‘१० वर्षभित्र सातवटै प्रदेशमा केबलकार’

Read Time = 3 mins

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी १० वर्षभित्र सातवटै प्रदेशमा केबलकार निर्माण गर्ने घोषणा गर्नुभएको छ । नेपाल युवा उद्यमी मञ्च रूपन्देहीद्वारा शनिबार आयोजित युवा उद्यमी सम्मेलन कार्यक्रममा उहाँले आगामी तीन महिनाभित्र बुटवलमा निर्माण भइरहेको लुम्बिनी केबलकार सञ्चालनमा आउने जानकारी गराउँदै आगामी १० वर्षभित्र सातवटै प्रदेशमा केबलकार निर्माणको घोषणा गर्नुभएको हो । बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुर डाँडासम्ममा निर्माणाधीन लुम्बिनी केबलकारको दुई महिनाभित्र भौतिक संरचना निर्माण सम्पन्न हुने उहाँले बताउनुभयो ।

बुटवलमा केबलकार निर्माणपछि भारतीय पर्यटकको चाप बढ्ने ढकालको भनाइ छ । उहाँले वसन्तपुर डाँडामा स्तरीय होटलसहित कामेश्वर महादेव भगवान्को मन्दिरसमेत निर्माण गरिने बताउनुभएको छ ।

ADVERTISEMENT

साथै वरिष्ठ उपाध्यक्ष ढकालले व्यावसायिक आइडिया भए लगानीको समस्या नहुने पनि दाबी गर्नुभएको छ । आइडिया र इमान्दारिता भएमा बैंक तथा वित्तीय संस्था र लगानीकर्ता लगानीका लागि तयार हुने उहाँको भनाइ छ । तथापि पछिल्लो समय मूल्यवृद्धि र बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावका कारण मुलुकको अर्थतन्त्रमा परेको समस्याले व्यवसाय र व्यवसायी मारमा परेको पनि उहाँले बताउनुभयो । हाल निजी क्षेत्रले उठाएका एजेण्डा निजी क्षेत्रको मात्र नभई समग्र अर्थतन्त्रको सुधारका लागि रहेको भन्दै ढकालले निजी क्षेत्रका एजेण्डा भन्दै बेवास्ता गर्दै जाने हो भने थप संकट आउने बताउनुभयो ।

मुख्यसचिव शंकरदास बैरागी, उद्योग-सचिव तोयनारायण ज्ञवाली, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीलगायतको सरकारी टोलीले शनिबार लुम्बिनी केबलकारको स्थलगत निरीक्षण गर्दै निर्माणसम्बन्धी जानकारी लिएको छ । सो अवसरमा मुख्यसचिव बैरागीले केबलकार परियोजनाले नेपालको पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै आयोजनालाई छिटो सञ्चालन गर्न आग्रहसमेत गर्नुभएको छ । ढकालले केबलकारको झण्डै ९० प्रतिशत काम सकिसकेको तर रिसोर्टलगायत अन्य पूर्वाधारको काममा भने केही समय लाग्ने जानकारी गराउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?