विराटनगर । उद्योग संगठन मोरङका प्रतिनिधि र नेपालस्थित अमेरिकी राजदूत डिन आर थोम्सनबीच दुई देशकोे व्यापारका विविध आयाम र द्विपक्षीय व्यावसायिक हितका बारेमा छलफल भएको छ ।
सो अवसरमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले अमेरिकाले नेपाललाई सहुलियतपूर्ण प्रवेशको अनुमति दिएका ७७ वटा वस्तु खासै निर्यात हुन नसकेको भन्दै उक्त वस्तुको सूची पुनरवलोकन गर्न आग्रह गर्नुभयो । उहाँले ऊर्जाका क्षेत्रमा नेपालमा भइरहेको लगानी रन अफ रिभरमा आधारित रहेकाले आगामी दिनमा अमेरिकी सरकारले एमसिसी जस्ता ठूला र दीर्घकालीन महत्व राख्ने परियोजनाअन्तर्गत लगानी गर्दा जलाशययुक्त विद्युत्गृह र नेपालको जलमार्ग विकासतर्फ लगानी गर्न सुझाव दिनुभयो ।
साथै अध्यक्ष प्याकुरेलले नेपालको उद्योग व्यवसायको प्रतिस्पर्धी क्षमता र उत्पादकत्व अभिवृद्धिका साथै हरित उत्पादनलाई दृष्टिगत गरी अमेरिकाले प्रयोगमा ल्याएको नवीनतम् प्रविधि प्रयोग र हस्तान्तरणमा सहजीकरण तथा अनुभव आदानप्रदानमा सहयोग गर्न पनि आग्रह गर्नुभयो । राजदूत डिन आर थोम्सनले नेपाल र अमेरिकाबीचको व्यावसायिक विस्तारका लागि आफू सदैव सकारात्मक रहेको भन्दै अमेरिकाले सहुलियतपूर्ण निकासीका लागि अनुमति दिएको वस्तुका सूची पुनर्विचार गर्न पहल गर्ने आश्वासनसमेत दिनुभयो ।
संगठनले अमेरिकाले नेपाललाई सहुलियतपूर्ण प्रवेशको अनुमति दिएका ७७ वटा वस्तु खासै निर्यात हुन नसकेको भन्दै उक्त वस्तुको सूची पुनरवलोकन गर्न आग्रह गरेको छ ।
निजी क्षेत्रको विकास र विस्तारले देशको आर्थिक विकासमा दूरगामी महत्व राख्ने उल्लेख गर्दै दुवै देशको व्यापारिक हितलाई मध्यनजर गरी सहयोगका लागि आफूले सहजीकरण गर्ने उहाँले बताउनुभयो । सो अवसरमा राजदूत थोम्सनले उद्योग संगठनमा रहेको अमेरिकन कर्नरको अवलोकन गरी विराटनगरमा रहेका अल्मुनाइबीच अन्तरक्रियासमेत गर्नुभयो ।
कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका, उपाध्यक्ष राजकुमार गोल्छा, नन्दकिशोर राठी, कोषाध्यक्ष विपिन कावरा, सदस्य प्रतिभा रिजाल ओली, सुशील रिजाल, सौरभ सारडा, पारस लुनिया, इन्द्र खत्री, सुदिप घिमिरेलगायतको सहभागिता रहेको संगठनले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts