कञ्चनपुरमा अछामी होरीको रौनक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

-देवेन्द्र खड्का

महेन्द्रनगर । हिन्दु धर्मावलम्बीहरुले आ-आफ्नो कला संस्कृति मुल्य मान्यताअनुसार एक आपसमा विभिन्न रङ्ग दलेर होली पर्व मनाउने गर्दछन् । यो पर्वलाई अछाम जिल्लामा भने फरक तरीकाले मनाउने प्रचलन छ । यो पर्वलाई विषेश गरी अछामी भाषामा होरी भन्ने गर्दछन ।

राम सीता बन जानैँ पढ्यो ।
पिताको आज्ञा मान्नैँ पढ्यो ।
१४ वर्ष बन काट्नै पढ्यो ।।
राम सीता बन जानैँ पढ्यो ।।
कैकेइले बर माग्नै पढ्यो ।
राम सीता बन जानैँ पढ्यो ।।
बनका कन्थमुल खानै पढ्यो ।
राम सीता बन जानैँ पढ्यो ।।।

यी अछाममा खेलीने होरीका स्वलोकहरु हुन् । शुक्रवार कञ्चनपुरको भीमदत्त नगरपालिका-१ बाह्कुण्डामा सेतो पहिरन, घाटीमा माला, निधार र गालामा अविर लगाएका पुरुषहरु छुट्टा छुट्टै समुह बनाई गोलाकार आकारमा उक्त स्वलोक गाउदैँ पैदल मिलाउदैँ होरी खेलिरहेका थिए ।

गोलाकार घेराभित्र होरीको स्वलोकको लयसंग बाजा मिलाउदैँ २/४ जना ट्याम्को,नरसिंगा,झ्याली बजाइरहेका थिए भने महिला बालवालिकाहरु उक्त होरी खेलेको हेरीरहेका थिए । पुर्खेली घर अछाम भई हाल बसाइसरी तथा कामको शिलशिलामा कञ्चनपुर रहेका अछामीहरुले प्रत्यक वर्ष कञ्चनपुरको बाह्कुण्डास्थित अछाम सेवा समाजको प्राङगणमा होरी खेल्ने गरेको अछाम सेवा समाज कञ्चनपुरका अध्यक्ष रुप बहादुर रावलले बताउनुभयो ।

‘एकआपसमा रङ दलेर होली खेलिन्छ तर सेतो जामासहितको लुगा लगाएर रङ नलगाई खेल्नु भने होरी हो’ पुर्खेली घर अछामको मार्कु भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका-६ बस्दै आएका नर विश्वकर्माले भने ‘होरी प्राय अछाममा खेलिन्छ तर हामी पुर्खेली घर अछाम भई हाल विभिन्न शिलशिलामा कञ्चनपुर बस्दै आएका अछामीहरु आफ्नो संस्कृति होरीको संरक्षण जगेर्ना गर्ने उद्देश्यले प्रत्यक वर्ष यहाँ(कञ्चनपुर) होरी खेल्छौँ ।’

ADVERTISEMENT

उहाँकाअनुसार होरी अछामीहरुको महत्वपूर्ण पर्व हो । कामको शिलशिलामा भारत तथा परदेशमा रहेका अछामी दाजुभाईहरु होरी खेल्दा लगाइने विभिन्न प्रकारका माला लिएर होरी खेल्न गाउँघर फर्किने गर्दछन् । बनमा लाली गुराँस, सिमल, असुणा ढकमक्क फुलेका हुन्छन र परदेशका दाजुभाई होरी खेल्न गाउँ भित्रिदा गाउँघरमा खुशीयाली छाउछ ।

शिवरात्रीको दिनमा शिवजीको मन्दिरबाट औपचारिक रुपमा होरीको सुरुवात गरेपनि पञ्चमीको दिनदेखि प्रत्येक साँझबाट गाउँगाउँमा आफ्नो पटकानीमा सबै दाजुभाइ मिलेर होरी खेल्ने प्रचलन रहेको छ । सुरुका दिनहरुमा साँझको खाना खाएपछि राती सबै जना पटकनीमा जम्मा भएर सामान्य लुगाको पहिरनमा खेलिन्छ भने तीन चार दिन राती, दिउँसो जामा, पगडी लगाएर खेल्ने गरिन्छ ।

होरीमा गाइने सबै भाका भगवान शिव, पर्वती, राम, सीता, कृष्ण भगवानको नाममा आफ्नै भाषामा देउडा तयार गरी लयहालेर गाउँदै खेलिन्छ । होरीको अन्तिम दिनमा मेलको हाँगा काटेर त्यसमा रंगीचंगी ध्वजापताका लगाउने र त्यसलाई होरी खेल्ने ठाउँमा चीरका रूपमा गाड्ने गरिन्छ । त्यही चीरलाई पूर्णिमाको दिन होरी खेलेर अन्त्यमा परालको मुठासंग आगोले पोलिन्छ । साथै होरी खेल्दा कुनै गल्ति भएको भए गल्तिको क्षमा माग्न देविको नाममा बोकाको बलि समेत दिने गरिन्छ ।

अछाममा खेलिने होरी सहित पुतला,भुवा लगाएतका संस्कृतिको संरक्षण तथा जगेर्ना गर्न कञ्चनपुरमा रहेका अछामीहरुले समेत प्रत्यक वर्ष यहाँ होरी, पुतला, भुव खेल्ने गर्दछन् । पछिल्लो समयमा मौलिक लोकसंस्कृतिअनुसार भन्दा पनि एकआपसमा रङ दलेर होरी खेल्ने प्रचलन बढ्न थालेपछि परम्परागत होरी लोप हुने सम्भावना बढेकाले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नतर्फ सबैले ध्यान दिनुपर्ने भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष महेन्द्र खड्काले बताउनुभयो ।

वडाध्यक्ष खड्काको पुर्खेली घर अछाम हो । अछामी होरीको सुरुवात अछामकै तत्कालीन कालीमाटी गढीका राजा भान शाहको पालाबाट सुरु भएको होरीका जानकार बताउछन्  । भान शाहको विवाह भारतको कुमाउँ गढवालबाट भएकाले त्यहिबाट दाइजोका रूपमा होरी भित्रिएको जनविश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *