महिनाको नाम वैशाख, जेष्ठ, आषाढ आदि नै किन राखियो ?

Read Time = 13 mins

✍️ डा. नारायणप्रसाद निरौला
संस्कृत वाङ्मय सर्वप्राचीन हुनुका साथै आफैंमा परिपूर्ण पनि रहेको छ । आज हरेक विषयवस्तुहरू विज्ञानको प्रयोगशालामा सिद्ध भइरहेका छन् । इतिहास, संस्कृति, कला, साहित्य, सङ्गीत आदि हरेक क्षेत्र र विषयको आदि स्रोत संस्कृत वाङ्मय नै हो । यसअन्तर्गतका हरेक विषयवस्तु तथ्यसङ्गत छन् । हरेक विषयवस्तुको तथ्य र कारण हुनु पनि पूर्वीय संस्कृत वाङ्मयको विशेषता हो । यस्तै संस्कृत वाङ्मयको एक विधा ज्योतिष पनि हो । ज्योतिषशास्त्रका हरेक विषयवस्तु तथ्य र प्रमाणका आधारमा निर्धारण गरिएका छन् । यस्ता विषयवस्तुको परीक्षण गर्ने विधि ज्योतिषशास्त्रमा रहेको छ ।

यसको प्रमाणका रूपमा सूर्य भनेकै समयमा उदाउनु र अस्ताउनु, पूर्णिमाका दिन आकाशमा चन्द्रमाको पूर्णबिम्ब देखिनु, सूर्य र चन्द्रग्रहण भनेकै समयमा लाग्नु आदिलाई लिन सकिन्छ । यिनै आकाशीय ग्रहका आधारमा हाम्रा गते, बार, महिना वर्ष आदिको निर्धारण गरिएको छ । यिनै आकाशीय सूर्य र चन्द्रमाका आधारमा हाम्रा महिनाको नाम वैशाख, जेष्ठ, आषाढ आदि पनि निर्धारण गरिएको हो ।

सौर, चान्द्र र सावन महिना हाम्रो अधिक प्रचलनमा रहेका छन् । सूर्यको गतिका आधारमा निर्धारण भएको सौरमास हो । सूर्यले १ अंश (डिग्री) पार गरेको समयलाई एक सौरदिन भनिन्छ । यसैगरी सूर्यले ३० अंश (डिग्री) पार गरेको समयलाई एक सौरमास निर्धारण गरिएको छ । यसरी सूर्यले वर्षमा ३६० अंश (डिग्री) पार गर्दा एक सौरवर्षको गणना हुन्छ । यसैगरी चन्द्रमाको गतिका आधारमा निर्धारण भएको महिना चान्द्रमास हो । सूर्य र चन्द्रमाका बीचमा १२ अंश (डिग्री) को अन्तर रहँदा एक चान्द्रदिन हुन्छ, जसलाई एक तिथि पनि भनिन्छ । एक सूर्योदयदेखि अर्को सूर्योदयसम्माको समयलाई एकसावन दिन भनिन्छ । एक सौरवर्षमा ३६५ सावन दिन हुन्छन् ।

यसैगरी चन्द्रमाले एक नक्षत्र पार गरेको समयलाई एक नाक्षत्र दिन र २७ नक्षत्र पार गरेको समयलाई एक नाक्षत्रमास भनिन्छ । वैदिक तिथि गणनाकोे मूल आधार चन्द्रमा नै हो । हाम्रा थुप्रै नित्य नैमित्तिक कार्यहरू तिथिका आधारमा निर्धारित हुने गर्दछन् । चाहे पैत्रिक कर्म हुन् चाहे अन्य । जस्तै पैत्रिक श्राद्ध, व्रत पर्व, दशैँ, तिहार आदि चान्द्रमहिनाका आधारमा निर्धारण गरिएका हुन्छन् । यसैगरी विवाह, व्रतबन्ध, विश्वकर्मा पूजा, गृहारम्भ, गृहप्रवेश आदि कार्यमा सौरमासको प्रयोग विशेष हुन्छ । सूर्यलाई आधार मानी निर्धारण गरिएका महिना सौर हुन् भने चन्द्रमाको गतिलाई आधार मानी निर्धारण गरिएका महिना चान्द्रमास हुन् ।

हाम्रो प्रचलनमा सौर र चान्द्र दुवै महिनालाई उत्तिकै रूपमा ग्रहण गर्ने गरिन्छ । एउटा चान्द्रमासमा एउटा सङ्क्रन्ति परेन भने उक्त चान्द्र महिना अधिमासको रूपमा गणना हुन्छ । जसलाई पुरुषोत्तम मास पनि भनिन्छ । यसैगरी एउटा चान्द्रमासमा दुईवटा सङ्क्रान्ति परे भने पनि उक्त चान्द्र महिना अशुद्ध मानिन्छ, जसलाई क्षयमास भनिन्छ । हरेक सौरमासमा एउटा औंसी र हरेक चान्द्रमासमा एउटा सङ्क्रन्ति हुनु आवश्यक छ । यस्ता महिना नै शुभ कार्यका निम्ति प्रयोगमा आउँछन् ।

महिनाको नाम निर्धारणमा पनि यिनै सूर्य र चन्द्रमालाई आधार मानिएको छ । सौर र चान्द्र दुवै महिनाको तारतम्य मिलेर महिना परिपूर्ण रहने गर्दछन् । वैशाख शुक्ल पूर्णिमाका दिन विशाखा नक्षत्रमा चन्द्रमा परेका हुन्छन् । अर्थात् भनौं विशाखा नक्षत्रका दिन पूर्णिमा पर्ने महिनालाई वैशाख नामाकरण गरिएको हो । आकाशमा ठीक विशाखा नक्षत्र ताराको आमने सामने चन्द्रमा पृथ्वीबाट आकाशमा देखिन्छन् । यसैगरी ज्येष्ठा नक्षनत्रका दिन पूर्णिमा पर्ने महिना जेठ हो । पूर्वाषाढा नक्षत्रका दिन पूर्णिमा पर्ने भएकाले आषाढ महिनाको नाम निर्धारण गरिएको हो । कहिलोकाहीँ उत्तराषाढा नक्षत्रमा पनि पूर्णिमा पर्ने गर्दछ ।

श्रवण नक्षत्रका दिन पूर्णिमा पर्ने महिनालाई श्रावण भनिन्छ । पूर्वाभाद्रपदा नक्षत्रका दिन पूर्णिमा पर्ने भएकाले भाद्र महिना निर्धारण गरिएको हो । कुनै समयमा उत्तराभाद्रपदा नक्षत्रमा पनि पूर्णमा रहने गर्दछ । यसैगरी अश्विनी नक्षत्रका दिन पूर्णिमा पर्ने महिना आश्विन, कृत्तिका नक्षत्रका दिन पूर्णिमा पर्ने महिना कार्तिक, मृगशिरा नक्षत्रका दिन पूर्णिमा पर्ने महिनालाई मार्गशीर्ष, पुष्य नक्षत्रका दिन पूर्णिमा पर्ने महिनालाई पौष, मघा नक्षत्रका दिन पूर्णिमा पर्ने महिनालाई माघ, पूर्वाफल्गुनी नक्षत्रका दिन पूर्णिमा पर्ने महिनालाई फाल्गुन भनिन्छ ।

फाल्गुन महिनामा कहिले पूर्वाफाल्गुनी र कहिले उत्तरा फाल्गुनी नक्षत्रका दिन पूर्णिमा पर्ने गर्दछ । फल्गुन, चित्रा नक्षत्रका दिन पूर्णिमा पर्ने भएकाले चैत्र महिनाको निर्धारण गरिएको कुरा ज्योतिषशास्त्रको प्राचीन ग्रन्थ सूर्यसिद्धान्तमा बताइएको छ ।

ADVERTISEMENT

हाम्रा महिना २८ देखि ३२ दिनसम्मका हुन्छन् । यसको पनि वैज्ञानिक कारण छ । सूर्य मेषराशिमा रहने समयावधि नै वैशाख महिनाको हो । सूर्यलाई ज्योतिष शास्त्रले चल र पृथ्वीलाई स्थिर मानेर गणना गरेको छ । (आधुनिक मतमा पृथ्वी घुम्छ भने सूर्य स्थिर रहन्छ । वास्तवमा दुवै चलायमान छन् । एउटालाई स्थिर नमानी गणना सम्भव हुँदैन ।) सूर्यले एक वर्षमा ३६० डिग्रीको चक्र पार गर्ने गर्दछ । यसलाई १२ ले भाग गर्दा एक महिनामा ३० डिग्री (अंश) हुन्छ । यसपछि मात्र अर्को महिना निर्धारण गरिन्छ ।

यसरी महिना निर्धारण गर्दा सूर्यको गतिले प्रभाव पार्ने गर्दछ । सूर्यको गति ढिलो हुँदा महिना लामा हुन्छन् भने छिटो हुँदा महिना छोटा हुने गर्दछन् । चान्द्रमासको निर्धारण भने चन्द्रमाले ३६० अंश पार गरेपछि हुन्छ । चन्द्रमाले साढे दुई दिनमा एक राशि पार गरेर करिब ३० दिनको हाराहारीमा १२ राशि अर्थात् ३६० डिग्री पूरा गर्छन् यही समयलाई एक चान्द्रमास भनी निर्धारण गरिन्छ ।

महिना निर्धारणमा नक्षत्रको भूमिका पनि महत्वपूर्ण रहेको छ । एक दिनमा एक नक्षत्र हुने गर्दछ । नक्षत्र २७ वटा छन् । एउटा नक्षत्रको भोग काल ६० घडी अर्थात् २४ घण्टा रहने गर्दछ । यसरी २७ वटा नक्षत्रमा चन्द्रमा एक फन्को लगाइसकेपछि एउटा चान्द्रमास हुन्छ । एक चान्द्रमासमा १२ वटा राशिको भोग चन्द्रमाले गरिसकेको हुनु पर्दछ । चन्द्रमाको गति छिटो हुने र त्यसको तुलनामा सूर्य ढिलो हिड्ने भएकाले चन्द्रमाले ३६० डिग्री पार गर्ने र सूर्यले ३० डिग्री पार गर्ने समय बरावरी भएकाले यही समयलाई महिनाका रूपमा निर्धारण गरिएको हो । जुन सूर्य र चन्द्रमाको गतिमा आधारित रहने गर्दछन् ।

पाश्चत्य परम्परामा रहेका जनवरी, फेबु्रअरी आदि महिनाको नामकरणका कुनै खगोलीय आधार पाइँदैन । राजा जुलियस सिजरले आफ्नो अनुकूलतामा राखेका नाम नै आज अन्तर्राष्ट्रिय तिथि मिति निर्धारणमा प्रयोग भइरहेका छन् । तर, तीभन्दा हाम्रा चैत्र, वैशाख आदि महिनाको नाम एवम् समय निर्धारण वैज्ञानिक र खगोलीय उत्पत्तिपूर्ण रहेका छन् । संसारमा जति वर्ष एवम् महिनाको निर्धारण गरिएका छन् ती प्राय यिनै सूर्य र चन्द्रमालाई नै आधार मानिएको पाइन्छ ।

तिब्बती, हिजेरी आदि पत्रोमा चान्द्रमान निर्धारण गरिएको हुन्छ । ईशवीय अंग्रेजी वर्ष एवं महिना निश्चित दिन निर्धारण गरी तयार गरिएको छ । प्रत्येक महिना निश्चित दिनका छन् । यसरी किन त्यति दिन नै महिना निर्धारणका लागि राखियो भन्ने खगोलीय आधार र उत्पत्ति भने पाइँदैन । तर हाम्रा दिन, महिना, वर्ष आदिको निर्धारण प्रत्यक्ष सूर्य एवं चन्द्रमाको गतिका आधारमा तयार गरिन्छ ।

ज्योतिषशास्त्रमा ग्रहका राजा सूर्य र चन्द्रमालाई लिइएको छ । शक्तिका धनात्मक र ऋणत्मक अवयव नै सूर्य र चन्द्रमा हुन् । उष्णताका प्रतीक सूर्य हुन् भने शीतताका प्रतीक चन्द्रमा हुन् । यसैले महिनाको नाम निर्धारण र व्यवहार प्रचलनमा सूर्य र चन्द्रमालाई आधार मानिएको हो । यो वैदिक पद्धति पनि हो । चन्द्रमाको गतिलाई आधार मानिएको चान्द्रमास नै हाम्रा अधिकतम कार्यमा प्रयोग गरिन्छ । यस्तो समयमा एक चान्द्रमासमा एक सङ्क्रन्ति हुनु अनिवार्य छ ।

यसरी आकाशीय ग्रहका आधारमा निर्धारण गरेका महिनाका नाम आफूमै परिपूर्ण र सिद्ध छन् । ईशवीय संवत्का महिनाको नाम आकाशीय कुनै ग्रह तारालाई आधार बनाइएको छैन । महिनाका नाम पनि राजा महाराजाका नाममा आधारित छन् । तर वैदिक वाङ्मयमा महिनाका नाम आकाशीय नक्षत्रका आधारमा वैज्ञानिक तरिकाले निर्धारण गरिएको छ । यसैले अन्तरर्राष्ट्रिय मिति निर्धारण र प्रयोगमा वैदिक पञ्चाङ्ग प्रयोगमा ल्याउनु उचित देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment