काठमाडौं । राष्ट्रपति सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गरिनुपर्ने बताउनुभएको छ । ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला सुरक्षा दबाब समूहले काठमाडौंमा आयोजना गरेको ‘लैंगिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै
यस्तो बताउनुभएको हो ।
उहाँले सूचना प्रविधिको प्रयोग अत्यधिक बढे पनि यससम्बन्धी आवश्यक ज्ञान, सीप र सचेतना नहुँदा प्रविधिको दुरुपयोग बढ्न थालेकाले उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गरिनुपर्ने आवश्यकता देखिएको जिकिर गर्नुभयो ।
उहाँले संसारभरि बनेका प्रविधि नेपालमा प्रयोग गरिए पनि यसको प्रयोगसम्बन्धी नीति र कानुनको अभाव देखिएकाले आफ्नो मन्त्रालयले कानुन निर्माणलाई प्राथमिकता साथ अघि बढाएको पनि बताउनुभयो ।
सामाजिक सञ्जालमा के राख्न हुन्छ के हुँदैन भन्ने सचेतनाको अभावमा हिंसाका घटनामा वृद्धि हुँदै जानु चुनौतीको रूपमा रहेको औँल्याउँदै मन्त्री शर्माले संविधान र कानुनमा उल्लेख भएका व्यवस्थालाई जनजनमा पुर्याउन प्रविधिको प्रयोग बढाउनुपर्ने बताउनुभयो ।
उहाँले प्रविधिको प्रयोगमा महिलाको पहुुँच बढाउँदै यसको माध्यमबाट महिलाको जीवनस्तरमा परिवर्तन ल्याउनुुपर्ने पनि बताउनुभयो ।
अहिले महिला मन्त्रीले प्रविधि मन्त्रालय सम्हालेको समयमा केही सुरुवात गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै उहाँले यसमा आवश्यक सल्लाह सुझाव दिन आग्रह गर्नुभएको थियो ।
महिला सुरक्षा दबाब समूह कि अध्यक्ष कल्याणी शाहको सभापतित्वमा भएको सो अन्तरक्रिया कार्यक्रममा डा. हेमु काफ्ले विषय प्रस्तोता हुनुहुन्थ्यो । आरती चटौतले सहजीकरण गर्नुभएको कार्यक्रममा लैंगिक विज्ञ डा. मीना पौडेल, पहिलो कम्प्युटर इञ्जिनियर वुनुकेशरी प्रधान लगायतले विषयमाथि आ-आफ्ना भनाइ राख्नुभएको थियो । ७० जनाभन्दा बढीको सहभागिता रहेको कार्यक्रममा इरादा गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो ।






