काठमाडौं । ट्रिटन इन्टरनेसनल कलेजले दोस्रो ट्रिटन नमुना सांसद कार्यक्रम आयोजना गरेको छ । नयाँ युवा नयाँ सोच नेपालको सहकार्यमा नेपालको संघीय संसदीय अभ्यासबारे प्रशिक्षण एवं सहभागीलाई व्यवस्थापिका, कार्यपालिकाका विभिन्न जिम्मेवारी प्रदान गरी व्यावहारिक अनुभव गराउने उद्देश्यका साथ काठमाडौं उपत्यकासहित देशका ३५ कलेजमा कानुन संकाय अध्ययनरत एक सय ६५ विद्यार्थीको सहभागितामा माघ २८ देखि २९ गतेसम्म कार्यक्रम भएको हो । माघ २८ गते दिनभर प्रशिक्षक विनोद खत्रीले सहभागीलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो भने माघ २९ गते नमुना सांसदमा छनोट भएका जम्मा ८८ जनामात्रै सहभागी भएको कलेजकी प्रमुख कार्यकारी अधिकृत ऋतु न्यौपानेले जानकारी दिनुभयो ।
नमुना सांसद कार्यक्रममा सहभागीलाई स्वयं सत्तापक्ष एवं प्रतिपक्षमा विभाजन गरी सांसद, मन्त्री, प्रधानमन्त्री, सचेतकलगायत विभिन्न जिम्मेवारी प्रदान गरी संसद् अधिवेशन आहृवान हुँदै शून्य समय, विशेष समय तथा नेपाल नागरिकता (संशोधन विधेयक), २०७९ पेश गर्दै सोउपर छलफल र संशोधनसहित पारित गरिएको थियो । समापन कार्यक्रममा पूर्वउपसभामुख एवं मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले नेपालको संसद्मा भएका कमीकमजोरीसमेत सुधार गरी अझै परिष्कृतरूपमा युवाले कार्यक्रमहरू विद्यालयस्तरीय, नगरस्तरीय, प्रदेशस्तरीय हुँदै देशव्यापीरूपमा आयोजना गर्दै जानुपर्ने बताउनुभयो । भोजपुर जिल्ला साल्पा सिलिछो गाउँपालिका अध्यक्ष दौलथ राईले राज्य सञ्चालनबारे जानकारी गराउने यस्ता कार्यक्रम प्रत्येक स्थानीय तहहरूमा समेत आयोजना हुनुपर्ने बताउनुभयो ।
नयाँ युवा नयाँ सोचका अध्यक्ष मुकुन्ददिप मडैका अनुसार प्रतियोगितामा तीनवटा विधा पुरस्कारस्वरूप राखिएकोमा उत्कृष्ट बहसकर्ता एलिशा शाही, सान्त्वना पुरस्कार समिर लामिछाने, उत्कृष्ट अनुसन्धानकर्ता स्मृति शर्मा, सान्त्वना पुरस्कार निशा घिमिरे तथा उत्कृष्ट नेतृत्वकर्ता दृश्या काफ्ले, सान्त्वना पुरस्कार रामकृष्ण अधिकारीले प्राप्त गर्नुभएको आयोजकले जनाएको छ ।






