काठमाडौं । राष्ट्रपति निर्वाचन आउन अब केही दिन मात्र बाँकी रहँदा राजनीतिक दलहरू नयाँ राष्ट्रपति चयनका लागि आन्तरिक छलफलमा छन् । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनको लागि फागुन १३ गते उम्मेदवार मनोनयनको समय तोकिएको छ । राष्ट्रपति चुनावकै कारण राजनीतिक धु्रवीकरण तीव्र बन्न थालेको छ । राष्ट्रपतिको विषयमा दलहरूबीच तीव्र विवाद छ । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्र राष्ट्रपतिमा राष्ट्रिय सहमति बनाएर जानुपर्ने अडानबाट टसमस भएको छैन । सत्तारूढ गठबन्धनको मुख्य घटक नेकपा एमाले सरकार गठनको बेला पुस १० गते भएको सहमतिअनुसार राष्ट्रपति पद आफूले पाउनुपर्ने अडानबाट पछि हटेको छैन । पूर्वसहमति कार्यान्वयन नभए वर्तमान सात दलीय गठबन्धन भंग हुने एमालेले चेतावनी दिइरहेको छ । राष्ट्रपतिमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पटक-पटक छलफल भए पनि सहमति जुट्न सकेको छैन ।
दुई महिनाअघि आफ्नै नेतृत्वको गठबन्धन जोगाउन नसक्दा राज्यशक्तिका सबै पद गुमाएको कांग्रेस राष्ट्रपति निर्वाचनसँगै सत्ताको केन्द्रमा फर्कने प्रयासमा छ । यो विश्वासका आधार प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल हुन् । जसले कांग्रेस सभापति शेरबहादुर देउवा मात्र होइन, प्रभावशाली नेताहरूलाई समेत भेटेर राष्ट्रपतिमा एमालेलाई नभएर कांग्रेसलाई सघाउने स्पष्ट वचन दिनुभएको स्रोतको दाबी छ । राष्ट्रपतिको चुनाव नजिकिएसँगै राष्ट्रपतिको विषयले राजनीतिक दलहरूमा खिचातानी थप बढ्दै गएको छ । राजनीतिक दलहरूले उम्मेदवार प्रस्तुतसमेत गर्न सकेका छैनन् । तर, दलहरू राष्ट्रपति निर्वाचन आफ्नो पक्षमा पर्ने दाबी गर्न छोडेका छैनन् ।
सत्ता गठबन्धनको जन्मकुण्डलीमै राष्ट्रपति एमालेको हुने लेखिएको छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता समीकरण जन्मँदै राष्ट्रपति नेकपा एमालेको हुने भनेर लेखिएको दाबी गर्नुभएको छ । अध्यक्ष ओलीले आफ्नो पार्टीले जसलाई उठायो उही राष्ट्रपति बन्ने दाबी गर्दै भन्नुभयो, ‘राष्ट्रपति को हुने भनेर पहिला नै तय छ । अहिलेको समीकरण जन्मँदै त्यसको जन्मकुण्डलीमै लेखेर आएको छ उतिबेलै ।’
राष्ट्रपतिमा सबैको सहमति हुनुपर्छ भन्ने आवाज पनि उठेको छ नि ? भन्ने प्रश्नमा अध्यक्ष ओलीले भन्नुभयो, ‘सही कुरा हो, हामीले उम्मेदवार उठाउँछौँ, सबैको सहमति हुनुपर्छ ।’ वर्तमान समीकरण सोचविचार गरेर नै बनाएको भन्दै अध्यक्ष ओलीले एमालेले उठाउने राष्ट्रपतिको उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले समर्थन गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
मनोनयनको दिन मात्रै उम्मेदवार सार्वजनिक गर्ने
नेकपा एमालेले पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवारको नाम उम्मेदवारी मनोनयन दर्ता अर्थात् फागुन १३ गते मात्र गर्ने भएको छ । नेकपा एमालेमा झण्डै आधार दर्जन नेताहरूले राष्ट्रपतिमा आकांक्षा राख्नुभएको छ । तर, अध्यक्ष ओलीले अहिलेसम्म राष्ट्रपतिको बारेमा आफूले कुनै पनि नाम नलिएको र १३ गते मात्रै नाम लिने जानकारी दिँदै भन्नुभयो, ‘हामीले जो उम्मेदवार बनाउँछौँ त्यही राष्ट्रपति बन्छ । मैले अहिलेसम्म कसैको नाम लिएको छैन । मैले १३ गते नाम लिन्छु ।’
राष्ट्रपति चुनावमा राजनीतिले कोर्स फेर्छ : अध्यक्ष नेपाल
पूर्व–प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्थामा रहेको दाबी गर्नुभएको छ । राष्ट्रपति निर्वाचनपछि मुलुकको राजनीतिले कुन कोर्स लिन्छ भन्ने टुंगो लाग्ने दाबी गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘त्यो गठबन्धनको सरकार भत्केपछि कांग्रेसले, एकीकृत समाजवादीले काँध थाप्ला कि भनेर त्यहाँ चिन्ता सुरु भइसकेको छ । ढोक्सा थाप्ने भनेको त्यही हो । त्यताबाट आएपछि यता जोगाउँछन् कि भनेको यही हो । त्यसो हुनाले मुलुकको राजनीतिले कुन कोर्स लिने हो ? राष्ट्रपतिको चुनावबाट थाहा भइहाल्छ ।’
सबैले समर्थन गर्ने व्यक्ति राष्ट्रपति हुनुपर्छ : महासचिव गुरुङ
सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सबै राजनीतिक दलहरूले समर्थन गर्नसक्ने व्यक्तिलाई राष्ट्रपति बनाउने दाबी गर्नुभएको छ । राष्ट्रिय अस्मितामाथि खतरा हुनसक्ने, अराजकता र अस्थिरता निम्तिने र त्यसले गर्दा संविधान तथा राष्ट्रियतामाथि नै जोखिम पर्ने भएकाले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने जिकिर गर्दै महासचिव गुरुङले भन्नुभयो, ‘अहिले शक्तिकेन्द्र खेलिरहेको अवस्था छ । राष्ट्रियताको रक्षका लागि राष्ट्रपति साझा बनाउन पर्छ । त्यसो गर्न सकेनौँ भने मुलुकको अस्मितामाथि गम्भीर संकट सिर्जना हुन्छ ।’
भावी राष्ट्रपति कांग्रेसबाटै हुन्छ : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले उठाउने उम्मेदवारले राष्ट्रपति चुनाव जित्ने दाबी गर्नुभएको छ । संसद्मा सबैभन्दा ठूलो दल कांग्रेस भएकाले आफूहरूले उठाएको उम्मेदवार राष्ट्रपति हुने दाबी गर्दै महामन्त्री शर्माले भन्नुभयो, ‘नेपाली कांग्रेसको आफ्नै कमजोरीका कारण सत्ता गुम्यो, यसमा कसैलाई दोष दिनु छैन । यही फागुन २५ गते राष्ट्रपतिका लागि निर्वाचन हुँदै छ, त्यहाँ कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएको समाचार तपाईंहरूले सुन्न पाउनुहुनेछ ।’ केही सामान्य घटनाले नेकपा एमालेसँग नेकपा माओवादीले गठबन्धन गरी सरकार बनाए पनि चुनावका बेला गरिएको कांग्रेससँगको गठबन्धनका आधारमा माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने जिकिर गर्दै महामन्त्री शर्माले भन्नुभयो, ‘अहिले एमाले अध्यक्ष ओलीले कांग्रेसले राष्ट्रपतिका लागि ढोक्सा थापेको भन्नुभएको छ, हामीले ढोक्सा थापेको होइन । ओलीले एक्कासि एम्बुस थापेर बनाएको जस्तो गठबन्धन हाम्रो थिएन, हामी चुनावबाटै एक भएर आएका थियौँ ।’
कांग्रेससँग गठबन्धनको विकल्प छैन : उपमहासचिव यादव
सत्तारूढ दल नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले राष्ट्रपति निर्वाचनमा पार्टीले राष्ट्रिय सहमतिका लागि अधिकतम प्रयास गर्ने बताउनुभएको छ । राष्ट्रपति निर्वाचनमा एमालेका कारण राष्ट्रिय सहमति बन्ने अवस्था नदेखिएको खण्डमा विकल्प सोच्नुपर्ने पक्षमा आफूहरू रहेको स्पष्ट पार्दै उपमहासचिव यादवले भन्नुभयो, ‘एमाले अध्यक्ष केपी ओलीजीले सुरुदेखि नै दम्भ देखाउनुभयो । सम्राट् बन्न खोज्नुभयो । प्रधानमन्त्री प्रचण्डजीलाई पेल्न खोज्नुभयो । एमालेले नै राष्ट्रिय सहमतिका लागि सर्वस्वीकार्य व्यक्तित्व दियो भने त्यो हुनसक्छ । तर, उहाँ (ओलीले) हामीले नै भनेको व्यक्ति हुनुपर्छ भन्ने हो भने हामीसँग नेपाली कांग्रेससँग गठबन्धनको विकल्प छैन ।’
राष्ट्रिय सहमतिमै राष्ट्रपति बनाउने पक्षमा जसपा
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफल सुरु गरेको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे अन्य दलहरूसँग छलफल गर्दै आएको सो पार्टीले आइतबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाई सो विषयमा छलफल सुरु गरेको हो ।
पार्टीका प्रवक्ता प्रकाश अधिकारीले जसपा पनि राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनोस् भने पक्षमा रहेको बताउनुभयो । उहाँका अनुसार फागुन २५ गते हुने राष्ट्रपतिको चुनावको विषयमा पनि बैठकमा छलफल भएको छ । बैठकमा राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिको आधारमा हुनुपर्ने र सोही लाइनमा जसपा पनि जाने कुरामा छलफल भएको बताइएको छ ।
बैठकमा पार्टीको विधान अधिवेशनको तयारीका विषयमा पनि छलफल गरिएको थियो । विधान अधिवेशन र त्यसको समयतालिका सहितको विषयमा बैठकमा छलफल गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीको बैठकमा मुख्यतया पार्टीको विधान अधिवेशन र त्यसको समयहरूको सवाल र समसामयिक राजनीतिका विषयमा छलफल भयो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे पार्टीको ध्यानाकर्षण भएको छ । पार्टीमा त्यसबारे अहिले औपचारिक निर्णय भइसकेको छैन । किनभने कुनै फिचर क्लियर भइसकेको छैन । कुनै पनि उम्मेदवारहरूको बारेमा टुंगो पनि लागिसकेको छैन । छलफल सबै राजनीतिक दलहरूसँग जारी छ । पछि पार्टीले निर्णय गर्छ ।’ सरकारलाई समर्थन गरेको जसपाले उपराष्ट्रपतिमा दाबी गर्दै आएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता