नेपाल र भारतको उत्तर पूर्वीबीच कनेक्टिभिटीमा जोड

Read Time = 6 mins

काठमाडौं । भारतको उत्तरपूर्वी क्षेत्र र नेपालबीचको कनेक्टिभिटी परियोजना अध्ययनका क्रममा नेपाल भ्रमणमा आएको भारतको उत्तरपूर्वी विकास वित्त निगम लिमिटेड(नेडफी) र नेपाल उद्योग वाणिज्य महासंघबीच भेटवार्ता भएको छ । सो अवसरमा महासंघतर्फबाट अध्यक्ष शेखर गोल्छा, महानिर्देशक गोकर्णराज अवस्थी र जेएनयुका वरिष्ठ प्राध्यापक एवं नेपालसम्बन्धी जानकार महेन्द्र पी लामाको नेतृत्वमा नेपाल भ्रमणमा आएको निगमको तीन सदस्यीय टोली सहभागी थियो ।

दुुई देशबीचको व्यापार तथा लगानीको पछिल्लो अवस्थाका साथै हालको व्यापार तथा लगानीको अवस्थामा सुधारका विषयमा छलफल भएको बताइएको छ । नेपाल र भारतबीचको उत्तरपूर्वी क्षेत्र र अन्य दक्षिण एसियाली देशबीच क्षेत्रीय मूल्य शृंखला विकासका सम्भावनाबारे पनि सो अवसरमा छलफल भएको महासंघले जनाएको छ ।

सो अवसरमा दुुई देशले प्रयोग गर्दै आएका व्यापारिक नाकामा रहेका अवरोध, आयात निर्यातमा थप सहजीकरणको पहल, लगानी विस्तार तथा निर्यातमा रहेका समस्यामाथि सुुझाव दिन भारतीय टोलीले आग्रह गरेको थियो । आयात/निर्यातसम्बन्धी नीतिगत समस्या, पूर्वाधार, सीमा सुरक्षा, प्राविधिक तालमेललगायतका विषयमा पनि छलफल भएको बताइएको छ । महासंघका अध्यक्ष गोल्छाले दुई देशबीच विशिष्टिकृत सम्बन्ध रहेको र आर्थिक विकासको प्रयासमा पनि नेपालले सधैँ भारतीय सहयोगको अपेक्षा गरेको बताउनुुभयो ।

उहाँले दुुई देशबीचको व्यापारिक नाकाको अवस्था अत्यन्त कमजोर रहेको, चिया, अलैंची, अदुवालगायतका नेपाली कृषि उत्पादन भारतीय ब्राण्डको नाममा विश्व बजारमा जाने गरेकाले भारतीय पक्षबाट उदारतापूर्वक सहयोग हुनुुपर्ने बताउनुभयो । कृषि उत्पादन परीक्षणका नाममा गैरभन्सार अवरोधका कारण नेपाली निर्यातकर्ताले ठूलो नोक्सानी बेहोर्नुपरेको, हाल भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली उद्योगमा समस्या परेकोमा पनि गोल्छाले ध्यानाकर्षण गराउनुभयो । नाकाहरू कमजोर रहँदा नेपालको पारवहन/ढुवानी खर्च अत्यन्त महँगो हुन गई भारतसहित तेस्रो मुलुुकका बजारमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको उहाँको भनाइ थियो । नेपाली उत्पादन भारतीय बजारका साथै बंगलादेशलगायत तेस्रो मुलुकमा सहज निर्यातमा भारतीय पक्षबाट सहयोग हुनुुपर्ने, निर्यात नाका विस्तार तथा स्तरीकरणमा सहयोग गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

ADVERTISEMENT

यसअघि जस्तोसुकै अवस्थामा आपसी व्यापार भए पनि अबको समयमा क्षेत्रीय सन्निकटता (कनेक्टिभिटी) लाई विस्तार गर्दै आर्थिक गतिविधि, लगानी प्रवद्र्धन स्मार्ट तरिकाले गर्नुपर्ने गोल्छाको सुझाव थियो । साथै उहाँले आगामी मार्चमा काठमाडौंमा नेपाल भारत लगानी सम्मेलन हुने जानकारी गराउँदै पूर्वाधार विकासमा ठूलोमात्रामा भारतीय लगानीको अपेक्षा नेपाली निजी क्षेत्रले गरेको पनि बताउनुुभयो । नेडफीले भारतको उत्तरपूर्वी क्षेत्रमा औद्योगिक, पूर्वाधार, कृषि सम्बद्ध परियोजना स्थापना गर्न लघु, साना, मझौला र ठूला उद्यमलाई वित्तीय सहायता प्रदान गर्दै आएको र नेपालसँग पनि कसरी सहकार्य गर्न सकिन्छ भनी अध्ययन गर्न नेपाल आएको नेडफीका अध्यक्ष मूर्तिले जानकारी गराउनुभयो ।

जेएनयुका वरिष्ठ प्राध्यापक लामाले दुवै देशबीच रहेका नीतिगत, संरचनागत, पूर्वाधार, कार्य तौरतरिका, प्रविधिलगायतका असमानता न्यूनीकरण गर्दै आर्थिक विकासमार्फत् आपसी लाभ लिने कार्यमा कसरी संयुक्तरूपमा अगाडि बढ्न सकिन्छ भन्ने अध्ययन गर्न आफूहरू नेपाल भ्रमणमा आएको स्पष्ट पार्नुभयो ।

उहाँले हाल कायम रहेका नाकाका अतिरिक्त ताप्लेजुङको चिवा नाकालगायत थप अन्य नयाँ नाका खोली आर्थिक गतिविधि थप विस्तार गर्नुपर्ने सुुझाव दिनुुभयो । तीन नाका खोल्दा ताप्लेजुङ, पाथीभरा, सिक्किमसहित सो क्षेत्रका अन्य जिल्ला जोड्ने र त्यसबाट ठूलो लाभ उठाउन सकिने उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज