निजी क्षेत्रले भोगेको समस्याप्रति सरकार संवदेनशील छ : उपप्रधानमन्त्री पौडेल

Read Time = 4 mins

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर गएको अवस्था नभएकाले सही मार्गमा ल्याउन विभिन्न प्रयास र प्रयत्न थाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलसँग भएको आजको भेटमा उहाँले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको निजी क्षेत्रले भोगेको समस्याप्रति सरकार संवदेनशील रहेको बताउनुभयो ।

निजी क्षेत्रका मागप्रति सरकार कति गम्भीर छ भन्ने कुरालाई निजी क्षेत्रको छाता सङ्गठनसँगको भेटलाई दिएको प्राथमिकताले पनि स्पष्ट पार्ने उहाँले बताउनुुभयो ।

“वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले अर्थतन्त्रलाई सुधार गर्न विभिन्न उपाय अपनाउने निर्णय गरेको छ”, उहाँले भन्नुभयो, “यो समस्या सम्बोधन गर्न सबैको साझा प्रयास हुनुपर्छ ।”

उहाँले निजी क्षेत्रलाई उच्च मनोबल बनाएर काम गर्न आग्रह गर्दै सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “निजी क्षेत्रको मनोबल ढल्यो भने अर्थतन्त्र पनि ढल्छ, तपाईंहरूको मनोबललाई उच्च बनाएर काम गर्नुहोस्”, मन्त्री पौडेलले भन्नुभयो, “म तपाईंहरूको प्रतिनिधिका रुपमा समस्या समाधानका लागि काम गर्ने छु ।”

ADVERTISEMENT

भेटमा महासङ्घका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिङ्गो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्ने बताउनुभयो ।

अर्थतन्त्रलाई चलायमान गर्न तत्काल विशेष कदम चाल्न सुझाव दिँदै उहाँले ब्याजदरलाई घटाएर स्थायित्व दिनुपर्ने, तरलताको समस्या समाधान गर्नुपर्ने, लगानी घट्दै गएको अवस्थामा सुधार ल्याउन आग्रह गर्नुभयो । अर्थतन्त्रलाई सही मार्गमा ल्याउन राज्यका विभिन्न निकायको ध्यानाकर्षण गराएको भए पनि सुनुवाइ नभएको उहाँको भनाइ छ ।

मुलुकको अर्थतन्त्र अहिलेसम्मकै अप्ठ्यारो अवस्थामा पुगेको जिकिर गर्दै उहाँले तत्काल अर्थतन्त्र सुधारको दिशामा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो । “तपाईं आएपछि दुई दिनमै पूँजी बजारले सकारात्मक सङ्केत गरेको छ । समग्रमा अर्थतन्त्र अप्ठ्यारोमा छ, निजी क्षेत्र समस्यमा छ, चालू खर्च राजस्वले मात्रै धान्न सक्ने अवस्थामा छैन”, अध्यक्ष गोल्छाले भन्नुभयो ।

अर्थतन्त्रमा बहुुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षामार्फत् पनि समस्या सम्बोधन हुन नसकेको र विशेषगरी समग्र बंैकिङ समस्याका कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाले त्यसको अन्त्य गर्न आग्रह गर्नुभयो ।

भेटमा निजी क्षेत्रका प्रतिनिधिले सिमेन्ट, छड र फलामको बिक्री ह्वात्तै घटेको, दैनिक उपभोग्य वस्तुको खपत पनि घटेको, विद्युतीय उपकरणको बिक्रीमा सङ्कुचनका साथै पूँजीबजारमा समग्रमा ३८ प्रतिशतले गिरावट आएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज