✍️ अरुणकुमार पाण्डे
बालीनाली भित्र्याएपछि अर्को वर्षका लागि बिउ छुट्याएर, देव पितृलाई छुट्याएर ईश्वरमा अर्पण गरेरमात्रै न्वागीका रूपबाट खान थाल्ने, नयाँ पुरानो मिसाएर खानुपर्छ भनेर अर्को बाली नपाकेसम्मका लागि अन्नको जोहो गर्ने । अनिकालमा पनि बिउ मासेर खानु हुँदैन भन्ने हाम्रो समृद्ध कृषि संस्कृति र परम्परा आज धरापमा परेको छ ।
हाइब्रिड बिउबिजनले नेपाली कृषि सम्पदा लोप हुँदै गएको छ । उत्तम खेती, मध्यम व्यापार अधम जागिर भनेर कृषिलाई सम्मानित पेशामा राख्ने हाम्रो परम्परामा अहिले ठ्याक्कै उल्टो मान्यता स्थापित भएको छ आज हाम्रा जग्गाजमिनको अवस्था के छ जगजाहेर छ ।
२०७२ सालको भूकम्पपछि त कसैको अन्न नखाने हाम्रो स्वाभिमानी संस्कृति राहतमुखी आसे संस्कृतिमा स्खलित भएको छ । आफ्ना जग्गा बाँझै राखेर कसैले देला र खाउँला भनेर भिखारी परम्परामा हामी रमाउँन थालेका छौं । दिने र खाने नेपाली स्वभाव लिनेखानेमा रूपान्तरण भएको छ । संकटोन्मुख नेपाली सम्पदा अनन्त छन् । गाउँमा खुलेका सहकारीहरूले नेपाली सामाजिक सहकार्य संस्कृतिको लिक समात्न सकेका छैनन् । घर बनाउँदा एउटा पोथ्रो रूख सहयोग दिने, बाँसको थान हुनेले एक दुईथान बाँस छानेर लैजाऊ भन्ने हाम्रो समृद्ध परम्परा हो ।
घडेरी खार्दा, तला छाप्ने दिन घरलौरी श्रमदान गरिदिने, निदाल बोक्दा खर जस्तापाता ल्याउँदा बल दिने संस्कृति लोपोन्मुख हुँदै गएको छ । सबै मिलेर पानीघट्टको चक्का बोकेर लैजाने, मराउ परेका घरको खेतीपाती उकासी दिने, मराउ घरमा घाँसपराल लगिदिने सहयोगको संस्कृति अहिले लोपोन्मुख हुँदै गएको छ । बाटो खन्ने, बाँध कुलो बनाउने, विद्यालय भवन स्वास्थ्यचौकी बनाउनेलगायत विकास निर्माणका कार्यमा सामूहिक श्रमदान गर्ने चलन हटेर अहिले सरकारी बजेट ताक्ने चलन आएको छ । समाजसेवाको भाव क्षीण भएको र प्रचारमुखी देखावटी सेवा भएको छ ।
राजनीतिलाई समाजसेवा गर्ने महत्वपूर्ण औजारका रूपमा लिइन्थ्यो । जनताको समस्यामा पस्किएको भात छाडेर पनि जानुपर्छ, एकै मुहूर्तमात्रै ढिला भयो भने कसैको प्राण जानसक्छ भन्ने सेवा परम्परा अहिले स्खलित भएको छ । घरको चुलोमा आगो निभ्नु हुँदैन भनेर अगुल्टो गाडेर राख्ने हाम्रो गोरख संस्कृति लोपोन्मुख भएको छ । संसारी देवीको पूजा गर्ने पानी छ्यापाछ्याप गरेर पानी माग्ने चलन लोप भइसकेको छ । कात्तिक महिनामा अमलाको बोटमुनि गएर वनभोज खाने चलन पनि समाप्त भइसकेको छ ।
साउने संक्रान्तिमा लुतो फाल्ने, दशैँतिहारमा सामूहिक रूपमा पिङ बाटेर पिङ हाल्ने, शिवरात्रिमा धुनी बाल्नेर अक्षय तृतीयामा सातु सर्वत बाँड्ने परम्परा बचेको भए पनि संख्यात्मक रूपमा निकै घटेर गएको छ । हामीले आफूलाई आधुनिक, विकसित र समृद्ध नेपालीका रूपमा हेर्दै गर्दा हाम्रो महत्वपूर्ण सम्पदा भने हराएर गइरहेको छ । सबै सम्पत्ति सकेर हामी कस्तो खालको धनी हुन गइरहेका छौं ?
हाम्रा अमूर्त सम्पदा बचाउँन एकपटक सबैले हामी र हाम्रो समाजलाई नियाल्नु परेको छ । भावी पुस्ताका लागि त्यस्ता सम्पदा बचाउँन हामीले केही न केही गर्नैपर्छ । त्यसो गर्ने भनेको आधुनिकताको नाममा आफ्ना पर्वपरम्परा मान्न छाड्ने होइन । आफ्ना मान्यताको जगेर्ना गर्नुपरेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts