इस्तानबुल । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म नौ हजार पाँच सय ७८ जनाको मृत्यु भएको छ । पछिल्लो समयसम्म टर्कीमा सात हजार एक सय आठ सय र सिरियामा दुई हजार चार सय ७० जनाले ज्यान गुमाएका दुवै देशका सरकारी अधिकारीहरूले बताएका छन् ।
टर्कीमा मात्र ४० हजारभन्दा बढी घाइते भएका छन् । प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको छ । यद्यपि उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन् ।
करिब ६ हजार भवन भत्केकाले ज्यान गुमाउनेको संख्या बढ्ने प्रभावित क्षेत्रमा खटिएका उद्धारकर्मी र चिकित्सकले बताएका छन् । उद्धार तथा राहतको अनुगमन एवं समन्वय गरिरहेका संयुक्त राष्ट्रसंघका अधिकारीले २० हजार मानिस हताहत भएका अनुमान गरेका छन् । भूकम्पबाट अति प्रभावित १० प्रान्तमा तीन महिने आपत्काल घोषणा गरिएको छ ।
अन्तर्राष्ट्रिय समुदायले टर्की र सिरियामा राहत सामग्रीसहित उद्धारकर्मी परिचालन गरेको छ । बेलायतका नवनियुक्त सत्तारुढ कञ्जरवेटिभ पार्टीका अध्यक्षले टर्कीको अनुरोधअनुसार थप सहायता उपलब्ध गराउने बताएका छन् । युरोपेली संघ, रुसी महासंघ, इजरायल, चीन, भारत, पाकिस्तान, ग्रिस, जर्मनी, लेबनान, दक्षिण कोरिया, जापान, अष्ट्रेलियाले पनि आफ्नो सामथ्र्यनुसार आर्थिक एवं भौतिक सहायता उपलब्ध गराएका छन् । इजरायल, चीन र भारतले चिकित्सक, इन्जिनियर र भारी उपकरणका साथ उद्धारकर्मी परिचालन गरेका छन् । रासस/सन्हृवा/एपी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता