काठमाडौं । पूर्वमन्त्री उमेश श्रेष्ठले स्वदेशमै खाद्यान्न उत्पादन गरी आयात प्रतिस्थापनमा जोड दिनुभएको छ । जसका लागि सक्दो सहयोग र सहकार्यका लागि आफू तयार रहेको उहाँले बताउनुभएको छ । पोषिलो आहारका लागि दिगो कृषि उत्पादन, हाम्रो अभियान भन्ने नाराका साथ स्थापना भएको राष्ट्रिय खाद्य बैंक लिमिटेडको शनिबार राजधानीमा आयोजित दोस्रो साधारणसभामा पूर्वमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो । खाद्य बैंकको संरक्षकसमेत रहनुभएका श्रेष्ठले कृषि क्षेत्रको प्रवद्र्धनमा लागेका खाद्य बैंकलाई देशव्यापी बनाई उत्पादन र बजारीकरणमा जोड दिइने उहाँले बताउनुभयो । नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले आफू भर्खर खाद्य बैंकमा जोडिएको जानकारी गराउँदै खाद्य बैंकको पवित्र लक्ष्य र उद्देश्य प्राप्तिका लागि सबै जोडिनुपर्ने बताउनुभयो । प्राडा मोहनप्रसाद पन्थीले कृषि प्रधान मुलुक नेपालमा कृषिजन्य वस्तु आयातको तथ्यांक प्रस्तुत गर्दै आयातको विद्यमान अवस्थाले निरन्तरता पाएमा खाद्य संकटका साथै देश खाद्य सम्प्रभुत्ताविहीन हुनसक्ने बताउनुभयो ।
खाद्य बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले खाद्य बैंकले सातवटै प्रदेशलाई कार्यक्षेत्र बनाउने लक्ष्यका साथ काम गर्दै आएको जानकारी गराउँदै कोरोना महामारीबीच पनि बैंकले दुई वर्षमा ३० लाख मुनाफा गर्न सफल भएको बताउनुभयो । सेयरधनीको लगानी सुरक्षितरूपमा कृषि क्षेत्रमा लगानी गरी बढीभन्दा बढी प्रतिफल दिन बैंक प्रतिबद्ध रहेको उहाँको भनाइ छ । वार्षिकोत्सवका अवसरमा खाद्य बैंकले आफ्ना उत्पादन प्रदर्शनी र बिक्रीसमेत गरेको थियो । अध्यक्ष उप्रेतीका अनुसार हाल खाद्य बैंकले बर्दिया, झापा, मोरङ, सुनसरी, कास्की, लमजुङ, सिन्धुपाल्चोक, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुली, उदयपुर, बारा, पर्सा र हुम्लालगायत ३२ जिल्लामा किसानसँग मिलेर कृषि उत्पादनका पाइलट प्रोजेक्ट सञ्चालन गर्दै आएको छ । आफ्नै च्यानलमार्फत् उत्पादन, भण्डारण, प्रशोधन, प्याकेजिङ तथा बिक्रीवितरणलगायतका कार्य गर्दै आएको छ । हालसम्म आठ सय ८१ जना सेयर सदस्य रहेको बैंकले दुई अर्ब चुक्ता पुँजी पु¥याउने लक्ष्य लिएको छ भने हाल प्रत्यक्ष तथा अप्रत्यक्ष गरी करिब एक लाखलाई रोजगारी प्रदान गर्दै आएको छ ।
बैंकले बागमती, प्रदेश १, गण्डकी र लुम्बिनी गरी चारवटा प्रदेशमा कार्यालय विस्तार गरिसकेको छ भने बाँकी प्रदेशमा पनि विस्तार गर्दै जाने जनाएको छ । हालसम्म ३० करोड रुपैयाँ लगानी गरिसकेको बैंकले अन्नबालीतर्फ धान, मकै, कोदो, गहुँ, फापर, चिनो, कागुनो तथा दलहन, तेलहन, बेसारलगायत उत्पादन गर्दै आएको छ । आगामी दिनमा तरकारी, फलफूल, माछा मासु, चिया, कफी, जडीबुटीलगायत पनि उत्पादन गर्ने लक्ष्य रहेको बैंकले जनाएको छ । आगामी वर्षहरूमा सर्वसाधारणका लागि सेयरसमेत जारी गर्ने तयारी रहेको बैंकले खासगरी रैथाने बालीको प्रवद्र्धनमा जोड दिँदै आएको जनाएको छ । बैंकको सञ्चालक समितिमा कार्यकारी अध्यक्ष उप्रेतीका साथै ईश्वर लुईंटेल, किरणराज रेग्मी, मल्लिका भण्डारी, रूपक आचार्य, अमृतबहादुर कार्की र जगन्नाथ उप्रेती रहनुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा