काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सोमबार काठमाडौंमा साना तथा मझौला उद्योगहरू(एसएमइजे) को सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
महिला उद्यमीलगायत लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसाय क्षेत्रको विकास, विस्तार एवं प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । सम्मेलनका क्रममा एसएमइजेका लागि आवश्यक नीतिगत व्यवस्था, वित्तीय पहुँच, बजार प्रवद्र्धन, निर्यात प्रवद्र्धन, अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभावलगायतका विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुुतिका साथै सामूहिक छलफल हुनेछन् । मुलुुकको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा लघु, घरेलु, साना तथा मझौलाको रहेको छ ।
देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा उद्योग क्षेत्रको योगदान ५.६ प्रतिशत रहेकोमा एसएमइजेको अंशमात्र ९० प्रतिशत रहेको र सो क्षेत्रमा करिब १७ लाख रोजगारी सिर्जना भएको बताइएको छ । एकदिने सम्मेलन उद्घाटन कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उद्योग सचिव डा. तोयनारायण ज्ञवाली, युनिसेफ, आइएफसी, आइएलओका अधिकारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनको प्राविधिक पहिलो शत्र ठूला तथा साना उद्योगबीच व्यावसायिक सम्बन्ध, दोस्रो सत्र वित्तीय पहुँच, तेस्रो सत्र वस्तु बजारीकरण/निर्यात/अतिकम विकसित मुलुकबाट स्तरोन्नति÷युवा उद्यमशीलता विषयमा सामूहिक छलफल हुनेछ । समापन सत्रमा महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डिबी बस्नेत र महिला उद्यमी विकास समितिका सभापति रिता सिन्हाले सम्बोधन गर्ने आयोजकले जनाएको छ ।
महासंघको घरेलु तथा साना उद्योग समिति र महिला उद्यमी विकास समितिको अग्रसरतामा आयोजना हुने सम्मेलनमा प्रदेश उद्योग वाणिज्य संघ, जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघ, वस्तुगत संघ, सरकारका प्रतिनिधि, महिला, लघु, घरेलु, साना तथा मझौला उद्यमीलगायतका करिब तीन सय प्रतिनिधिको सहभागिता रहने बताइएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts