काठमाडौं । नवीकरण फेल भएका बाइकधनीले छुट पाउने भएका छन् । यातायात व्यवस्था कार्यालय काठमाडौंले मोटरसाइकलको कर नबुझाएकालाई फागुन मसान्तसम्म कर बुझाएमा छुट प्रदान गर्ने भएको छ । आर्थिक वर्ष २०७०/०७१ देखि कर बुझाउन बाँकी रहेकाले अहिले कर बुझाएमा छुट दिइनेसमेत कार्यालयले जनाएको छ ।
बागमती प्रदेश आर्थिक ऐन २०७९ को दफा १८ ले आर्थिक वर्ष २०७०/०७१ देखि आर्थिक वर्ष २०७५/०७६ सम्म तोकिएबमोजिम कर तथा नवीकरणसमेत भुक्तानी नगरेका सवारीधनीले फागुनभित्र कर बुझाउन आएमा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ अनुसार लाग्ने सो अवधिको जरिवाना छुट दिने कार्यालयले जनाएको छ ।
प्रयोगमा नभएका सवारीसाधन चालु आर्थिक वर्षसम्मको कर नवीकरण तथा जरिवाना रकम भुक्तानी गरी विधिवत् लगतकट्टा गर्नसमेत कार्यालयले सवारीधनीलाई सूचित गरेको छ । सवारीसाधन कर नतिरेमा सरकारी बक्यौतासरह असुलउपर गरिने पनि कार्यालयले स्पष्ट पारेको छ ।






