विगत र अबको बाटो

Read Time = 13 mins

✍️ डा. नारायणप्रसाद निरौला

संसारमा जुन तरिकाले विकासका नयाँ आयाम आए नेपालको विकासमा प्राप्त हुन सकेनन् । अनेकौँ अस्थिरताको गर्तमा नै नेपाल रहनुपर्ने बाध्यताले निरन्तर गाँजि नै रहृयो । स्रोत र साधनको कमीभन्दा पनि असल विचार र राजनीतिक स्थिरताको कमीले नै विकासमा फड्को मार्न नसकेको देखिन्छ । हुन त स्वतन्त्रताका निम्ति अनेकौं लडाइँ लड्नुपरेको इतिहास पनि हाम्रा सामु छँदैछ । समयचक्र निरन्तर चलिरहन्छ । हिजो जे जस्तो भयो त्यसको आलोचना गर्नेभन्दा पनि अब कस्तो हुनुपर्छ भन्ने सोच राख्नु र निरन्तर प्रगतिको पथमा लम्किनु उपयुक्त रहन्छ । किनकि ‘गते शोको न कर्तव्यो भविष्यं नैव चिन्तयेत् ।
वर्तमानेन कालेनप्रवर्तन्ते विचक्षणाः ।।’ (चाणक्य)
अर्थात् विगतको कुरालाई कोट्याएर र भविष्यको चिन्ता लिएर पनि वर्तमानलाई बिगार्नु हुँदैन । अबको समय भनेको वर्तमानको हो । चुनावी परिणमसँगै अबको बाटो परिवर्तनको पक्षमा अघि बढ्ने हुनुपर्दछ । आजको युगले परिवर्तनको माग गरेको छ । परिवर्तनको पक्षमा नै जनमत अभिव्यक्त भएको देखिन्छ । यसैले अबको नेतृत्व र कार्यशैलीमा परिवर्तन हुनु आवश्यक छ । शिक्षा, स्वास्थ्यलगायत हरेक क्षेत्रमा नैतिक चेत अब आवश्यक देखिन्छ । विकासको मूलआधार शिक्षा हो । शिक्षालाई उपेक्षा गर्नाले पुस्तौंपुस्तासम्म उन्नति हुन सक्दैन ।

सर्वांगीण विकासका लागि सर्वप्रथम शिक्षा क्षेत्रमा आमूल परिवर्तन आवश्यक देखिन्छ । यसमा पनि नैतिक चेतनायुक्त शिक्षाको जग अब बसाउन सक्नुपर्दछ । नीतिचेतनासहिताको शिक्षा अबको पुस्तालाई आवश्यक छ । अध्यात्मदेखि भौतिकसम्मका समग्र पक्षको ज्ञानले मात्र अबको पुस्ता नैतिकवान् अझ भनौँ असल नागरिक बन्न सक्दछन् ।

हिजोका नीति आज सबै अनुपयुक्त भएका होइनन् । त्यसको सही व्याख्या र प्रयोग गर्ने व्यक्तिको मात्र अभाव भएको हो । जीवन र जगत्को अनुभवजन्य ऋषि प्रणीत नैतिक शिक्षालाई आज पुनः प्रयोगमा ल्याउनु आवश्यक छ, जसले हाम्रो उन्नतिको आधारशिला खडा गर्नसक्छ ।

नैतिकता भनेको सभ्यताको चिनारी हो । सत्य तीतो नै हुन्छ । जसरी ब्रेकले गाडीको सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छ त्यसैगरी नैतिकताले मान्छेलाई सव्य र भव्यको मार्गमा सन्तुलित बनाउने काम गर्दछ । नीतिज्ञान जीवन जगत्लाई सुन्दर बनाउने सूत्र हो । ऋषिमुनिका हजारौं वर्षको खोज अनुसन्धानबाट प्राप्त ज्ञान र विवेकलाई आजको युगले सजिलै स्वीकार्न नसक्दा नै आज विकासले गति लिन नसकेको हो । युग परिवर्तित छ, परिवर्तको सकारात्मक पक्षलाई सबैले स्वीकार्नु पर्छ ।

हिजोका नीति आज सबै अनुपयुक्त भएका होइनन् । त्यसको सही व्याख्या र प्रयोग गर्ने व्यक्तिको मात्र अभाव भएको हो । सुन कहिल्यै पुरानो हुँदैन । मैलिनु भिन्नै कुरा हो । सुन सुन नै हो आगोमा तताएर परीक्षण गर्न सकिन्छ । जीवन र जगत्को अनुभवजन्य ऋषि प्रणीत नैतिक शिक्षालाई आज पुनः प्रयोगमा ल्याउनु आवश्यक छ, जसले हाम्रो उन्नतिको आधारशिला खडा गर्नसक्छ ।

इतिहासले भविष्यको रेखा कोर्न मद्दत गर्छ । पूर्वजका इतिहास नै वर्तमान र भविष्यका द्योतक हुन् । संहिता, ब्राहृमण, उपनिषद्, आरण्यक, रामायण, महाभारत, पुराण आदिग्रन्थ इतिहासले दिएका उत्तम पाठ हुन् । यिनै महŒवपूर्ण ग्रन्थहरूबाट मथेर निकालिएको निष्कर्ष वास्तवमा नैतिक दृष्टान्त हो । जीवनलाई सही ढंगमा अगाडि बढाएर इहलोकको आनन्दपूर्वक भुक्ति र परलोकको मुक्ति प्राप्त गर्न नै यस्ता विषयवस्तु आवश्यक हुन्छन् । वास्तवमा नैतिक उपदेश जीवनको मार्गदर्शन हो । आज हामी यस्तो अमूल्य वस्तुबाट विमुख हुनु भनेको नै भोलिको सुन्दर भविष्य बिगार्नु हो । त्यसैले सुन्दर समाजरूपी राष्ट्र र विश्व बनाउन सबैमा नैतिक चेतना हुनु आवश्यक छ ।

स्वास्थ्यको क्षेत्रमा पनि पौरस्त्य र आधुनिक दुवै ज्ञानलाई सम्मिश्रण गरी निदानात्मक उपचार पद्धति अबको स्वास्थ्यमा रहन सक्नुपर्दछ । नैतिकमूल्य र मान्यतायुक्त निदानात्मक स्वास्थ्योपचार पद्धतिका निम्ति पौरस्त्व वाङ्मयका चरक सुश्रुतसहितको आधुनिक उपचार पद्धतिको विकास आज आवश्यक देखिन्छ । कुनै प्रतिहानिरहित स्वास्थ्य उपचारका नवीनतम् उपलब्धिलाई आत्मसात गर्न सकियो भने यो आजका निम्ति अनुकरणीय उदाहरणीय रहनसक्छ ।

ADVERTISEMENT

अबको जीवन दर्शन ‘सत्यं वद’ (सत्य बोल), ‘धर्मं चर’ (धर्म मान), ‘मातृदेवो भव’ (माता देवता समान हुन्छन्), ‘पितृदेवो भव’ (पिता देवता समान हुन्छन्), ‘अतिथि देवो भव’ (अतिथि देवतासमान हुन्छन्) ‘गुरु देवो भव’ (गुरु देवता समान हुन्छन्), ‘स्वाध्ययन् माप्रमद’ (आफ्नो अध्ययनलाई कहिल्यै नछोड) यस्ता वैदिक सूत्रमा आधारित हुनुपर्दछ । संसारका सर्वद्रष्टा मातापिता नै आजका अपहेलित पात्र बन्नपुगेका छन्, अतिथि आज अर्घेला भइरहेका छन् भने सच्चा गुरु गौण हुन थालिसकेका छन् । यसैगरी स्वाध्ययनबाट पनि आज हामी विमुख हुँदैछौँ । यस्ता अमृतरूपी वाणीबाट विकर्षित हुनु नै अवनतिको मार्गमा लाग्नु हो ।

यसैले अबको जीवनदर्शनको मार्ग गीता उपनिषद्को निर्देशनमा चल्नसक्ने हुनुपर्दछ । जसले असल व्यक्तिको निर्माण हुन्छ । असल व्यक्तिको समूह नै असल राष्ट्र हो । यहाँ गीता उपनिषद्लाई धर्मका ग्रन्थका रूपमा भन्दा पनि ज्ञानका मार्गदर्शका रूपमा बुझ्नु उपयुक्त हुन्छ । विश्वब्रहृमाण्डमा शान्तिको कामना वेदले गरेको पाइन्छ । सबैमा मित्रताको भावजागृत गराउँदै विश्बन्धुत्वको शंखघोष वैदिक सूक्तिमा पाउन सकिन्छ ।

राजनीतिका उत्कृष्ट नमुना वेदमा व्यक्त छन् । अर्थनीतिको परिचालन र प्रयोगको शिक्षा वैदिक संहितामा यत्रतत्र छरिएका छन् । धर्म, साहित्य, इतिहास भूगोलका भव्यतम अभिव्यक्तिहरू वेदमा व्याप्त छन् । चाहे कौटिल्यको अर्थशास्त्र होस् चाहे माघ, कालिदास, भारविका साहित्य । अनि व्यासको इतिहास होस् चाहे पाणिनीको व्याकरण सबै आज पनि अब्बल दर्जामा छन् । यसैले अबको जीवनदर्शनमा यी कुरालाई पनि समानान्तर अभ्यास र प्रयोगमा ल्याउन सक्नु पर्दछ ।

कृषिमा हाइब्रिडभन्दा पनि वास्तविक (लोकल) उत्पादनको आज आवश्यकता छ । वर्णसंकर बनाएर गरिएको उत्पादन क्षणिक हुन्छ । निरन्तर पुस्तान्तरण हुन सक्दैन । यसैले अबको कृषिनीति लोकल उत्पानमा केन्द्रित हुनुपर्दछ । केमिकलरहित शुद्ध वस्तुको आहार नै स्वस्थ व्यक्तिका निम्ति उपयुक्त हुन्छ । दीर्घकालीन योजनमा यस्ता कुरालाई आत्मसाथ गर्नुपर्दछ । स्वस्थ जीवनका निम्ति स्वस्थ आहारको परिकल्पना अनुरूप अघि बढ्न सक्नुपर्दछ ।

हाम्रा संस्कृति र सम्पदालाई मौलिक रूपमा संरक्षण र संवर्धन गर्ने अबको नीति हुनुपर्दछ । सचेत सभ्य र भव्य समाजको सिर्जना गर्न आजका युवामा उपनिषद्, हितोपदेश, पञ्चतन्त्र, विदुर नीति, तर्कशास्त्रका साथै आधुनिक विषवस्तुको पनि ज्ञान हुनु जरूरी छ ।

स्वकीय पहिचानसहितको समुन्नत राष्ट्रनिर्माणको संकल्प अब आवश्यक छ । ‘स्वधर्मे निधनं श्रेय’ (गीता) त्यत्तिकै भनिएको होइन । स्वधर्म भनेको स्वसंस्कृतिको संरक्षण हो । हाम्रा संस्कृति र सम्पदालाई मौलिक रूपमा संरक्षण र संवर्धन गर्ने अबको नीति हुनुपर्दछ । सचेत सभ्य र भव्य समाजको सिर्जना गर्न आजका युवामा उपनिषद्, हितोपदेश, पञ्चतन्त्र, विदुर नीति, तर्कशास्त्रका साथै आधुनिक विषवस्तुको पनि ज्ञान हुनु जरूरी छ । हामी सभ्यता र संस्कृतिमा धनी छौँ ।

हाम्रा आफ्नै मूल्य र मान्यता छन् । सबैको कल्याण चाहने, सबैलाई बन्धुसमान व्यवहार गर्ने, आफूजस्तै अरूलाई पनि देख्न सक्ने चेतनाको दियो बोकेका हामी स्वयं बत्तीमुनिको अँध्यारो बन्नु हुँदैन । हाम्रा संस्कृति र सभ्यताको खोज गर्नु, आफ्नै पन र प्रकृतिलाई आजको परिवेशमा हुर्काउनु पर्दछ । किनकि पौरस्त्य वाङ्मय संस्कृति र सभ्यतामा धनी छ । केवल यसको उचित संरक्षण र संवर्धनको आज आवश्यकता छ ।

समयको गतिसँग चल्नसक्ने व्यक्ति र राष्ट्र नै सफलताको शिखरमा पुगेका छन् । निर्गुणीलाई निषेध गरेर होइन त्यसभित्रको गुण पक्षको खोजी गरेर र उपयोग गरेरमात्र अबको विकास सम्भव छ । आजको युग विज्ञान र प्रविधिसँग चलिरहेको छ । यसलाई पनि हामी नकार्न सक्दैनौँ । संसारमा अयोग्य कोही पनि छैन । केवल योजकको मात्र कमी हो । हरेकका भिन्नाभिन्नै क्षमता हुन्छन् । जसको जे जति प्रतिभा र क्षमता छ त्यसको अधिकतम सदुपयोग अब आवश्यक रहन्छ । अबको राजनीतिक नेतृत्वले यी कुरालाई नीतिगत रूपमा व्यवस्थित गरी कार्यान्वयनमा ल्याउन सक्नुपर्दछ । तबमात्र समुन्नत नेपालको परिकल्पना साकार हुनसक्ने देखिन्छ । (डा.निरौला हिमालय टाइम्सको स्तम्भ लेखक हुनुहुन्छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *