‘वित्तीय पहुँच अनुसारको उपलब्धि हासिल हुन सकेन’

Read Time = 7 mins

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण हुने भन्दै बैंक तथा वित्तीय संस्थाले सरकारसँगको समन्वयमा प्रभावकारी योजना बनाई कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । आइतबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन)को तेस्रो वार्षिक साधारणसभा उद्घाटन गर्दै उहाँले अर्थतन्त्र निर्माणमा राष्ट्रिय पुँजी परिचालनमा बंैक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण र पुँजी परिचालनको उद्देश्य उपयुक्त भए पनि आर्थिक विकास र रोजगारी वृद्धिमा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको बताउनुभयो ।

आन्तरिक उत्पादन वृद्धि गर्न उत्पादनशीलता बढाउन सके आयातमा आधारित उपभोग प्रणाली नियन्त्रण हुन सक्ने र आयातमा आधारित राजस्व प्रणालीमा सुधार ल्याउन सकिने भन्दै उहाँले उक्त कार्यमा बैंक तथा वित्तीय संस्थाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र पुँजी परिचालन आजको आवश्यकता हो, अर्थतन्त्रमा देखिएको तरलता संकुचन, बाहृय क्षेत्रमा देखिएको दबाब, उत्पादन क्षेत्रमा लगानी विस्तार र उत्पादकत्व वृद्धि हुन नसक्दा उचित प्रतिफल हासिल नहुँदा नै अर्थतन्त्रको चुनौती थपिएको छ । बैंक तथा वित्तीय संस्थाले नाफासँगै संस्थागत सामाजिक उत्तरदायित्वमा पनि ध्यान दिनुपर्छ । अर्थतन्त्र स्वावलम्बी एवं आत्मनिर्भर अर्थतन्त्रको निर्माण, राष्ट्रको पुँजी निर्माण, परिचालन, उद्यमशीलता विकासमा अझै धेरै काम गर्नुपर्ने खाँचो छ ।’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले संसारभरि नै मन्दीको वातावरण सिर्जना भएको भन्दै सन् २०२१ को तुलनामा सन् २०२२ मा विश्व अर्थतन्त्र संकुचित भएको र यस वर्ष थप संकुचित हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विश्व मन्दीको बाछिटा नेपालमा पनि परेको छ । निर्माण व्यवसाय शिथिल छ, त्यस क्षेत्रको शिथिलताले अरू विषयमा छुँदै गएको छ ।’

ADVERTISEMENT

यस वर्ष मुलुकलाई थप आर्थिक संकटतर्फ धकेलिनबाट जोगाउन सबै क्षेत्रले समन्वय गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । गभर्नर अधिकारीले भन्नुभयो, ‘निरन्तर मूल्यवृद्धि उच्च हुँदै गएको, बाहृय क्षेत्रको चाप निरन्तर बढ्दैछ । सबै निकायले सहकार्य र समन्वय गरेर यो किसिमको चुनौती परास्त गर्नुपर्नेछ ।’

पूर्व-अर्थमन्त्री तथा पूर्व-गभर्नर डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाले कर्जाको आकारभन्दा गुणस्तर बढाउनुपर्ने बताउनुभयो । बैंकहरूले कर्जाको आकार बढाउँदा जोखिम आउन सक्ने भन्दै उहाँले बैंक तथा वित्तीय संस्थाले कर्जाको आकारभन्दा गुणस्तर बढाउन आवश्यक रहेको बताउनुभएको हो । बैंकको पुँजीकरण वृद्धिको लाभ विद्युतीय क्षेत्रले लिए पनि कृषि क्षेत्रले लिन नसकेको पनि उहाँले बताउनुभयो । पूर्व-अर्थमन्त्री खतिवडाले भन्नुभयो, ‘देशको वित्तीय प्रणालीले ठूलो फड्को मारेको छ । बैंकमा राखेको निक्षेप डुब्दैन भन्ने विश्वास बढेको छ । बैंकिङ पुँजी बजारलगायत सम्पूर्ण वित्तीय क्षेत्रमा सूचना प्रविधिको प्रयोग हृवात्तै बढेको छ । लेजर खाता पल्टाएर भुक्तानी तथा कारोबार फछ्र्याैट गर्ने केन्द्रीय बैंक इन्टरनेटमा कारोबार गर्ने भएको छ । एक दशकअघिबाट नेपाल राष्ट्र बैंकले प्रविधिमा आधारित भएर कारोबार गर्न नसकेको भए महाभूकम्पका कारण भौतिक संरचना ध्वस्त भएको अवस्थामा तत्काल सरकारी कारोबार र बैंकिङ सेवा सुचारु हुन सम्भव थिएन, पुँजी बजारमा प्रविधिको विकास र संरचनात्मक सुधारको कार्य नगरिएको भए ५५ लाख डिम्याट पुग्ने थिएनन् ।’ सिबिफिनले अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै खतिवडालाई सम्मान गरेको छ ।

सो अवसरमा सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले निक्षेपकर्ता तथा लगानीकर्ताको हकहितको संरक्षण गर्ने, गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराई राष्ट्रिय अर्थतन्त्र सबल एवं सुदृढ बनाउन योगदान दिने, बैंकिङ क्षेत्रमा देखापरेका समस्या पहिचान गरी समाधानका उपाय अवलम्बन गर्न सरकार, राष्ट्र बैंकलगायतका निकायलाई सल्लाह सुझाव दिने उद्देश्यका साथ सिबिफिन स्थापना भएको जानकारी गराउनुभयो । स्थापनाको छोटो समयमा आफ्नो उद्देश्यअनुसार पूर्व-अर्थमन्त्री, अर्थशास्त्री, निजी क्षेत्र, बैंकिङ विज्ञ, दातृ निकायका प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलगायत अन्य सरोकारवालासँग अन्तरक्रियात्मक कार्यक्रम गर्ने, अध्ययन–अनुसन्धान गर्ने र उक्त अध्ययन–अनुसन्धानबाट प्राप्त सुझाव सरकार, राष्ट्र बैंकलगायतका निकायमा पेश गर्ने कार्य गर्दै आएको उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज