गाडीलाई विलासिताको सूचीमा नराख्न आग्रह

Read Time = 4 mins

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले अध्यक्ष धु्रव थापाको नेतृत्वमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी अटोमोबाइल क्षेत्रका समसामयिक समस्याबारे ध्यानाकर्षण गराएको छ । सो अवसरमा अर्थमन्त्री पौडेलले सवारीसाधनलाई सरकारले विलासिताको वस्तुमा वर्गीकरण गरेको बारेमा आगामी बजेटसम्बन्धी छलफलमा नाडाका प्रतिनिधिलाई सहभागी गराउने आश्वासन दिनुभएको छ । अध्यक्ष थापाले सवारीसाधनलाई सरकारले विलासिताका वस्तुमा वर्गीकरण गरी सोहीअनुरूप नीति निर्माण भइरहेको गुनासो गर्दै सवारीसाधनलाई सो वर्गीकरणबाट हटाउन आग्रह गरेपछि अर्थमन्त्रीले उक्त आश्वासन दिनुभएको नाडाले जनाएको छ ।

अध्यक्ष थापाले सरकारले आयातमा एलसी खोल्दा अनिवार्य नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको, आठ महिनादेखि निजी प्रयोजनका डिजेल र पेट्रोल कार, जिप र भ्यान आयातमा प्रतिबन्ध खुला गरेकोमा आभार व्यक्त गर्दै सरकारको पछिल्लो निर्णयले अटोमोबाइललगायतका व्यवसायलाई राहत मिल्ने बताउनुभयो । तथापि उहाँले नेपाल राष्ट्र बैंकका अन्य केही नीतिका कारण अटोमोबाइल व्यवसायी व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था कायमै रहेको पनि बताउनुभएको छ ।

ADVERTISEMENT

थापाका अनुसार हाल लाखौंको संख्यामा रहेका कर्मचारी तथा मजदुरले आफ्नो रोजगारीसमेत गुमाइरहेका मात्र छैनन्, भन्सार नाकामा छ महिनादेखि करिब तीन हजार सवारीसाधनको भन्सार जाँचपाससमेत हुन नसकेको अवस्था छ । अध्यक्ष थापाले अटोलोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई एक सय ५० प्रतिशतबाट ७५ प्रतिशत नै कायम गरिनुपर्ने, सुस्ताएको अटोमोबाइल व्यवसाय गतिशील बनाउन बैंकबाट निजी सवारीसाधनको हायर पर्चेज लोन प्रवाह प्रक्रियामा हालको ५० प्रतिशत सीमा वृद्धि गरिनुपर्ने र चालु पुँजी कर्जासम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुँदा संशोधन गरिनुपर्ने बताउनुभएको छ ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले भारतसँगको व्यापारलाई सहज बनाउन र भारतीय लगानी आकर्षित गर्न इण्डियन इकोनोमिक जोड स्थापना गरिनुपर्ने, नेपालमा सवारीसाधन एसेम्बलिङ उद्योग जस्तैै अटोमोबाइल स्पेयर पार्ट्स उद्योगको प्रशस्त सम्भावना रहेकाले लगानी आकर्षित र उद्योग खोल्न प्रोत्साहित गर्न कृषि र पर्यटन उद्योग जस्तै सुविधा प्रदान गरिनुपर्ने बताउनुभयो । अर्थमन्त्री पौडेलले नाडाबाट प्रस्तुत माग सम्बन्धमा सरकार गम्भीर रहेको भन्दै माग सम्बोधनका लागि पहल भइरहेको जानकारी गराउनुभएको थियो । छलफलमा कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, सदस्यद्वय निराकार श्रेष्ठ, आकाश गोल्छा, वरदान बस्नेत र सोहन श्रेष्ठको सहभागिता रहेको नाडाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?