✍️ प्रा.डा. अर्जुनदेव भट्ट
पछिल्लो आधा शताब्दीको दौरानमा विश्व प्रशस्तै बदलिएको छ । परिवर्तनलाई सृष्टिको नियमै मानिन्छ । समय र परिस्थितिले कसैलाई पनि एउटै अवस्थामा रहन दिँदैन । नेपालको स्वास्थ्य सेवाले पनि यसबीचमा ठूलो उतारचढावको महसुस गर्नु आश्चर्यको कुरा रहेन । सन् १९७४ मा मैले सरकारी जागिरे भएर जलेश्वर अञ्चल अस्पतालमा शल्य चिकित्सकका रूपमा कार्य प्रारम्भ गरेँ । सोभियत संघ गएर चिकित्सा विज्ञानको अध्ययन गर्नुअगाडि नेपालको स्वास्थ्य सेवामा मेरो सम्झनामा सन्त्रास र विभत्सतामात्र छ । बैतडीमा नातेदार वृद्ध व्यक्तिको पिसाब फेर्न नसकेर आँगनमै लडिबुडी गर्दै देहान्त भएको दृश्य सम्झँदा अझै त्रास तथा भयले जिउ थर्काउँछ ।
अर्को दृश्य बैतडीमा नाता पर्ने अधबँैसे महिलाको रक्तश्राव भएर विभत्स अवस्थामा छोराछोरीको अगाडि जीवनचक्रले विश्राम गरेको सम्झँदा पनि मुटु कोक्याउँछ । डोटीमा आफ्नै पिठ्युँको भाइ टाइफाइडले आन्द्रा प्वाल परेर पेरिटोनाइटिसको कारण उठ्न-बस्न नसकी भुइँमै चिसो खोज्दै आघातको युद्धमा पराजय भोगेको घटनाले मलाई विचलित पार्छ । यी दृश्य थिए विसं २००८ देखि २०११ तिरका ।
२०१३ देखि २०१४ तिर काठमाडौं आएपछि पनि खासै सम्झनलायक स्वास्थ्य सेवाको दृश्य देख्ने मौका मैले पाइनँ । गर्मी र वर्षाको याममा हैजा, टाइफाइड र आउँ तथा रगतमासीको प्रकोपले घर-घर आतंक मच्चाएको देखिन्थ्यो । हात्तीपाइले रोगका बिरामी आफ्ना खुट्टा देखाउँदै खेतमा काम गरिरहेको अतीतको दृश्य भयानक छ । जताततै अभाव र रोगव्याधिले हैकम चलाएको अनुभूति हुन्थ्यो । ठेउलाबाट पीडित भएकाहरूको प्रमाण थुप्रै अनुहारमा पढ्न सकिन्थ्यो ।
तराईबाट आउनेहरू मलेरिया-औलोको कामज्वरोले पीडित भई लामो समय धामीजस्तै कापेको देख्न सकिन्थ्यो । राता पाकेका आँखा लिएर हिँड्नेहरू प्रशस्तै स्कुलमा देखिन्थे । बच्चाहरूका मात्र होइन ठूला मानिसका समेत कपालमा जुम्रा हुन्थे । आइमाईहरू घाममा बसेर एकले अर्काको टाउकोमा जुम्राको शिकार गर्दै नङको बीचमा जुम्राको बन्दुक पड्काउँथे । घर-घरका सुकुलमा उडुस र उपियाँले बास पाउँथे । यो नै त्यो बेलाको बहुसंख्यक नेपाली घर-समाजको सरसफाइको टड्कारो दृश्य थियो ।
सडकमा हिँड्दाहिँड्दै कहिलेकाहीँ दिसाको वर्षाबाट टाउको जोगाउँदै भाग्नुपथ्र्यो । बागबजारमा स्कुल जाँदा लहरै साना बच्चाहरूलाई दिसा बस्न लगाइएको हुन्थ्यो र आमाहरूले प्रायः कुकुरलाई चे चे भन्दै स्वागत बुकिङ गरिरहन्थे । हर्षित कुकुरहरू पुच्छर हल्लाउँदै एक ठाउँबाट अर्को ठाउँ जान नभ्याएको दृश्य देखिन्थ्यो । यस्तो थियो मेरो देशको राजधानीको मुटुको दृश्यको अतीत ।
हामी काठमाडौं बैतडीबाट एक हप्ता लगाएर नेपाल जाने भनेर हर्षविभोर भएर लखतरान अवस्थामा उत्रेका थियौँ । हाइजिन वा सरसफाइ जे भने पनि त्यो नै थियो । हप्तामा एकचोटी मान्छेले नुहाउन पाए आफूलाई गौरव गर्ने ठाउँ थियो । सानोतिनो रोगलाई व्यथा सम्झेर उपचार गर्ने भन्ने प्रश्न उठ्दैन थियो । थिएँ म वीर अस्पतालको विद्यार्थी । पेट दुखेको बेला हामी झुण्ड बाँधेर वीर अस्पताल जाँदा कम्पाउन्डरले रातो झोल ‘कोर्भानेटिभ मिक्चर’ भनेर अलिकता झ्यालबाहिरै मुख खोल्न लगाएर खुवाइदिन्थ्यो । त्यो गुलियो झोल हामी सबैका लागि सञ्जीवनी बुटी समान थियो ।
कति मानिस टाइफाइडपछि कान नसुन्ने बहिरामा परिणत हुन्थे । शल्य चिकित्साको नाउँमा सामान्य अप्रेसनपछि पनि घाउ पाकेर ज्यान बाँचेकोमा खुसी हुँदै सबै दुःखपीडा सहेर जिउनुपथ्र्यो । अप्रेसनको नाउँ सुन्दा नै मानिसहरू डरत्रासले धामीझाँक्रीको शरणमा पुग्थे ।
त्यसपछि हामी पूर्ण निको भएको अनुभूति गर्न बाध्य हुन्थ्यौँ । होइन भने फेरि अस्पताल गए तितो अर्कै रंगको नाउँ नै नपाएको झोलले हाम्रो स्वागत गथ्र्यो । जुकाको औषधि ‘सेन्टोनिन’ भन्ने पाउडर थियो । त्यो खाएपछि एक हप्ता मासु खान हुन्न भन्ने ‘स्टे अडर’ जारी हुन्थ्यो । तर, त्यो जमाना थियो हप्तामा ल्याइने सालको पातमा बेरेर ल्याएको हल्दीले सिंगारिएको छाला भएको एक पाउ मासुका झोलमा प्रायः धेरैले रमाउनुपथ्र्यो । कुपोषण भनेर भन्ने चलन थिएन । धेरै मानिसहरू उस्तै मरन्च्यासे शरीर लिएर सक्रिय भई जिउन बाध्य थिए । टाइफाइड हुनेहरू रोगले भन्दा पनि पोषणकै कमीले तीन हप्तामै हड्डी र छालामा परिवर्तन हुन्थे चिन्नै नसकिने गरेर ।
कति मानिस टाइफाइडपछि कान नसुन्ने बहिरामा परिणत हुन्थे । शल्य चिकित्साको नाउँमा सामान्य अप्रेसनपछि पनि घाउ पाकेर ज्यान बाँचेकोमा खुशी हुँदै सबै दुःखपीडा सहेर जिउनुपथ्र्यो । अप्रेसनको नाउँ सुन्दा नै मानिसहरू डरत्रासले कसरी त्यो उपचार विधिबाट पर हुन सकिन्छ भनेर बरु धामीझाँक्री, गुवाजुको शरणमा पुग्थे । फोक्सोको टिबीले जताततै खोक्ने र रगत कफमा थुक्नेको कमी थिएन ।
समय बित्दै गयो सबै कुरामा आफूसँगै फरक ल्याउँदै । नदेखिने गरेरै किन नहोस् स्वास्थ्य सेवा र आमजनताको आनीबानी, खानपीन सोचाइमा फरक आएरै छाड्यो । सरकारले नेपालमै चिकित्सा सेवाको विकासलाई नयाँ गति दिन चिकित्सा विज्ञानको एमबिबिएसस्तरको पढाइ सुरु गर्यो । देशले उत्पादन गर्ने चिकित्सक र विभिन्न देशबाट अध्ययन गरेर फर्केका डाक्टरहरूको संख्या बढ्दै गयो । देशका ठूला शहरमा डाक्टरहरूको संख्या वृद्धि भयो । नयाँ अस्पताल खुले, पुरानाको स्तरोन्नति भयो । स्वास्थ्य सेवाले एउटा ठूलो फड्को मार्यो ।
मैले जलेश्वर-जनकपुरमा २०३१-२०३४ सालसम्म शल्य चिकित्सक भएर काम गर्दा रक्त परीक्षण गर्ने व्यवस्था थिएन । एनेस्थेटिस्ट डाक्टर थिएन । टाउकोदेखि खुट्टासम्म जे गर्न सक्छ एउटैले गर्नुपथ्र्यो । तर, अहिले आएर देशका प्रायः सबै ठूला शहरमा चिकित्सकहरूको संख्यामा ठूलो वृद्धि भइसकेको छ । प्रायः सबैजसो शल्यक्रिया देशमै सम्भव छन् । यसले गर्दा विदेशमा उपचारका क्रममा बाहिरिने ठूलो रकम जुन अहिले निकै जोगिएको हुनुपर्छ ।
सरकारीस्तरमा टिबी, मलेरिया, पोलियो, लेप्रोसीजस्ता सरूवा रोगको न्यूनीकरण गर्न विश्व स्वास्थ्य संघसँग सहकार्य भएको छ । थुप्रै योजनाले राम्रो सफलता हासिल गरेका छन् । लामो समयको विदेशी सहयोग र नेपाली जनशक्तिको प्रशिक्षणपछि थुप्रै रोगव्याधिको नियन्त्रणमा पहिलेभन्दा ठूलो अन्तर आएको छ । पोलियो रोगको उन्मूलन नै घोषणा भइसक्यो नेपालमा । मलेरिया, लेप्रोसीजस्ता रोगको कमी भए पनि पूर्णरूपको उन्मूलन भने निकट भविष्यमा अझै सम्भव देखिएको छैन ।
लेप्रोसी, मलेरिया, टिबीजस्ता रोगको उच्चस्तरको प्रकोप छिमेकी भारतमा भएकाले र नेपालको जीवनस्तर साचेजस्तो उन्नत हुन नसकेकाले पनि यी रोग अझै तुरुन्तै उन्मूलन हुने सम्भावना छैन । अभावग्रस्त जीवन बाँच्न बाध्य नेपालीको आर्थिकस्थितिमा ठूलो सुधार नहुञ्जेल यी रोग रहिरहनेछन् । यति हुँदाहुँदै पनि संक्रमण रोगभन्दा अरू रोगको उपचारस्तरमा निकै सुधार भएको छ । तर, दुर्भाग्य नै भन्नुपर्छ, उच्च रक्तचाप, मधुमेह, विभिन्न अर्बुद रोग, पित्तथैलीको पत्थरी, मिर्गाैला तथा मूत्र प्रणालीको पत्थरी, सडक दुर्घटनाका कारण हुने शारीरिक चोटपटक, मिर्गाैला विफल, कलेजोको समस्या, प्रोस्टेट संलग्न मूत्र अवरोधजस्ता व्याधिहरू अनियन्त्रितरूपमा बढिरहेका छन् ।
हुनेखाने वर्गहरू मुटु, मधुमेह र क्यान्सरजस्ता रोगबाट पीडित छन् । अभावग्रस्त नागरिकहरू टिभी, मलेरिया, लेप्रोसी, फाइलेरिया, झाडापखाला, कुपोषणकै समस्याले घेरिएका छन् । अझ त्योभन्दा पनि दयनीय जीवन भोगिरहेकाको स्तर यस्तो छ कि उनीहरू केबाट पीडित छन् त्यसको लेखाजोखा केही छैन । तिनीहरू कुन रोगबाट ग्रसित छन् र कहिले आफ्नो जीवन चक्रबाट मुक्त हुन्छन् कसलाई छ चासो ? चुनावका बेलामा तिनीहरूको भोट प्यारो हुन्छ नत्र ती बाँच्नु र नहुनुको फरक न सरकारलाई हुन्छ न त राजनीतिज्ञहरूलाई नै । तर पनि चिकित्सकको नाताले र सूक्ष्म अनुभवले भन्नैपर्छ धूमपान, रक्सीको जथाभावी प्रयोगबाट गरिबीमा डुबेका र सम्पन्न मानिसहरू पनि क्यान्सर, कलेजोको रोग, पेट तथा आन्द्राको रोग आर्जन गर्न तँछाडमछाड गर्दै छन् ।
एकातर्फ पोषणयुक्त खानाको अभाव, त्यसमा थप रासायनिक प्रदूषणयुक्त खाद्यपदार्थको अनियन्त्रित बजार र वायु प्रदूषणले स्वास्थ्य समस्या विकराल बन्दैछ । केही व्यक्तिका लागि धुवाँमा खाना पकाउनुपर्ने र प्रदूषित हावाले फोक्सो फुलाउनुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर धूमपानको तल-तल मेट्नैपर्ने चाहनाको सम्मिश्रणले देशका थुप्रै नागरिक फोक्सोको रोगबाट पीडित भएका छन् ।
कोरोना भाइरस (कोभिड-१९) भाइरसको महामारीमा फोक्सो निशानामा पर्यो । निमोनिया उच्च अवस्थामा पुर्याएर कति मानिसले विश्वमा ज्यान गुमाए । नेपाल पनि यसबाट अछुतो रहने कुरै भएन । विश्वको अर्थतन्त्र तहसनहस अवस्थामा पुग्यो । कतिले रोजगार गुमाए, कति संस्था टाट पल्टिए । यो महामारी अहिले केही शान्त अवस्थामा देखिए पनि असर अझै कति वर्ष नेपाल र विश्व हल्लाउनेछ भन्ने त्रास छँदैछ ।
त्यस्तै शरीरका जोर्नी र मांसपेशी शिथिल तथा असहृय पीडा पारिरहेको डेंगी जाडोको अगाडि टिक्न नसक्दा भर्खर भूमिगत भएको छ । डेंगीले रक्त सञ्चारको गुण बिगार्ने र रक्तस्रावलाई प्रोत्साहन गर्ने विकृति पैदा गर्छ । यसले विभिन्न भित्री अंगको कार्यक्षमता ह्रास गर्ने र शरीरलाई जीर्ण बनाएर ज्यान लिन सक्छ ।
स्वास्थ्य समस्या ५०-६० वर्षअगाडिको दाँजोमा अहिले बढी कि घटी ? यो प्रश्न आफैंमा सोचनीय छ । नाजुक, अभावग्रस्त, अशिक्षित, निमुखा र अन्धविश्वासले भरिएका नागरिकहरू स्वास्थ्यका विषयमा खासै सुसूचित हुँदैनन् । जब खान-लाउन पुग्छ, शिक्षाले परिवार-समाजमा बास पाउँछ, बोल्ने र बाँच्ने अधिकारप्रति मानिस सजग हुन्छ तब मानिसले स्वास्थ्यलाई पनि जीवनमा स्थान दिन्छ ।
६० वर्षपहिलेका तुलनामा अहिले मानिसहरू स्वास्थ्यप्रति बढी सजग र चेतनशील भइसकेकामा शंका छैन । यसको ज्वलन्त उदाहरण क्यान्सरको शल्यक्रिया, रासायनिक तथा विकिरण उपचार गरेर जति बढी बाँच्न सकिन्छ त्यसलाई फोसाको जीवन नामाकरण गर्दै रमाउने संख्या दिनप्रतिदिन वृद्धि हुनुलाई लिन सकिन्छ । किन नबाँच्ने जीवन ? के यो फेरि-फेरि दोहोरिने खेल हो ? के स्वर्गको झुटो, उधारो कल्पनामा पृथ्वीको जीवन साट्न सकिन्छ ? यो स्वास्थ्य सेवाको दीर्घयात्रामा जिजिविषा नभएको एउटा व्यक्ति पनि भेट्ने दुर्भाग्य कम्तीमा मैले भोग्नुपरेको छैन ।
स्वास्थ्यकर्मी मृत्युजस्तो विभत्स तर प्राकृतिक प्रक्रियाको अपेक्षा-पूर्वानुमानलाई झुक्याएर आए सहजै बहन गर्दैनन् । कवि, लेखकहरू त्यस्तो अवस्थामा विद्युत्मय कल्पना प्रवाहित गर्न पुगे उत्तम रचना खण्डकाव्य-काव्य सिर्जना गर्न सक्छन् । माधव घिमिरेले ‘गौरी’ खण्डकाव्य जन्माए शोक भावनाको पराकाष्ठालाई प्रभावित गर्दै । ‘आमा मावल गइन्’ भनी झुक्याएर मातृ विछोडको सुनसानमा डुबेका असहाय सन्तानलाई केही सान्त्वना प्रदान गर्न भ्याए ।
त्यसबापत ‘गौरी’ का पाठकले कवि घिमिरेलाई आफ्नो हृदयमा सम्मानित स्थान दिए । भोटमा आफ्नो पसिना र हिम्मतसँग सुन साँट्न गएको मदन घरमा मुनाको यौवन र आमाको मृत्युअघि भेट्ने रहर पूरा नगर्दै उतै बिलाए । महाकवि देवकोटाले यो वियोगान्त घटनालाई नेपाली जनजिब्रोमा भिजेको लोकलयमा समातेर उत्कृष्ट काव्यको सिर्जना गरे । उनले त्यस कृतिलाई जीवनको अन्तिम घडीसम्म पनि निकै रूचाए । नेपालमा सबैभन्दा बढी बिक्ने उत्तम कृतिमात्र होइन शब्द-शब्द जनताको मुटु सिँगार्ने पुस्तक बन्यो ‘मुनामदन’ ।
स्वास्थ्य क्षेत्रमा पनि पीडामा छट्पटिँदै मृत्युमा परिणत भएको चाङ देख्दा कसरी त्यसको संख्या घटाउने भन्ने चिन्ताले पिरोल्छ तर यथार्थ भने भिन्न छ । जबसम्म देश विकासले चौतर्फी गति लिँदैन र पूर्वाधार निर्माणले सफलता प्राप्त गर्दैन तबसम्म स्वास्थ्यले वास्तविक छलाङ मार्न सक्दैन । हो, ६० वर्षअगाडिको दाँजोमा स्वास्थ्य क्षेत्र गर्वलाग्दो भइसक्यो । विसं १९४० मा वीर अस्पतालको सुरूवात भयो एलोप्याथी औषधि उपचारको जगका रूपमा ।
पछि त्यस्ता सरकारी अस्पताल डोटी, जलेश्वर, धनकुटा, पाल्पालगायत विभिन्न ठाउँमा खुल्दै गए । यो क्रमलाई इन्स्टिच्युट अफ मेडिसिन शिक्षण अस्पताल वीर अस्पतालकै शøयाबाट सुरू हुँदै सन् १९७२-१९७८ देखि अहिलेसम्म देशकै गौरवपूर्ण स्वास्थ्य संस्थाका रूपमा निरन्तर अगाडि बढ्दैछ । अहिले देशमा पनि विशेषज्ञ चिकित्सकहरूको उत्पादन हुने गर्दछ । देशमा २० वटा अण्डर ग्य्राजुएट र २१ वटा पोस्ट ग्य्राजुएट चिकित्साशास्त्र अध्ययन संस्थान छन् ।
नेपाली चिकित्सकहरू ब्रिटेन, अमेरिका, अष्ट्रेलिया, क्यानडालगायत विदेशका विभिन्न प्रतिष्ठित संस्थामा स्वास्थ्य सेवा प्रदान गर्ने गर्दछन् यतिबेला । तर, विडम्बना देशको अभावग्रस्त आर्थिक अवस्थाका कारणले उच्चस्तरमा पुग्न भ्याएको स्वास्थ्य सेवाको पहुँचमा भुइँमान्छेको त कुरै छाडौँ मझौलास्तरका सुसंस्कृत व्यक्तिले पनि क्षमता राख्दैनन् ।
नेपालको स्वास्थ्य सेवा यही देशभित्रको एउटा ऐना हो । व्यापारीकरण, इमानदारिताको कमी, अनुशासनको खुकुलोपन, बिचौलियाको हालीमुहालीका कारण राजनीतिदेखि प्रशासन, व्यापार, शिक्षा र अरू क्षेत्र पनि बेथितिको क्यान्सरले ग्रसित छ । राजनीतिजस्तो सबैभन्दा माथिल्लो र अग्रणी क्षेत्र नै दूषित भएको अवस्थामा अन्य क्षेत्रचाहिँ स्वच्छ होलान् भन्ने आशा राख्नुचाहिँ अग्निमा पानी खोज्नु जस्तै फजुल छ । कुन शल्यक्रियाले राजनीतिक क्षेत्रमा फैलिएको क्यान्सरको मूल भाग छेदन गर्ने, कुन लेजरले त्यो डढाएर नदोहोरिने पार्ने त्यसबारे सम्पूर्ण नागरिकले सोच्न ढिला गर्नुहुन्न । रासायनिक औषधि र विकिरण कहाँ प्रयोग गर्ने त्यो निर्णयमा सबैको एकमत हुनुपर्छ ।
मानव जीवन एकपल्ट मात्र पाइने सर्वोत्तम प्राकृतिक उपहार हो । जीवनमा सुखी, खुशी, प्रसन्नता र स्वतन्त्रता अनुभूति गर्न निरोगी शरीर र स्वच्छ मानसिकता अनिर्वाय छैन र ? के सार्थक जीवन अस्वस्थ शरीर र मानसिकताले जिउन सकिन्छ ? यदि सकिँदैन भने स्वास्थ्य क्षेत्र सुधार्ने दायित्व हामी सबैको होइन र ? इतिहासले सिकाएको एउटा सत्य के हो भने जबसम्म देश समग्रमा विकसित हुँदैन, सुधिँ्रदैन, त्यतिबेला एउटा कुनै क्षेत्रमात्र उत्तम अवस्थामा हुन सक्दैन । हाल देशमा मृत्युको महत्वपूर्ण हिस्सामा उच्च रक्तचाप, धूमपान र मधुमेह संलग्न छन् । तर, हेपाटाइटिस, एचआइभी एड्स, संक्रमित पानी संलग्न रोग, वायु प्रदूषणसँग सम्बन्धित फोक्सोका व्याधि जस्ता विभिन्न रोगले धेरैको जीवनचक्र बीचमै टुंग्याउने गर्छन् ।
नेपाली चिकित्सकहरू ब्रिटेन, अमेरिका, अष्ट्रेलिया, क्यानडालगायत विदेशका विभिन्न प्रतिष्ठित संस्थामा स्वास्थ्य सेवा प्रदान गर्ने गर्दछन् यतिबेला । तर, विडम्बना देशको अभावग्रस्त आर्थिक अवस्थाको कारणले उच्चस्तरमा पुग्न भ्याएको स्वास्थ्य सेवाको पहुँचमा मझौलास्तरका सुसंस्कृत व्यक्तिले पनि क्षमता राख्दैनन् ।
मिर्गाैलाको कार्यमा आउने ह्रासले ठूलो जमात देशवासीले हेमोडायलाइसिसमा आफ्नो ज्यान झुण्डिएको अनुभूति गरेकै छन् । वर्षमा कम्तीमा ६ हजार व्यक्तिको मिर्गाैला प्रत्यारोपणको आवश्यकता पर्ने गरेको आँकडा प्रस्तुत भएका छन् । कहाँबाट त्यत्रो संख्यामा मिर्गाैला दान जुटाउने ? यो जल्दोबल्दो समस्याका रूपमा अगाडि आएको छ । जुन रूपमा मिर्गाैला प्रत्यारोपणले सफलता पाइरहेछ, हाम्रो देशमा त्यसको अनुपातमा मिर्गाैला फेल हुने अवस्थामा नपु¥याउने प्रयास एकदमै कम भएका छन् । मिर्गौला प्रत्यारोपण अझै बढी सफल र व्यापक तथा विस्तृत पार्न मृतकका अंग निकालेर प्रत्यारोपण गर्ने कार्यक्रमलाई बढी प्राथमिकतामा राख्न अनिवार्य हुनेछ ।
विश्वमा जस्तै नेपालमा पनि वृद्धहरूको संख्या बढ्दो छ । तर, के देशबाट थुप्रै युवायुवती विदेसिने लहरले ती वृद्ध बुबाआमा आफ्नो उत्तराद्र्धमा खुसी होलान् र ? वृद्ध अवस्थामा स्वास्थ्यमा बढी समस्या हुनु स्वाभाविकै हो । त्यसैले वृद्धहरूको मुहारमा न्यास्रोपन र स्वास्थ्य हेरचाहमा ह्रास भएको प्रायः देखिन्छ । यस्तै चिकित्सक तथा परिचारिकाहरूको ठूलो जमात रोजगार नपाएर विदेश पलायन हुने र निराश हुनुपर्ने अवस्था पूर्णरूपमा समाधान गर्न आवश्यक छ । चिकित्सक तथा परिचारिकाजस्ता महत्वपूर्ण प्रशिक्षित नागरिकहरूलाई काम दिन नसक्नुले तीन तहका सरकारहरूको नालायकी प्रष्ट हुन्छ ।
परिचारिका र चिकित्सकलाई छोटो वृद्ध अवस्थाको हेरचाहको प्रशिक्षण दिएर स्थानीय सरकारले देशभर वृद्ध स्वास्थ्यको व्यवस्थापन सुरू गर्नुपर्छ । घर-घरमा वृद्धहरूको स्वास्थ्य निरीक्षण तथा उपचारको कार्य पुर्याउनु वास्तवमै स्थानीय सरकार छ भन्ने महत्वपूर्ण कार्य हुनेछ । त्यस्तै शिशु स्याहार, स्कुलमा अनिवार्य नर्सको दरबन्दी राख्ने, आवश्यकताअनुरूप चिकित्सक बोलाउने र नारी स्वास्थ्यलाई स्थानीय सरकारले योजनाबद्ध तरिकाले वास्तवमै (देखावटी होइन) समाविष्ट गरे गणतन्त्र आएछ भन्ने अनुभूति हुनेछ ।
स्थानीय सरकारले वडाको प्रत्येक घरको शिक्षा, स्वास्थ्य, रोजगारी, बाटोघाटो, खानेपानीजस्ता समस्याबारे प्रष्ट जानकारी नराख्ने हो भने तीन तहको सरकारको जग कसरी बलियो हुनसक्छ ? जग कमजोर भए ढल्ने त माथिबाटै हो । छोटकरीमा भन्दा प्रत्येक नागरिकको स्वास्थ्यमा सरकारको चासो हुनुपर्छ । तर, स्वास्थ्यबिना देश विकास, आर्थिक उन्नति, शिक्षाको अनिवार्यता र रोजगारीको सुनिश्चितता मृगतृष्णामात्र मान्न सकिन्छ ।

युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका