सयभन्दा बढी महिलालाई ट्रेकिङ गाइड तालिम

Read Time = 3 mins

काठमाडौं । नेपाल पर्यटन बोर्डले एक सय १२ जना महिलालाई ट्रेकिङ गाइड तालिम प्रदान गरेको छ । बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्तरूपमा सञ्चालित परियोजना जीविकोपार्जनको पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी) को सहयोग तथा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा तालिम सञ्चालन भएको हो ।

उक्त ३५ दिने तालिममा २५ जिल्लाबाट प्रशिक्षार्थी सहभागी थिए । तालिम समापनपछि प्रमाणपत्र तथा ट्रेकिङ गाइड स्रोत पुस्तिकाको विमोचन गर्दै बोर्डका प्रमुख कार्यकारी कार्यकारी अधिकृत तथा परियोजनाका राष्ट्रिय निर्देशक डा. धनञ्जय रेग्मीले पर्यटन क्षेत्रमा भएको जनशक्ति अभाव कम गर्न तालिमबाट सहयोग पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पर्यटनमा यसै पनि दक्ष जनशक्ति अभाव छ, महिला सहभागिता झनै कम छ, यो अवस्थामा महिलालाई तालिम दिन सकिए यो दिगो हुनुका साथै पर्यटन क्षेत्रमा महिला सहभागितासमेत बढ्ने अपेक्षा हामीले गरेका छौँ, साथै यसले रोजगारीको अवसरसमेत सिर्जना हुनेछ ।’

ADVERTISEMENT

बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले तालिमलाई व्यावहारिक बनाउन सैैद्धान्तिक तथा व्यावहारिक कक्षा सञ्चालन गरिएको बताउनुभयो भने पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रूद्रप्रसाद चापागाईंले तालिमले पर्यटनमा महिला सहभागिता बढाउनुका साथै रोजगारीमा समेत योगदान पुग्ने बताउनुभयो । नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिजका अध्यक्ष शिव अधिकारीले पर्यटन क्षेत्रमा जनशक्ति अभाव भइरहेको र भएको जनशक्ति पनि पलायन भइरहेको अवस्थामा आयोजित तालिमले जनशक्ति विकासमा टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा विमोचित ट्रेकिङ गाइडसम्बन्धी स्रोत पुस्तिकामा सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजनसहित ट्रेकिङको सामान्य पर्यटन जानकारी, देशको भूगोल, वातावरण, नेपाली धर्मको इतिहास, अन्तर सांस्कृतिक पर्यटन व्यवहार, पदयात्रा र पर्वतारोहण, पदयात्रामा सुरक्षा, जोखिमलगायतका सामग्री समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज