारी अस्पतालहरूमा भौतिक संरचना, जनशक्ति र उपकरण आदिको जति पर्याप्तता छ त्यो निजी अस्पतालहरूमा छैन । तर, निजी अस्पतालहरू सीमित क्षमतामा पनि व्यवस्थापन कुशलताका कारण राम्रा मानिन्छन् ।
सरकारी अस्पतालहरूको अस्तव्यस्तता, सरसफाइ र चिकित्सक वा कर्मचारीहरूको व्यवहार बिरामीमैत्री नभएको अनुभूति भयो भने प्रमुखहरूसँग छलफल र सुझाबको लेनदेनको विषय मलाई सामान्य लाग्छ । निजी अस्पतालहरूले सरकारकै जनशक्तिलाई उपयोग गर्छन् ।
डाक्टर, बिरामी दुवैलाई शोषण गरेर अधिक पैसा असुल्ने गर्छन् । तसर्थ सरकारी अस्पताललाई सुधार गर्ने प्रयत्नले बहुसंख्यक नागरिकहरूको कल्याण हुन्छ भन्ने विश्वासका कारण पनि म सरकारी अस्पताल रोज्छु । सरकारी अस्पताहरूको स्तर उन्नति गर्दा धेरै सेवाग्राहीहरू लाभान्वित हुने भएकाले मेरो प्राथमिकतामा सधैं सरकारी अस्पतालहरू नै पर्छन् ।
नव धनाढ्यहरू, नेताहरू, तस्कर, व्यापारी, उच्चपदस्थ अधिकारी साथै समाजका तथाकथित लब्धप्रतिष्ठित व्यक्ति सबै निजी अस्पालमा जाने गर्दा सरकारी अस्पतालको सेवा झन् गुणस्तरहीन हुँदै जान्छ । सरकारी अस्पतालको अस्तित्व संकटग्रस्त हुँदा उपचार झन् खर्चिलो हुन्छ । विपन्नहरू स्वास्थ्य सुविधाबाट थप वञ्चित हुन्छन् भन्ने डरले म सकेसम्म सरकारी अस्पतालहरूको सेवा लिने गर्छु ।
यसपटक काठमाडौंमा भएकाले सरकारको पुरानु र ठूलो अस्पताल वीर अस्पताल जाने भयौं । २०७९ जेठ १५ गते आइतबारको दिन थियो । अस्पताल आइतबार बन्द हुँदैन भन्ने विश्वासले वीर अस्पताल तिर लागेँ । अस्पताल पुगेपछि थाहा भयो अस्पतालको सेवा सरकारको अदूरदर्शी निर्णयले आइतबार बन्द हुँदा म जस्तै थुप्रै बिरामीहरू दिग्दारीमा भेटिए । परिस्थितिले वीर अस्पतालको इमर्जेन्सीमा जान बाध्य बनायो । इमर्जेन्सीको बाहिरै छिचोलिनसक्ने भिड रहेछ । भित्र पस्न खोज्दा सुरक्षाकर्मीले निर्ममताका साथ धकल्न थाले । त्यो व्यवहारले पहिलो गाँसैमा ढुंगा लाग्यो । शिष्ट भाषाको कस्तो खडेरी, सुरक्षाकर्मी झोक्किएर भन्दै थिए टिकट खोइ ? इमर्जेन्सी प्रवेशद्वार नजिकैको सानो झ्यालबाट टिकट लिएँ ।
त्यसपछि इमर्जेन्सी कक्षमा छिर्न खोज्दा लाग्थ्यो महाभारतको युद्ध मैदानमा पस्दैछु । त्यो नछिचोलिकन उपचार हुने कुरै भएन । म त एलर्जीले अनुहार पूरै सुन्निएर अब त एउटा आँखाको अलिकति छेउले मात्रै हेर्न सक्थे । तसर्थ साथी अनिवार्य थियो । मलाई हिँड्न होइन उभिनसमेत असहज भएको अवस्थामा इमर्जेन्सीको भिड छिचोल्दै भित्र जाने कुरा सामान्य थिएन । स्वास्थ्य परिस्थिति जटिल भएकाले नजिकै मृत्युुले घेरिएको व्यक्तिले बाँच्नका लागि अन्तिम प्रयासको अवस्थाबाट गुज्रँदै बल्लतल्ल इमर्जेन्सी कक्षभित्र पस्ने लडाइँ जितियो । बल्ल डाक्टरसँगबाट उपचार लिने युद्धको सुरुवात भयो । इमर्जेन्सीमा डाक्टर र नर्सको संख्या भने कम थिएन ।
त्यहाँ कमी थियो व्यवस्थापनको । व्यवस्थापनको महत्व वीर अस्पतालको इमर्जेन्सीमा पसेपछि थाहा हुन्छ । इमर्जेन्सीभित्र अस्पताल थिएन । प्रयागराजमा लाग्ने बाह्र वर्षे मेलाभन्दा अव्यवस्थित भिड थियो । बिरामीका आआफ्ना वेदना थिए तर सम्बोधनको संयन्त्र अव्यवस्थित होइन शून्य थियोे । डाक्टर नजिकै जान पनि सुरक्षाकर्मीले रोक्दा बिरामीहरू आतंकित थिए । बल्लबल्ल एकजना डाक्टरलाई मैले अनुहार हेर्न अनुरोध गर्दा, हेरेपछि उनी झस्के । हातले पर्खन संकेत गरे तर उनी कता पसे अत्तोपत्तो भएन किनकि त्यहाँ जिम्मेवार र जिम्मेवारी नामको वस्तु थिएन ।
उभिएको ठाउँमा सुरक्षाकर्मीले उभिन नदिएर आतंकित पारेको छ । मानिसहरूको भिडले कतै खुट्टा राख्ने ठाउँ छैन । सबै बेडहरूमा दुई-दुई जना बिरामी देख्छु । कुनैमा तीन पनि थिए । इमर्जेन्सीको अव्यवस्थाले निराश बनायो । शरीरले उभिन आड खोजेको छ । साँघुरो ठाउँको कोलाहलमय वातावरणले पीडा थपिएको अनुभव भयो । बस्ने व्यवस्था कतै छैन । बेन्च, मेचको कुरै छोडौं, उभिनसम्म ठाउँ छैन । खुट्टा लगलग कामेका छन् । कतै समाएर उभिन लाग्यो भने सुरक्षाकर्मी आउँछ र उता, उता भन्छ ।
उता कता हो भन्दा थाहै छैन । त्यहाँको अवस्था हेर्दा धिक्कार लाग्यो । निस्कौं भने यो एलर्जीले श्वासप्रश्वासको नलीसम्म सुनिँदै गर्दा श्वासप्रश्वास रोकिएर जीवन नै अन्त्य हुन्छ भन्ने चिन्ताले ग्रस्त छु । अर्को अस्पताल जान पनि बीचैमा सिध्याउँछ कि भन्ने डरले जान सकिन । इमर्जेन्सीको अव्यवस्था र डाक्टरहरूसँग भेट्न भएको कठिनाइ सम्झँदा अहिले पनि आङ जिरिङ्ग हुन्छ ।
त्यसैबेला एक युवतीलाई पोको पारेर एकजना पुरुषले बल्लतल्ल इमर्जेन्सीमा छिराए तर त्यो मानव पोका बिसाउने ठाउँ त्यहाँ कतै थिएन । त्यस बिरामीको पोको कतै राख्न नपाएर छट्पटीएको सम्झँदा अहिले पनि अस्पताल व्यवस्थापनप्रति धिक्कार लाग्छ । त्यो मानव पोको लिएर छट्पटी गर्दै गरेको चित्र र वीर अस्पतालको व्यवस्थापकीय अक्षमताको कहालीलाग्दो नकारात्मक दृश्य जीवनमा कहिल्यै नबिर्सने घटना बन्यो ।
मेरो स्वास्थ्य जाँचका लागि धेरै अनुनयविनयपछि एकजना महिला डाक्टरले औषधि लेखिन । हतारहतारमा औषधि त ल्यायौं । इन्जेक्सन लगाउन अर्को महाभारत सुरु भयो । तिनै महिला डाक्टरको सहयोगमा इन्जेक्सन दिन एकजना नर्स तयार भइन् । त्यहाँ बिरामीलाई बेडको कुरै छोडौं टुसुक्क बस्ने पनि ठाउँ थिएन । मर्नभन्दा बौलाउन निको भने झैँ मैले नसक्दा नसक्दै उभिएर नै हातमा क्यानुला लगाउन भने । त्यो क्षण नकारात्मक स्मरणीय रहृयो । उभिएर नै क्यानुलामार्फत शरीरमा इन्जेक्सनका माध्यमले औषधिले प्रवेश पायो ।
अब बाँच्ने आशा पलायो । इन्जेक्सन लगाएपछि बस्ने मन छ । पाए पो बस्ने । औषधिकै कारण हुनपर्छ शरीर लठ्ठ भयो । अब त बस्न नपाएको मानिसलाई शरीरले सुत्ने ठाउँको व्यवस्था गर्न दबाब दिन थाल्यो । इन्जेक्सनले भने सहज भएको अनुभव तत्काल नै अनुहारले ग¥यो । इमर्जेन्सीले रगतको विविध जाँच, भिडयो एक्सरे, छातीको एक्सरे, इसीजी जस्ता थुप्रै जाँच गर्न भनेकाले आराम गर्नभन्दा जाँचको प्रक्रियामा लाग्यौं । यति धेरै परीक्षण किन भन्ने लाग्दालाग्दै पनि सबै परीक्षण बाध्यकारी भयो ।
परीक्षण र रिपोर्टका लागि झण्डै ६ घण्टा समय बित्यो । रिपोर्टका लागि खर्च र दुःख भयो तर ती सबै रिपोर्टहरूपछि डाक्टरले हेर्नै चाहेनन् । रिपोर्ट हेरिँदैन भने किन टेष्टको खर्च र दुःख ? यसको जवाफ अस्पतालले दिनुपर्ने कि नपर्ने ? अव्यवस्थाको पनि हद हुन्छ ? बिरामीलाई आतंकित बनाउने काम अस्पतालले कति गर्ने ? अब इन्जेक्सन बाह्र घण्टापछि लगाउनुपर्नेछ । इमर्जेन्सीमा खुट्टा टेक्ने ठाउँ छैन । डाक्टर बस् भन्छन् । कता बस्ने बारे उनी अनुत्तरित हुन्छन् । हामी घर जान्छौं भन्दा हातमा लगाएको क्यानुला नझिकीकन जान दिँदछैनन् ।
अब चार घण्टापछि फेरि इन्जेक्सन दिनुपर्ने भएकाले यसलाई नझिकीकन जान दिनुहोस् भन्दा डाक्टर मान्दैनन् । बस्न ठाउँ छैन । वीर अस्पताको इमर्जेन्सीबाट निस्केर अस्पतालभित्रको बैंकको काउन्टरमा राखिएको फलामको सोफा जस्तो बेन्चमा आराम गर्न पुगे । त्यो थचक्क बस्ने ठाउँ पाउँदा पनि के के न पाएको अनुभूति भयो । राति ११ बजेपछि फेरि इन्जेक्सन दिइयो । अब रातको १२ बज्दै गर्दा बस्न बेड छैन । जान पनि क्यानुला झिक्न पर्ने शर्त हाम्रा लागि अव्यावहारिक र अमानवीय दुवै लाग्यो ।
राति १ बजेपछि बैंक शाखा भएको कक्षबाट बाहिर निस्केर क्यानुला लगाएको हातलाई खल्तीमा हालेर अपराधकर्मी झैँ बाहिरिन पर्दाको पीडा पोख्ने शब्द नै मसँग छैन । हामी अस्पताल परिसरबाट अमिलो मन लिएर निस्कियौं । घर आयौं । केही घण्टा सुत्न पाउँदा आनन्दको सीमा भएन । भोलिपल्ट अस्पताल खुला हुँदै गर्दा टिकट लिएर चर्मरोग विभागको डाक्टरलाई देखाउँदा किन यति धेरै टेष्ट गरेको भनेर हप्काइन् । हामीले टेष्ट रहरले होइन करले गरेका हौं भन्यौं । इन्जेक्सन पनि एउटामात्र दिनुपर्ने किन दुईटा भनेर प्रश्न गर्दा हामीलाई इमर्जेन्सी उपचारप्रति सधैं शंकालु बनायो ।
हामी जस्तो डाक्टरसँग कुरा गर्न सक्नेहरूले त वीर अस्पतालको सेवा लिन यो हविगत भयो भने गरिबहरू र निरक्षर ग्रामीण जनसंख्यालाई अस्पतालको अव्यवस्थाले कति पीडा दिएको होला ? इमर्जेन्सीलाई सेवागृह कि यातना गृह के भन्ने ? बिरामीको उपचार व्यवस्थापनको सन्दर्भमा जिम्मेवारहरूको चेतना, विवेक र मानवताको विचल्ली संसारमा कतै छ भने त्यो वीर अस्पतालको इमर्जेन्सीमा छ । सामाजिक अभियन्ताहरू, मानवताप्रति सहानुभूति, सद्भाव राख्ने जोकोहीले अध्ययन, चिन्तन, मनन र सुधारको भद्रअवज्ञा आन्दोलन के गर्दा मानवताको रक्षा र कल्याण हुन्छ त्यो गर्न एकपटक वीर अस्पतालको इमर्जेन्सीको अव्यवस्थाको अवलोकन गर्न जरुरी छ ।
तर, विपन्नले सेवा लिनुपर्ने यो इमर्जेन्सीलगायत अस्पतालको समग्र सेवालाई व्यवस्थित र गुणस्तरीय बनाउने जिम्मेवारी कसको ? यो प्रश्न सधैं अनुत्तरित हुनु हुँदैन । यो सप्रनुपर्छ । सपार्नुपर्छ । इमर्जेन्सीको सेवा लिन आउने आवाजविहीनहरूको आवाजलाई सार्वजनिक गर्नाले आशा र विश्वास गरौं वीर अस्पताललगायत नेपालका अन्य अस्पतालबाट प्रवाहित हुने गुणस्तरहीन सेवाहरू, अपर्याप्त भौतिक संरचना, उपकरण साथै विद्यमान अव्यवस्थाको सुधारका लागि यथेष्ट दबाब पक्कै सिर्जना गर्नेछ । सुधारका लागि आशावादी बन्नु उत्तम विकल्प हुनसक्छ ।







अति मार्मिक, बस्तु तथ्य छ।यो विषयलाई सम्बन्धित पक्षले गम्भीर भएर तत्कालै सुधर गर्न सुझाव गर्दछु।
धन्यवाद हजुर
अस्पताल व्यवस्थापनलाई सुधारका लागि राम्रो दबाब।भोगाईको सार्वजनिकीकरणले समस्यालाई उजागर गरेको छ।
टिप्पणीका लागि धन्यवाद
Beer aspatalma Bhognu pareko pidalaae marmik dhangale prastut bhaeko chha. Sathai Beer aspatal sudharko laagi sakaratmak sujhab dinu bhaeko Le rammro lagyo.
धन्यवाद हजुर