काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरक्षित उडानका लागि भन्दै विभिन्न छ मापदण्ड पालनाका लागि निर्देशन दिएको छ । नेपालको उडान सुरक्षालाई नियमितरूपमा अद्यावधिक गरेर थप सुदृढीकरण गरी हवाई यातायात सेवा अझै सुरक्षित, भरपर्दो, मर्यादित तथा अनुशासित बनाउने र हवाई सेवा प्रदायक निकायको सेवा सञ्चालनप्रतिको व्यावसायिक जिम्मेवारी तथा जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले नयाँ लागू गरिएको प्राधिकरणले जनाएको छ ।
जसअन्तर्गत हेलिकप्टरबाहेक अन्य वायुयानले भिएफआर फ्लाइटअन्तर्गत स्टाविलाइज्ड एप्रोच गर्दा सर्ट केट अफ र ल्याण्डिङ एसटिओएल विमानस्थलहरूमा जमिन सतहबाट कम्तीमा पाँच सय फिट तथा अन्य विमानस्थलमा कम्तीमा एक हजार उचाइ अनिवार्य कायम गर्नुपर्नेछ ।
त्यस्तै, स्टोल विमानस्थलको उडानमा रहेको फ्लाइट टाइम लिमिटेसन अधिकतम् प्रतिदिन आठ घण्टाबाट घटाएर सात घण्टा कायम गर्नुपर्ने, नन स्टोल विमानस्थलको उडानमा रहेको फ्लाइट टाइम लिमिटेसन अधिकतम् प्रतिदिन आठ घण्टाबाट घटाएर सात घण्टा र प्रतिदिन १० वटा कायम रहेको उडान÷अवतरणलाई आठवटा कायम गर्नुपर्ने लगायत रहेका छन् ।






