काठमाडौं । नेपाल र अमेरिकाबीच नयाँ पाँच वर्षे विकास सहायता सम्झौता भएको छ ।
अर्थ मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) बीच आज उक्त सम्झौता भएको हो । सम्झौतामा दुवै देशका सम्बन्धीत अधिकारीले हस्ताक्षर गर्नुभएको हो ।
पाँच वर्षे यस सहायता सम्झौताले अमेरिका र नेपालबीचको सहयोग तथा सहकार्यका बृहत विकास क्षेत्रहरूको रूपरेखा कोरेको छ ।
सम्झौता अनुसार पाँच वर्षको अवधिमा अमेरिकाले ६५ करोड ९० लाख अमेरिकी डलर (करिव ७९ अर्ब ७१ करोड रुपैयाँ) विकास सहायता नेपाललाई उपलब्ध गराउने छ । उक्त अनुदानले नेपाललाई मध्यम आय भएको देश बनाउन सघाउने अर्थ मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रसँगको साझेदारीमा अमेरिकी सहयोगले नेपालको दिगो विकासलाई अगाढि बढाउने बताइएको छ ।
सहायता रकम रेड बुकमा रेकर्ड गरिनेछ र बजेट भित्र र बाहिर रहेर खर्च गरिने जनाइएको छ ।
युएसएआइडीले यस सहायता सम्झौता अन्तर्गत सम्बन्धीत मन्त्रालयहरूसँगको सहकार्यमा परियोजनाहरू विकास गर्नेछ र कार्यान्वयनमा ल्याउनेछ ।
पहिलो पटक अमेरिकी सहयोग पूर्ण रूपमा नेपाल सरकारको रेड बुकमा प्रतिबिम्बित हुने भएकाले सहायता सम्झौता दुवै सरकारका लागि प्रस्थान सम्झौता भएको अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्यालले बताए ।
यस वर्ष नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा भएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts