गुल्मी । गुल्मीमा सडक कालोपत्रेको काम गुणस्तरीय नभएको भन्दै स्थानीहरू आक्रोशित बनेका छन् । जिल्ला सदरमुकाम तम्घासदेखि धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुंगा जाने मोटरबाटोको कालोपत्रेको काम गुणस्तरीय नभएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका हुन् ।
स्थानीयहरूले सडकमा खटिएका प्राविधिकहरूले गुणस्तरहीन काम गरेको भन्दै व्यक्त गरेको आक्रोशलाई ध्यानमा राखेर तत्काल जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्री, रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, जिल्ला प्रहरी प्रमुख नवीनकिशोर प्रधान, अधिकांश सरकारी निकायका प्रमुख, जनप्रतिनिधि, स्थानीयलगायतले निर्माणस्थलमै पुगी अनुगमन गर्नुभएको छ ।
तम्घास–रेसुंगा सडकखण्डको २०७४ साल असार ३० गते १७ करोड १८ लाख ४९ हजार ३९० रुपैयाँ लागतमा सम्झौता भई कालोपत्रे गर्ने जिम्मा रामेछाप कन्स्ट्रक्सन प्रालिले पाएको थियो । तम्घासको खानीगाउँदेखि रेसुंगा महापोखरीसम्म कुल ६ किलोमिटर कालोपत्रे गर्ने जिम्मा पाएको त्यस निर्माण प्रालिले अहिलेसम्म पनि काम सम्पन्न गरेको छैन । ८० प्रतिशत कामको मूल्यांकन देखाउँदै भुक्तानी भने १३ करोड ५२ लाख २८ हजार ६५२ रुपैयाँ निर्माण व्यवसायीलाई दिइएको सडक पूर्वधार विकास कार्यालयका प्रमुख इञ्जिनियर सचितानन्द चौधरीले जानकारी दिनुभयो । तर, भुक्तानीअनुसारको काम नभएको स्थानीयको गुनासो छ ।
कालोपत्रे गर्नका लागि तयार पारिएको बेसमा बिछ्याइएको प्राइम हात वा कुनै वस्तुले कोट्उँदा सजिलै बगरको बालुवाजस्तै आउने भएपछि स्थानीयसहित सरोकारवालासमेतले आक्रोश व्यक्त गरेका हुन् । सडक पूर्वाधार विकास कार्यालय तम्घासले सुपरीवेक्षण गर्नुपर्ने, निर्माण व्यवसायीबाट राम्रो काम लिई राज्यलाई गुणस्तरीय काम दिनुपर्ने दायित्व बोके पनि जिम्मेवारीपूर्वक प्राविधिकहरूले काम नगरेको स्थानीयको भनाइ छ ।
सरोकारवालाहरूले गुणस्तरीय काम गर्न र गराउन दबाब दिएका थिए । सडक पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर चौधरीले गुणस्तर नदेखिएका ठाउँहरूमा पुनः गुणस्तरीय काम गर्ने÷गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले प्राविधिकहरूलाई गुणस्तरीय काम हुने गरी सुपरीवेक्षण गर्न आग्रह गर्दै बजेट अभाव भए त्यसको व्यवस्था आफूहरूले मिलाउने बताउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता