तत्काल सरकारमा नजाने रास्वपाको निर्णय, पार्टीको केन्द्रीय समिति सदस्य ४० पुग्यो

नारायण भण्डारी
नारायण भण्डारी
Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय वसुन्धरामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि निर्णयहरू सुनाउँदै पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले तत्काल सरकारमा नजाने निर्णय भएको बताउनुभयो । उहाँले सत्तारूढ दलहरूले आफ्नो पार्टीसँग भएको सहमति तोडिसकेपछि आफू सरकारमा नबसेको स्पष्ट पार्नुभयो ।

उहाँले सत्तारूढ दलहरूले अझै सरकारमा आउन आग्रह गरे पनि पार्टीसँग भएको सहमति कार्यान्वयन नभई आफूहरू सरकारमा नजाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले सरकारमा जाने वा नजाने भन्नेबारेमा धेरै छलफल गरेनौँ । किनभने एउटा सहमति कायम गरेर हामी सरकारमा गएका थियौँ र सहमति तोडिएको जस्तो आभास भइसकेपछि हामी सरकारबाट बाहिरिएका हौँ । पुनः सहमति हुनसक्यो र नागरिकको काम गर्ने अवसर आए हामी जान पनि सक्छौँ ।’ गृह मन्त्रालय नपाएपछि रास्वपा २२ माघमा सरकारबाट बाहिरिएको थियो, तर समर्थन फिर्ता लिएको छैन ।

पछिल्लोपटक उच्चस्तरीय राजनीतिक समितिको बैठकमा रास्वपाले चितवन २ मा उपचुनाव मिति घोषणाको माग गरेको थियो भने सत्तारूढ दलका नेताहरूले सरकारमा आउन आग्रह गरेका थिए । चितवन २ मा आगामी १० वैशाखमा उपचुनाव हुने तय भएको छ । सोमबारको बैठकले उपचुनाव घोषणाको स्वागत गरेको छ र चुनावमा जान तयार रहने निर्णय गरेको छ ।

ADVERTISEMENT

सहमहामन्त्री बुर्लाकोटीका अनुसार चितवन २ मा कसलाई उम्मेदवार बनाउने भन्ने औपचारिक निर्णय भएको छैन, तर सभापति रवि लामिछाने आफैँ उम्मेदवार हुनेमा कुनै विवाद छैन ।

१६ जना केन्द्रीय सदस्य मनोनीत
त्यस्तै, बैठकले पार्टीको केन्द्रीय समिति सदस्य २४ जनाबाट विस्तार गरेर ४० जनाको बनाएको छ । सोमबार नयाँ केन्द्रीय समिति सदस्यका रूपमा १६ जना चयन भएका हुन् । मनोनीत हुनेमा निशा मेहता, विन्ध्यवासिनी कंसाकार, रूपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टीका संग्रौला, हरि भट्ट, धु्रव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री हुनुहुन्छ । यस्तै, बैठकले अभियान तथा प्रचारप्रसार विभाग, प्रवासी नेपाली सम्पर्क विभाग, प्रशिक्षण विभाग, संगठन विभाग, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित विभाग लगायतका २२ वा विभाग निर्माण गरी विभाग प्रमुख तोकेको छ । सुदूरपश्चिम प्रदेश इञ्चार्ज ज्ञानेन्द्र महतारा मनोनयन हुनुभएको सहमहामन्त्री बुर्लाकोटीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?