सिन्धुली । सिन्धुली महोत्सव सिन्धुलीमाडीमा शुक्रबारबाट सुरु भएको छ । महोत्सवको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले उद्घाटन गर्नु भएको हो ।
महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री बडुले उद्योग र उद्यमशीलताको विकास गर्नु पर्नेमा जोड दिनुभयो । ‘अहिले ७५३ वटै स्थानीय तहमा औद्योगिक ग्रामहरुको स्थापना गर्ने सरकारको लक्ष्य छ । १०५ वटा घोषणा भई सकेका छन् । यो वर्ष ३० वटा ग्रामीण औद्योगिक ग्रामहरु स्थापना हुँदैछन्,’ उहाँले भन्नुभयो ।
मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सरकारको विशेष योजना रहेका उहाँले बताउनुभयो । उद्यम, व्यवसाय र उत्पादन मार्फत मुलुकलाई आत्मनिर्भर बनाई अर्थतन्त्र सुधार गर्नु पर्ने उहाँको भनाई थियो ।
आगलागी नियन्त्रणका लागि दमकल किन्ने उद्देश्यले आयोजित महोत्सवले समृद्ध र विकसित सिन्धुली बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले सुनकोसी मरिण डाइभर्सन निर्माणले मधेशको विकासमा ठूलो सहयोग पुग्ने बताउनुभयोे । आयोजानाले जमिनमा सिंचाई सुविधा पुगी खाद्यान्न उत्पादन बढ्ने उहाँले सुनाउनुभयो ।
सिन्धुली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का सांसद श्यामकुमार घिमिरेले उद्योग र व्यवसायको विकास भएमा मात्र देशको विकास हुने धारणा राख्नुभयो ।
प्रतिनिधिसमा निर्वाचन क्षेत्र नं. २ का सांसद लेखनाथ दाहालले सिन्धुली महोत्सवले सबैमा उत्साह भर्नु पर्ने चर्चा गर्दै महोत्सव उत्पादन रोजगारसँग जोडिनु पर्ने बताउनुभयो ।
सिन्धुली महोत्सव–२०७९ आयोजक मूल समारोह समितिका संयोजक तथा सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन श्रेष्ठले महोत्सवको मुख्य लक्ष्य आगलागिका घट्ना न्युनिकरण गर्न महोत्सव लगाएर शक्तिसाली दमकल खरिद गर्ने रहेको सुनाउनुभयो ।
पुस ८ गतेदेखि १८ गतेसम्म चल्ने छैठौँ सिन्धुली महोत्सवले जिल्लाको समग्र कृषि, आर्थिक, सामाजिक, साँस्कृतिक, पर्यटन, स्थानीय व्यापार, उद्योगको विकास, स्थानीय कृषि तथा मौलिक उत्पादन, स्थानिय परम्परागत सीप कला र संस्कृति तथा लोक संस्कृतिको संरक्षण र प्रर्वधन गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार महोत्सवमा कृषि, पशु, घरेलु उद्योग, लघु उद्यम, पर्यटन आदिसँग सम्बन्धित ३५० वटा स्टल प्रदर्शनीमा राखिएको छ । पाँच लाख दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको आँकलन छ ।






