-विवेक खड्का
दाङ । स्थायी घर र बसोबास नभए पनि कुसुन्डा जातिहरू आफ्नो मौलिकताका धनी मानिन्छन् । उनीहरुको आफ्नै मौलिकता, कला, संस्कृति र संस्कार छ । आफूलाई ‘वनराजा’ भन्दै हिँड्ने कुसुन्डा जातिले वनमा आफ्नो अधिकार भएको ठान्दै आए । वनका उत्पादन नै उनीहरूको खाद्यान्न र बासस्थान थियो । ईतिहासको कुनै कालखण्डमा फिरन्ते जीवन बाँचेका कुसुन्डा जातिको जीवन पहिले जंगलमै बिताए पनि अहिले उनीहरुको जीवन फेरिएको छ ।
अहिले कुसुन्डा समुदायको परिस्थिती र परिवेश धेरै फेरिएको छ । उनीहरुको लवाईखवाई, उठबस, रहनसहन धेरै परिवर्तित भईसकेको छ । अहिले कुसुन्डा जाति वनमा फिरन्ते जीवन बिताउँदैनन । बरु उनीहरु गाउँ समाजमा बस्न थालिसकेका छन् । गाउँको बसाइँसँगै उनीहरूको भाषा, संस्कृति, संस्कार समेत हराउँदै गइरहेको छ । पहिचान नै जोखिममा पर्ने अवस्था आउन थालेपछि अहिले आफ्ना मौलिकता, भाषा, कला, संस्कृति संरक्षण गर्न कुसुन्डा समुदायले एकीकृत बस्ती विकास गरिदिएर सबैलाई एकै थलोमा बसालेर समुदायको उत्थानमा ध्यान दिन अपिल गरिरहेका छन् ।
अहिले उनीहरु देशमै लोपान्मुख अवस्थामा रहेका वनराजाले परिचित कुसुन्डा जातिको उत्थानका लागि सरकारले थालेको काम र स्थानीय सरकारले पछिल्लो समय उनीहरुको अपेक्षा अनुसार काम नभएको गुनासो गर्छन् । घोराही उपमहानगरपालिका–१८ अम्बापुरका प्रेमबहादुर शाहीले कुसुन्डाहरूको आफ्नै संस्कृति बचाउन समस्या भएको हुँदा सरकारले ध्यान दिनुपर्ने बेला आएको बताउनुहन्छ । लोपोन्मुख जातिका रूपमा मासिक सामाजिक सुरक्षा भत्ता पाएपनि यो पर्याप्त नरहेको उहाँको भनाइ छ । ‘यसबाट दैनिक जीवन सञ्चालन गर्न पनि केही सहज भएको छ तर यतिले मात्रै पुग्दैन । भाषा, कला र संस्कारलाई संरक्षण गर्दै जीवनयापन सहज हुने उपाय खोज्नुपर्छ’ उहाँले भन्नुभयो ।
कुसुन्डा जातिको भाषा बोल्न सक्ने एक मात्र व्यक्ति कमला कुसुन्डा आफ्नो शेषपछि कसले भाषालाई बचाउने हो भन्नेमा चिन्तित हुनुहुन्छ । विश्वमै आफुमात्रै कुसुन्डा भाषा बोल्ने व्यक्ति रहेको बताउँदै यसको संरक्षण र उत्थानमा सरकारले चासो लिनुपर्ने आवाज उठाउनुहुन्छ । कुनै बेला फिरन्ते जीवन बाँचेका कुसुन्डा जाति निकै थोरै भएपनि देशमा विभिन्न भूभागमा रहेका छन् । ‘एकीकृत बस्ती भएमा भाषा संरक्षण हुन्छ । संस्कृति र परम्पराको अभ्यास हुन्छ,’ उहाँले भन्नुभयो ‘जातिको पहिचान पनि कायम रहन्छ ।’ घोराही १८ सुपैलाखुटीकी सर्मिला कुसुन्डा आफ्नो समुदायको उत्थानमा स्थानीय सरकारले गम्भीर रुपमा ध्यान दिनुपर्ने बताउनुहुन्छ । छरिएर बसेका कुसुन्डाहरुलाई एकीकृत रुपमा राख्न सकिए भाषा, कला, संस्कृति बच्ने उहाँको भनाई छ । ‘मेरो आफ्नो समुदायको भाषा, कला, संस्कृति संरक्षणका लागि राज्यले अनिवार्य रूपमा एकीकृत बस्ती निर्माण गर्न जरुरी छ,’ उहाँले भन्नुभयो ।
सोही ठाउँकी अर्की कमला कुसुन्डाले घरमा आफुआफुबीच कहिले कसो कुसुन्डा भाषामा कुराकानी गरेपनि अरु ठाउँमा जाँदा नेपाली भाषामै बोल्नुपर्ने अवस्था रहेकाले कसुन्डा जातिलाई एकै ठाउँमा बस्ने व्यवस्था मिलाउन आग्रह गर्नुहुन्छ । यो पटकको स्थानीय निर्वाचनमा भोट माग्न आउने हरेक उम्मेदवारलाई आफुहरुको उत्थानका लागि गम्भीर बनिदिन आग्रह गर्ने उनीहरुले निधो गरेका छन् । ‘हामीलाई थोरै जनसंख्या भनेर अटेर गरेको पनि हुन सक्छ, तर, हामी त लोप हुने अवस्थामा पुगेका छौँ, हाम्रो अस्तित्व बचाउने गरी योजना हामी दिन्छौँ, त्यो योजना कार्यान्वयन गर्ने उम्मेदवारलाई हामी भोट दिने हो,’ कमलाले भन्नुभयो ।
कुसुन्डा समाजका अध्यक्ष धनबहादुर कुसुन्डाका अनुसार देशभर कुसुन्डा जातिको संख्या १ सय ५४ जना मात्रै छ । अत्यन्तै लोप हुने अवस्थामा पुगेको यो समुदायको उत्थानका लागि स्थानीय सरकारले अहिलेसम्म ठोस योजनासहित काम नगरेको उहाँको दुखेसो छ । भाषा संरक्षणका लागि केही प्रयास भएपनि अरु संस्थागत विकासमा योगदान नभएको उहाँको धारणा छ । अब भोट माग्न आउने उम्मेदवारसँग आफुहरुले बारम्बार उठाउँदै आएको साझा मागलाई सम्बोधन गराउन तर्फ केन्द्रित हुने उहाँको भनाई छ । ‘यो पटक त हामी निकै गम्भीर रुपमा हाम्रो सिंगो समुदायको उत्थानका लागि योजनावद्ध रुपमा माग राखेर सम्बोधन हुनुपर्छ भन्ने अडानमा छौँ, जसले काम गर्छ, उसैलाई हाम्रो भोट,’ उहाँले भन्नुभयो ।
कुसुन्डा जातिको बसोबास दाङको घोराही, तुलसीपुर, कपिलवस्तु, मकवानपुर, रोल्पा, रुकुम, प्यूठान र सुर्खेतमा छ । एकै ठाउँमा यो समुदायको बसोबास नरहेकाले पनि उनीहरुको बसाई व्यवस्थापनमा समस्या भएको स्थानीय पालिकाको भनाई छ । आगामी दिनमा उनीहरुको सिंगो समुदायको उत्थान कसरी गर्न सकिन्छ भनेर नीतिगत रुपमा काम गर्न सकिने अवस्थामा भने स्थानीय सरकार अघि बढेको छ ।
भाषा आयोगले कुसुन्डा जातिको भाषा संरक्षणका लागि निरन्तर भाषा कक्षा संचालन गर्दै आएको छ भने स्थानीय सरकारले पनि केही बजेट विनियोजन गरेर उनीहरुको नयाँ पुस्तालाई शिक्षा, दिक्षामा सहुलियत प्रदान गर्दै आएको छ । अहिले नयाँ पुस्ताले आफ्नो पुर्खाको भाषा, कला, संस्कृतिका बारेमा चासो लिँदै भाषा सिक्ने काम गर्दै आएका छन् । तर, पर्याप्त हुन सकेको छैन । त्यसैले सिमित जनसंख्या रहेको कुसुन्डा समुदायलाई एकीकृत बस्ती विकास गरी एकै थलोमा बसाल्न सकेको खण्डमा धेरै फाईदा हुने साझा आवाज उनीहरुको छ । उर्मिला कुसुन्डा कुसुन्डा समुदायमा पढेलेखेकी व्यक्ति हुनुहुन्छ । आफुहरुको शैक्षिक योग्यता अनुसार सरकारले रोजगारीको अवसर दिनुपर्ने उहाँको जोड छ ।
अहिले विभिन्न संघसंस्थाको पहलमा समुदायले आफ्ना कुरा बाहिर ल्याउन सक्ने भएको बताउनुभयो । यस्तै, सर्मिला कुसुन्डाले कुसुन्डा समुदायको नाममा एक धुर पनि लालपूर्जावाला जग्गा नभएको भन्दै राज्यले दिने सेवा सुविधामा पनि धेरै असर गरेको बताउनुहुन्छ । आदिमकालदेखि जंगलमै जीवन बिताएको कुसुन्डा समुदायको उत्थानका लागि यो वा त्यो बहानामा विभेद गर्न नहुने कुसुन्डा समाजका अध्यक्ष अध्यक्ष धनबहादुर कुसुन्डाको भनाई छ । घोराही उपमहानगरपालिकाको कार्यपालिका सदस्य पनि रहनुभएका उहाँ आफ्नो जातिको उत्थानका लागि हरदम लागि पर्नुभएको छ । ‘शिक्षा, स्वरोजगार केही छैन, सरकारले हामीहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याएर हाम्रो अस्तित्व जोगाउनुपर्ने बेला आएको छ । जसका लागि एकीकृत बस्तीबाट मात्रै सम्भव छ, यो अनिवार्य माग हो’ उहाँले भन्नुभयो ।
आत्मर्निभर बन्ने खालका कार्यक्रममा जोड्न, वचत गर्ने बानीको विकास गर्न, भाषा, कला संस्कृति, रीतिरिवाजका असल अभ्यासलाई निरन्तरता दिन नयाँ पुस्तामा सीप हस्तान्तरण अपरिहार्य रहेकाले यसतर्फ पनि सिंगो समुदायले सोँच्नुपर्ने बेला आएको सरोकारवालाको भनाई छ । ज्ञानीमैयाँ कुसुन्डाको निधन पछि अहिले भाषा संरक्षणमा कमला कुसुन्डालाई जिम्मेवारी थपिएको छ । भाषा प्रंशिक्षणमा उहाँ निकै खटिनुभएको छ । केही भाषा अहिलेका युवा पुस्ताले बुझिसकेका छन् । यसका लाथि थप प्रोत्साहनको खाँचो रहेको उहाँ बताउनु हुन्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts