कांग्रेसलाई ओलीको कटाक्ष : राजनीतिमा पनि फउल खेले रेड कार्ड पाएर आउट हुन्छ

‘मन्त्रिपरिषद् विस्तार हुन अझै केही दिन लाग्छ’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि ‘फउल’ गरे ‘रेड कार्ड’ नै दिएर आउट गर्नुपर्ने बताउनुभएको छ । अध्यक्ष ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि फउल खेल्न नहुने बताउनुभयो । मदन भण्डारी स्पोर्टस एकेडेमीको स्थापना दिवसमा अध्यक्ष ओलीले फउल खेल्यो भने खेलकुदमा जस्तै राजनीतिमा पनि आउट हुने जोखिम हुने जिकिर गर्नुभयो । पाँच दलीय गठबन्धन भत्काएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएको प्रसंगलाई संकेत गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘दैनिक जीवनमा व्यावहारिक जीवनमा, लेनदेन कारोबारमा केहीमा पनि फउल खेल्न हुँदैन, राजनीतिमा पनि फल खेल्नु हुुँदैन । फउल खेल्यो भने एल्लो कार्ड, कहिले कहिले त रेड कार्ड नै पाउँछ ।’

राम्रो खेलाडीले कहिल्यै फउल नखेल्ने जिकिर गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘राम्रो खेलाडीले गोल गर्छ, पोस्टमा हान्छ । नराम्रो खेलाडीले अरूको खुट्टामा हान्छ । खुट्टामा हान्ने सफल हुँदैन, पोस्टमा हन्ने सफल हुन्छ ।’ समाजको कुनै पनि क्षेत्र अनुशासनमा चलेन भने सफल नहुने ओलीको भनाइ थियो । अध्यक्ष ओलीले प्रतिकूल परिस्थितिलाई अनुकूल बनाएर अघि बढेका कारण पेले विश्वका सर्वाधिक लोकप्रिय फुटबल खेलाडी भएको उल्लेख गर्दै त्यसबाट सिकेर नेपाली खेलाडीहरूले पनि आफूलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभएको थियो ।

ADVERTISEMENT

ओलीले खेल क्षेत्रलाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले खेल क्षेत्रलाई प्राथमिकता दिनुपर्छ, खेल क्षेत्रलाई सरकारले विशेष रूपमा हेर्नुपर्छ, अहिले खेलकुदमन्त्री हुनुहुन्न, म खेलकुदमन्त्री बनेपछि यस विषयमा कुरा गर्नेछु ।’ खेलले अनुशासन सिकाउने उल्लेख गर्दै अनुशासनले मानिसलाई सफल बन्न मद्दत गर्ने उहाँले बताउनुभयो । ‘खेलकुद, खेल शिक्षाको क्षेत्रमा अभ्यास, खेल र व्यायाम सबै कुरालाई सँगसँगै मिलाएर लैजानुपर्छ, मदन भण्डारी स्पोर्टस एकेडेमीको धेरै राम्रो गरेर जानेछ’, अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यसले आफ्नो स्वास्थ्य, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म राम्रो मित्रता कायम गर्न सकिन्छ ।‘ कूटनीतिमा पनि खेल क्षेत्र राम्रो माध्यम बन्न सक्ने उल्लेख गर्दै ओलीले भन्नुभयो, ‘घनिष्ट मित्रता नभएको देशमा पनि खेलका माध्यमबाट मित्रता जोड्न सकिन्छ, खेल र अनुशासन एकअर्काको अभिन्न अंग हो ।’

यस्तै, अध्यक्ष ओलीले मन्त्रिपरिषद् विस्तारको काम अझै १०/१५ दिन लाग्न सक्ने संकेत गर्नुभयो । उहाँले खेलकुदमन्त्री हाल नभएको प्रसंग उल्लेख गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिने काममा अझै दुई हप्ता लाग्न सक्ने बताउनुभएको हो । कार्यक्रममा ओलीले केहीबेर टेबल टेनिस खेल्नुभएको थियो भने खेलाडीहरूले विभिन्न कलाकौशल प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *